–‘सुमित्रा कस्मेटिक एन्ड फेन्सी’का नाममा ५० लाखको चेक
काठमाडौं ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस प्रकरणमा सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएकी एक महिलाविरुद्ध नै भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
आयोगले गोरखाको बारपाक सुलिकोट गाउँपालिका–७ स्थायी घर भई हाल काठमाडौंको चन्द्रागिरि नगरपालिका–५ बस्दै आएकी सुमित्रा कुमारी घिमिरे पुडासैनीविरुद्ध मंगलवार विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरेको हो ।
आयोगका अनुसार विशेष अदालतमा दर्ता भएको चन्द्रबहादुर अधिकारीसमेत प्रतिवादी रहेको घुस÷रिसवतसम्बन्धी भ्रष्टाचार मुद्दामा अनुसन्धानका क्रममा सहयोग गरेको भन्दै पुडासैनीलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ५५ बमोजिम सजायमा पूर्ण छुट दिई सरकारी साक्षीका रूपमा प्रस्तुत गरिएको थियो ।
तर, उहाँले विशेष अदालतमा यही वैशाख ९ गते दिएको बकपत्र आयोगसमक्ष अनुसन्धानका क्रममा दिएको बयान तथा आरोप मागदाबीविपरीत रहेको पाइएपछि आयोगले थप अनुसन्धान गरेको थियो ।
अनुसन्धानबाट चन्द्रबहादुर अधिकारीले लिएको घुस रकमको ५० लाख रुपियाँ बराबरको चेक ‘सुमित्रा कस्मेटिक एन्ड फेन्सी’का नाममा काटिएको र उक्त फर्मकी सञ्चालक पुडासैनीलाई उपलब्ध गराइएको खुलेको आयोगले जनाएको छ ।
आयोगका अनुसार चेक प्राप्त गरेपछि उहाँले रकम सटहीका लागि बैंकमा लगेको र चेक सटही नभएपछि उक्त चेक फिर्ता गरेको पाइएको छ । आयोगले यसलाई घुस÷रिसवत लिने कार्यमा सहयोग पु¥याएको कसुर मानेको छ ।
उक्त कार्यबाट उहाँले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ उपदफा (२) बमोजिमको कसुर गरेको पुष्टि भएको आयोगको निष्कर्ष छ ।
आयोगले उहाँविरुद्ध ५० लाख रुपियाँ बिगो कायम गर्दै सोही ऐनबमोजिम कैद र बिगोअनुसार जरिवानाको मागदाबी गर्दै आरोपपत्र दायर गरिएको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
घुस लिएको आरोपमा सशस्त्रका प्रहरी निरीक्षकविरुद्ध मुद्दा दायर
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस धनुषामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक वकिल अधिकारीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
कमला–ढल्केबर–वागमती सडक निर्माण खण्डमा माटो तथा ‘ग्राभेल फिलिङ’ कार्यमा प्रयोग हुने सवारीसाधन रोक्ने तथा ‘फिल्ड’मा माटो झार्न नदिई सेवाग्राहीसँग ४० हजार रुपियाँ घुस लिँदै गरेको अवस्थामा पक्राउ गरी मंगलवार आरोपपत्र दायर गरिएको हो ।
आयोगले आरोपी अधिकारीविरुद्ध बिगोबमोजिम कारबाही माग गर्दै मुद्दा दायर गरेको प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिनुभयो ।











प्रतिक्रिया