चन्द्रपुर ।
जिल्ला प्रशासन कार्यालय रौतहटका प्रमुख जिल्ला अधिकारी दिनेश सागर भुसालले सेवा प्रवाह सम्बन्धमा नागरिकसँग सार्वजनिक सुनुवाइ कार्यक्रम सञ्चालन गर्नुभएको छ। बिहीबार गुजरा नगरपालिकाको सभाकक्षमा आयोजित कार्यक्रममा प्रजिअ भुसालले नागरिकका जिज्ञासाको प्रत्यक्ष जवाफ दिनुभएको हो।
उहाँले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रको सेवा सहज रूपमा उपलब्ध गराइँदै आएको जानकारी दिनुभयो। साथै अब राहदानी सेवाग्राहीको घरसम्म हुलाकमार्फत पुर्याउने प्रक्रिया अघि बढाइएको समेत बताउनुभयो।
कार्यक्रममा नागरिकहरूले रासायनिक मल अभावबारे उठाएको चासोमा प्रजिअ भुसालले जिल्लामा मलको अभाव नरहेको स्पष्ट पार्नुभयो। साल्ट ट्रेडिङ कर्पोरेशन गौर र कृषि सामग्री संस्थान चन्द्रनिगाहपुरले पर्याप्त मल मौज्दात रहेको जानकारी गराएको उल्लेख गर्दै कृत्रिम अभाव सिर्जना गर्नेलाई कारबाही गरिने चेतावनी दिनुभयो।
उहाँले मल वितरणमा पारदर्शिता अपनाउन तथा नियमित अनुगमन गर्न स्थानीय तहका उपप्रमुखहरूलाई आग्रह गर्नुभएको थियो।
मिटरब्याजी समस्याको समाधान प्याकेजमार्फत भइरहेको जानकारी दिँदै प्रजिअ भुसालले वास्तविक सुकुम्बासीको व्यवस्थापनतर्फ सरकार गम्भीर रहेको बताउनुभयो। रौतहटमा सरकारी जमिनको अतिक्रमण हटाउने तयारी भइरहेको र त्यसका लागि स्थानीय तहसँग लागत संकलनको काम अघि बढिरहेको उहाँको भनाइ थियो।
प्राकृतिक विपद् व्यवस्थापनसँगै बाढी नियन्त्रणको पूर्वतयारीसमेत भइरहेको प्रजिअ भुसालले जानकारी दिनुभयो।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी उपरीक्षक सिताराम रिजाल ले समाजमा बालविवाह, बहुविवाह तथा भागी विवाह जटिल समस्याका रूपमा बढ्दै गएको बताउनुभयो। उहाँले जातीय विभेद, बोक्सी आरोप तथा साइबर अपराधका घटना अझै नियन्त्रणमा आउन नसकेको भन्दै समाजलाई सचेत बनाउन आवश्यक रहेको धारणा राख्नुभयो।
प्रहरी प्रमुख रिजालले मिटरब्याजी समस्या, चेक बाउन्सका घटना तथा सामाजिक सञ्जालको दुरुपयोगबारे समुदायस्तरमै जनचेतना आवश्यक रहेको उल्लेख गर्नुभयो।
सार्वजनिक सुनुवाइ कार्यक्रममा शन्तलाल चौधरी ले जनताको काम सहज र प्रभावकारी रूपमा हुनुपर्नेमा जोड दिनुभयो। उहाँले नगर क्षेत्रका विभिन्न समस्याबारे समेत धारणा राख्नुभएको थियो।
नगर प्रमुख चौधरीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रत्ना लामा, इलाका प्रशासन कार्यालय चन्द्रनिगाहपुर का उपसचिव माधव शर्मा, सशस्त्र प्रहरी उपरीक्षक रामहरी अधिकारी, राष्ट्रिय अनुसन्धानका प्रमुख कुमार बुढाथोकी, इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरीक्षक रुपा लाबुङ, नेपाल पत्रकार महासंघ रौतहट शाखा का अध्यक्ष संजय कार्की लगायत जनप्रतिनिधि तथा सरोकारवालाहरूको सहभागिता रहेको थियो।











प्रतिक्रिया