सिटिजन लाइफद्वारा एएमएल/ सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न


काठमाडौं ।

सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सम्पत्ति शुद्धीकरण, आतंककारी क्रियाकलाप तथा आम विनाशकारी हातहतियार निर्माण वा विस्तारमा हुने वित्तीय लगानी निवारण एएमएल/ सीएफटी सम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न गरेको छ।

कम्पनीका आधारभूत शेयरधनी, सञ्चालक समिति तथा उच्च व्यवस्थापन तहका पदाधिकारीहरूको सहभागितामा काठमाडौंमा आयोजित कार्यक्रममा नेपाल बीमा प्राधिकरणका निर्देशक शाम्भराज लामिछाने र उपनिर्देशक पदम प्रसाद सोडारीले सहजीकरण गरेका थिए।

कार्यक्रममा वित्तीय अपराध नियन्त्रण, सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्ड, नियामकीय अपेक्षा तथा बीमा क्षेत्रको भूमिकाबारे प्रस्तुतीकरण गरिएको कम्पनीले जनाएको छ।

साथै, सञ्चालक समिति र उच्च व्यवस्थापनको भूमिका, एएमएल/ सीएफटी नीति तथा कार्यविधिको कार्यान्वयन, जोखिममा आधारित दृष्टिकोण, संस्थागत जोखिम मूल्याङ्कन, सुशासन, नियामकीय अनुपालन तथा प्रभावकारी निगरानी प्रणालीका विषयमा छलफल भएको थियो।

कार्यक्रममा सीमा पार वित्तीय कारोबारको निगरानी, पुनर्बीमा कोषको नियन्त्रण, Insurance Core Principle (ICP)-22 को पालना, लाभग्राही स्वामित्वसम्बन्धी पारदर्शिता, शंकास्पद कारोबार प्रतिवेदन प्रणालीको प्रभावकारी कार्यान्वयन तथा प्रतिष्ठागत जोखिम व्यवस्थापनका विषयहरूलाई समेत समेटिएको थियो।

उद्घाटन सत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले वित्तीय प्रणालीको पारदर्शिता, सुशासन र नियामकीय अनुपालनलाई संस्थागत संस्कृतिको अभिन्न अंगका रूपमा स्थापित गर्नुपर्ने आवश्यकता औंल्याएका थिए।

कार्यक्रमको समापनमा कम्पनीका अध्यक्ष प्रदीपजंग पाण्डेले सम्पत्ति शुद्धीकरण तथा आतंककारी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी राष्ट्रिय प्रतिबद्धता कार्यान्वयनमा बीमा क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए। उनले सिटिजन लाइफले नेपाल सरकार, नेपाल बीमा प्राधिकरण तथा सम्बन्धित नियामक निकायका कानुनी तथा नियामकीय व्यवस्थाको पूर्ण पालना गर्दै वित्तीय प्रणालीलाई थप पारदर्शी, उत्तरदायी र विश्वसनीय बनाउन योगदान जारी राख्ने प्रतिबद्धता व्यक्त गरे।

कम्पनीले भविष्यमा पनि नियामकीय अनुपालन, वित्तीय अपराध नियन्त्रण तथा जिम्मेवार संस्थागत अभ्यासलाई सुदृढ बनाउन यस्ता क्षमता अभिवृद्धि तथा अभिमुखीकरण कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।