सूर्यज्योति लाइफको ‘इ–कर्जा–झ्याप्पै अभियान’ सार्वजनिक, बीमा धितोमा अनलाइनबाटै ऋण पाइने


काठमाडौं । सूर्यज्योति लाइफ इन्स्योरेन्सले बीमा धितोमा ऋण प्रवाहलाई पूर्ण रूपमा डिजिटल बनाउने उद्देश्यसहित‘इ–कर्जा–झ्याप्पै अभियान’ सार्वजनिक गरेको छ।

कम्पनीले नेपालमै पहिलो पटक पूर्ण रूपमा डिजिटल माध्यमबाट बीमा धितोमा ऋण उपलब्ध गराउने लक्ष्यका साथ अभियान सुरु गरेको जनाएको छ। यस अभियानमार्फत योग्य बीमितहरूले घरमै बसेर अनलाइन प्रक्रियाबाट ऋण प्राप्त गर्न सक्नेछन्।

कम्पनीका अनुसार अभियान अन्तर्गत ग्राहकहरूले अधिकतम २ लाख रुपैयाँसम्मको तत्काल ऋण प्राप्त गर्न सक्नेछन्। साथै, ऋण आवेदन गर्दा लाग्ने ५० रुपैयाँ सेवा शुल्कमा शतप्रतिशत क्यासब्याक सुविधा पनि उपलब्ध गराइएको छ।

यस सेवाको सम्पूर्ण प्रक्रिया डिजिटल भएकाले कुनै कागजी प्रक्रिया वा अतिरिक्त कागजात आवश्यक नपर्ने कम्पनीले जनाएको छ। योग्य बीमितहरूले आफ्नो ऋण योग्यता सूर्यज्योति मोबाइल एपमार्फत जाँच गर्न सक्नेछन्।

त्यसपछि ग्राहकहरूले खल्तीको लिंक वा एपभित्रको Insurance & Surakshya > Insurance Loan > SuryaJyoti eKarja विकल्पमार्फत आफ्नो बीमालेख नम्बर प्रविष्ट गरी प्रक्रिया पूरा गरेपछि तत्काल ऋण रकम प्राप्त गर्न सक्ने व्यवस्था गरिएको छ।

कम्पनीले ‘‘इ–कर्जा–झ्याप्पै अभियान’ नेपालमा डिजिटल बीमा ऋण सेवाको क्षेत्रमा महत्वपूर्ण उपलब्धि हुने विश्वास व्यक्त गरेको छ। यस अभियानले बीमितहरूलाई छिटो, सुरक्षित र सहज वित्तीय पहुँच प्रदान गर्नुका साथै डिजिटल नेपालको अवधारणालाई थप सुदृढ बनाउने अपेक्षा गरिएको कम्पनीको भनाइ छ।

सूर्यज्योति लाइफले आफ्ना आधिकारिक सामाजिक सञ्जाल तथा डिजिटल प्लेटफर्ममार्फत अभियानको प्रवर्द्धन गर्ने तथा यसबारेको जानकारी बढीभन्दा बढी सेवाग्राहीसम्म पुर्‍याउन सरोकारवालाहरूलाई सहयोग गर्न आग्रह गरेको छ।