असार १५ भित्र खेल संघ नवीकरण गर्न राखेपको चेतावनी


काठमाडौं । 

राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले खेल संघहरुलाई असार १५ गतेभित्र नवीकरण गर्न निर्देशन दिएको छ। राष्ट्रिय खेलकुद विकास ऐन, २०७७ र नियमावली, २०७९ अनुसार पटक–पटक सूचना जारी गर्दा पनि धेरै संघले नवीकरण नगरेपछि राखेपले अन्तिम समयसीमा तोकेको हो।

राखेपका अनुसार तोकिएको समयभित्र नवीकरण नगर्ने संघमाथि प्रचलित कानूनअनुसार खारेजी प्रक्रिया अघि बढाइनेछ। राखेपको वेबसाइटअनुसार दर्ता भएका ७५ खेल संघमध्ये ३३ संघले हालसम्म नवीकरण गरेका छैनन्।

चर्चित नेपाल क्रिकेट संघ (क्यान)ले समेत नवीकरण नगरेको बताइएको छ। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण विवरण तथा कम्तीमा एउटा राष्ट्रियस्तरको प्रतियोगिता सम्पन्न गरेको कागजात पेश गर्नुपर्ने व्यवस्था रहेको छ।

आवश्यक कागजात पूरा गर्न नसक्दा कतिपय खेल संघले नवीकरण प्रक्रिया अघि नबढाएको बताइएको छ।