भेडा–च्याङ्ग्राको मौसमी बसाइँ सराइ शुरू

470
Shares

मुगु । यतिखेर भेडा–च्याङ्ग्राले लेकका पाटन भरिन थालेका छन् । गर्मी बढेसँगै कर्णालीका हिमाली जिल्लामा भेडा–च्याङ्ग्राको मौसमी बसाइँ सराइ शुरु भएको छ । तापक्रम वृद्धिसँगै पशुपालक कृषकहरू आफ्ना भेडा–च्याङ्ग्रासहित उच्च हिमाली पाटनतर्फ उक्लिँदा पाटन क्षेत्रमा चहलपहल बढेको छ ।

छायानाथ रारा नगरपालिका–६, कोटिल्नाका कृषक बाँच्या ऐडी र रतन शाही यस वर्ष पनि आफ्ना भेडा–च्याङ्ग्रासहित ढुङ्गेथला पाटन पुगेका छन् । उनीहरूका अनुसार परम्परागत अभ्यासअनुसार गर्मी शुरु भएसँगै पशुहरूलाई उच्च क्षेत्रतर्फ लैजाने चलन रहेको छ ।

सोरुफ गाउँपालिकाका भेडापालक कालु जैसी तल्लो भेगमा अत्यधिक गर्मी र घाँसपातको कमीका कारण पशुहरू पाटनमा लैजानु आवश्यक हुने बताउँछन् । अर्का कृषक बाँच्या ऐडीका अनुसार पाटन क्षेत्रमा प्रशस्त हरियो घाँस र स्वच्छ पानी पाइने भएकाले पशुपालन सहज हुन्छ ।

स्थानीय कृषकहरू असारदेखि असोजसम्म पाटनमै बसोबास गर्दै पशु चराउने र मौसम चिसिएपछि पुनः तल्लो बस्ती फर्किने गर्छन् । यो परम्परागत मौसमी बसाइँ सराइ कर्णाली क्षेत्रको पुरानो पशुपालन संस्कृतिको रूपमा चिनिन्छ ।

मुगुका गोठ्यापाटा, गाईरिटाउना, कालामूल, ढुङ्गेथला, मालिकी, तुम्ली, थाच्चालगायतका उच्च पाटनहरूमा यस समयमा भेडा–च्याङ्ग्राको बाक्लो उपस्थिति देखिन्छ । तर पछिल्लो समय चरन क्षेत्र घट्दै जानु, वनसम्बन्धी नियम कडाइ र जलवायु परिवर्तनका असरले भेडापालन पेसा चुनौतीपूर्ण बन्दै गएको कृषकहरूको गुनासो छ । यद्यपि, पाटन क्षेत्रमा देखिने चहलपहलले स्थानीय परम्परा र जीवनशैलीलाई अझै जीवित राखेको छ । भेडापालनबाटै वर्षमा १ देखि ६ लाख रुपियाँसम्म आम्दानी गर्न सकिने अर्का कृषक हरिबहादुर भ्याल बताउँछन् ।

भेडापालनबाटै छोराछोरीलाई शहरमा पढाउन पठाएको कुरासमेत कृषकहरु बताउँछन् । खसीको मासुभन्दा भेडाको मासु स्वादमा राम्रो र स्वस्थकर मानिन्छ । त्यसैले पनि खसीभन्दा भेडाको खाल्वा र साँडलाई मासुको प्रयोगका लागि बढी मूल्यमा धेरै प्रयोग हुने गर्दछ । भेडालाई उपयुक्त आहार र हावापानी भएमा भेडा उत्पादन राम्रो हुन्छ । त्यसैले भेडा–च्याङ्ग्रा पालक कृषकहरु चैत–वैशाखमा भेडा–च्याङ्ग्रालाई लेकतिर उकाल्ने र हिउँद लागेपछि कार्तिक महिनामा तलतिर झार्ने गर्छन् ।