उदयपुर ।
समाजका विभिन्न वर्ग तथा समुदायहरुबाट हुने महिला हिंसा घटाउनकालागि मंगलबार सरोकारबाला संस्थाहरुले उदयपुरका सक्रिय पत्रकारहरुसँग अन्तरिक्रिया कार्यक्रम गरिएको छ ।
किशोरी तथा महिलामाथि हुने हिंसा न्यूनीकरण, लैङ्गिक समानता तथा सामाजिक सचेतनाका विषयमा मिडियाको भूमिका थप प्रभावकारी बनाउन उदयपुरमा पत्रकारहरूसँग अन्तरक्रिया तथा छलफल कार्यक्रम आयोजना गरिएको हो ।
तरंङगिनी फाउन्डेसन, ओरेक उदयपुर र रौता समुदाय हित केन्द्रको संयुक्त आयोजनामा नेपाल पत्रकार महासंघ उदयपुर शाखाको सभाहलमा आयोजित कार्यक्रममा संस्थाहरूले हाल सञ्चालन गरिरहेका अभियान, महिला तथा किशोरीका सवाल, हिंसाको वर्तमान अवस्था र त्यसको न्यूनीकरणका लागि सञ्चारमाध्यमको जिम्मेवारीबारे विस्तृत जानकारी गराइएको थियो ।
सो अन्तरक्रिया कार्यक्रममा तरङ्गिनी फाउण्डेसनकी रुमा रिजाल, ओरेक नेपाल उदयपुरकी प्रमुख बाला कार्की र रौता समुदाय हित केन्द्रकी चण्डेश्वरी चौधरीले समाजमा हसने विविध प्रकारका महिला हिंसाका बारेमा आ आफ्नो स.स्थाले गरेको कामहरुका बारेमा जानकारी दिएका थिए ।
कार्यक्रममा बोल्ने वक्ताहरूले पछिल्लो समय समाजमा महिला तथा किशोरीमाथि हुने विभिन्न प्रकारका हिंसाका घटनाहरू अझै चुनौतीका रूपमा रहेको उल्लेख गर्दै त्यसको अन्त्यका लागि राज्य, समुदाय, सरोकारवाला निकाय र सञ्चारमाध्यमबीच सहकार्य आवश्यक रहेको बताएका थिए । उनीहरूले हिंसाका घटनालाई केवल समाचारका रूपमा मात्र नभई सामाजिक परिवर्तनको अभियानका रूपमा उठान गर्न सञ्चारकर्मीहरूको भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए ।
छलफलका क्रममा पत्रकारहरूले पनि महिला अधिकार, बालिका सुरक्षा, घरेलु हिंसा, बालविवाह, लैङ्गिक विभेद लगायतका विषयमा स्थानीय तहसम्म पुगेर तथ्यपरक र संवेदनशील समाचार सम्प्रेषण गर्नुपर्ने आवश्यकता औँल्याएका थिए । कार्यक्रममा सहभागीहरूले हिंसा न्यूनीकरणका लागि जनचेतना अभिवृद्धि गर्न मिडियाले निरन्तर सकारात्मक दबाब सिर्जना गर्नु पर्नेमा जोड दिएका थिए ।
नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेलको अध्यक्षतामा सम्पन्न कार्यक्रमको अवसरमा आयोजक संस्थाहरूले समुदायस्तरमा सञ्चालन भइरहेका महिला सशक्तीकरण, किशोरी अधिकार संरक्षण तथा हिंसा विरुद्धका विभिन्न अभियानबारे समेत जानकारी गराएका थिए ।
कार्यक्रममा उदयपुरका विभिन्न सञ्चारमाध्यममा आबद्ध पत्रकार, सामाजिक अभियन्ता, महिला अधिकारकर्मी तथा सरोकारवाला व्यक्तिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।











प्रतिक्रिया