असंसदीय अभिव्यक्तिप्रति सभामुखको कडाइ : रास्वपा सांसद पराजुलीका शब्द रेकर्डबाट हटाइयो


काठमाडौं ।

प्रतिनिधिसभामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का संसदीय दलका नेता गणेश पराजुली ले प्रयोग गरेका केही अभिव्यक्तिहरू संसद्को आधिकारिक अभिलेखबाट हटाइने भएका छन्। सभामुख डोलप्रसाद अर्याल ले बिहीबार बसेको प्रतिनिधिसभा बैठकमा वैशाख २९ गतेको बैठकमा सांसद पराजुलीले प्रयोग गरेका ‘भरौटे’ तथा ‘लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो’ भन्ने वाक्यांशहरू अमर्यादित र असंसदीय भएको ठहर गर्दै ती शब्दहरू संसद्को रेकर्डबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिएका हुन्।

बैठकमा सभामुख अर्यालले भने, “वैशाख २९ गतेको बैठकमा माननीय सदस्य गणेश पराजुलीले सम्बोधनका क्रममा प्रयोग गर्नुभएको ‘भरौटे’ र ‘लुगा लगाएर पनि नाङ्गै हिँडेजस्तो’ भन्ने शब्दहरू सभाको अभिलेखबाट हटाउन संसद् सचिवालयलाई निर्देशन दिन्छु।” विपक्षी दलको आपत्तिपछि निर्णय संसद् बैठकमा प्रयोग भएका ती अभिव्यक्तिप्रति विभिन्न दलका सांसदहरूले आपत्ति जनाएका थिए।

संसदीय मर्यादा विपरीत भाषा प्रयोग भएको भन्दै ती शब्दहरू रेकर्डबाट हटाउन माग गरिएको थियो। त्यसपछि सभामुखले संसदीय अभ्यास, मर्यादा र गरिमालाई ध्यानमा राख्दै यस्तो निर्णय गरेका हुन्। सभामुख अर्यालले सांसदहरूलाई संसद्‌मा बोल्दा संयमित भाषा प्रयोग गर्न आग्रह गर्दै संसदीय गरिमा सुहाउँदो अभिव्यक्तिमात्र प्रयोग गर्न सचेतसमेत गराएका छन्।

संसद्मा भाषा र मर्यादामाथि फेरि बहस पछिल्लो समय संसद् बैठकमा सांसदहरूबीच तीखा अभिव्यक्ति, आरोप–प्रत्यारोप र असंसदीय शब्द प्रयोगका घटना बढ्दै गएको सन्दर्भमा सभामुखको यो कदमलाई संसदीय अनुशासन कायम गर्ने प्रयासका रूपमा हेरिएको छ। राजनीतिक दलहरूबीचको तनाव संसद्‌भित्र भाषिक आक्रामकतामा रूपान्तरण हुन थालेपछि संसदीय मर्यादा र भाषाशैलीबारे पुनः बहस सुरु भएको छ।