त्रियुगा नपामा स्थानीय संचार नीति निर्माण गर्न ज्ञापनपत्र

658
Shares

उदयपुर ।

नेपाल पत्रकार महासंघ उदयपुर शाखाले त्रियुगा नगरपालिका लाई स्थानीय सूचना तथा सञ्चार नीति निर्माण गर्न आग्रह गर्दै ज्ञापनपत्र बुझाएको छ ।

महासंघ अध्यक्ष भक्तिबिलास पोखरेल को नेतृत्वमा गएको पत्रकारहरुको टोलीले सोमबार नगरपालिकामा पुगेर ज्ञापनपत्र हस्तान्तरण गरेको हो । ज्ञापनपत्र बुझाउने कार्यक्रममा महासंघका पूर्वअध्यक्ष स्याम राई, ईश्वर तामाङ, महेश्वर चाम्लिङसहित महासंघका पदाधिकारी तथा सदस्यहरुको सहभागिता थियो ।

सो अवसरमा महासंघ उपाध्यक्ष बिश्वराज तामाङ ले प्रस्तावित सूचना तथा सञ्चार नीतिका मुख्य विषयवस्तुबारे जानकारी गराएका थिए । कार्यक्रममा नगर प्रमुख बसन्तकुमार बस्नेत, उपप्रमुख महेश्वरी राई तथा प्रमुख प्रशासकीय अधिकृत कुमार प्रसाद कोइराला ले आवश्यक छलफलपछि नीति पारित गर्ने प्रतिबद्धता जनाएका छन् ।

उनीहरुले उपलब्ध स्रोत–साधनको अवस्थाअनुसार स्थानीय सञ्चार माध्यमलाई लोककल्याणकारी सूचना तथा विज्ञापन उपलब्ध गराउन नगरपालिका सकारात्मक रहेको बताएका छन् । छलफलका क्रममा नगर प्रमुख बस्नेतले नगरपालिकाले सञ्चालन गरेका सकारात्मक गतिविधिहरुलाई जनतामाझ प्रभावकारी रूपमा पु¥याउन स्थानीय सञ्चार माध्यमको भूमिका महत्वपूर्ण रहने बताए ।

उपप्रमुख राईले स्थानीय सञ्चार माध्यमले नगरपालिकाका कमी–कमजोरीप्रति खबरदारी गर्नु पनि आवश्यक रहेको उल्लेख गर्दै रचनात्मक र सकारात्मक पत्रकारिताको अपेक्षा गरिएको बताइन् ।

त्यसैगरी प्रमुख प्रशासकीय अधिकृत कोइरालाले समाचार सम्प्रेषण गर्दा एकपक्षीय नभई सम्बन्धित पक्षसँग तथ्य बुझेर मात्र समाचार प्रकाशन तथा प्रसारण गर्न आग्रह गरे ।

महासंघ अध्यक्ष पोखरेलले जिल्लाका सबै स्थानीय तहसँग समन्वय गरी स्थानीय सञ्चार नीति निर्माणका साथै स्थानीय सञ्चार माध्यम र पत्रकारहरुको क्षमता तथा वृत्ति विकासका लागि पहल सुरु गरिएको जानकारी दिए ।