काभ्रे ।
राजधानीका विभिन्न स्थानबाट हटाइएका सुकुम्बासी परिवार यतिबेला बनेपाको अस्थायी शिविरमा कष्टपूर्ण जीवन बिताउन बाध्य छन् । बस्ने स्थायी ठेगानाको अभाव, पर्याप्त खाना नपाइने समस्या, स्वास्थ्य उपचारको अन्योल र सामाजिक अपमानका कारण उनीहरूको दैनिकी झन् पीडादायी बनेको छ ।
बनेपाको बुडोलस्थित नेपाल रेडक्रस सोसाइटीको तालिम केन्द्रमा अहिले एक नाबालक, एक अटिजम भएका बालकसहित २६ बालबालिका, एक दृष्टिविहीन व्यक्ति र १६ जना ज्येष्ठ नागरिकसहित १ सय १० जना विस्थापित बसिरहेका छन् ।
ती विस्थापितहरूका अनुसार अहिले उनीहरूले भोग्नुपरेको सबैभन्दा ठूलो समस्या स्वास्थ्य उपचारको छ । अचानक बिरामी पर्दा अस्पताल कसरी पुग्ने र खर्च कसले व्यहोर्ने भन्ने अन्योल छ । शनिवार साँझ मदिरा सेवन गरेर फर्किएका एक पुरुष लडेर घाइते भएपछि अस्पताल लैजानसमेत कठिन भएको शिविरमा बस्नेहरूले बताए । बिरामी बच्चालाई अस्पताल पु¥याए पनि उपचार गराउन नसकेको गुनासो सुकुम्बासीहरूले गरे ।
पटक–पटक स्थानान्तरण हुँदा बालबालिका, सुत्केरी महिला, अशक्त र ज्येष्ठ नागरिक सबैभन्दा बढी प्रभावित भएका छन् । नौ दिनकी सुत्केरी महिलालाई समेत तीन स्थानमा सारिएको छ । शल्यक्रियापछि घाउ निको नहुँदै दौडधुप गर्नुपरेको पीडा सुनाउँदै नौ दिनकी सुत्केरी अञ्जली महतोले नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘न आराम छ, न बच्चाको उचित स्याहार । पौष्टिक खानासमेत पाइएको छैन ।’
शिविरमा बस्ने महिलाहरूले आफूहरू असुरक्षित महसुस गर्न थालेको बताएका छन् । खाना खान जाँदा र फर्कंदा स्थानीयले भिडियो खिच्ने, गिज्याउने र हेला गर्ने गरेको उनीहरूको आरोप छ । ‘हुर्कंदै गरेका छोरीहरू छन् । कहिले के हुन्छ भन्ने डर लागिरहन्छ’– उषा महतोले आँखा रसाउँदै भन्नुभयो– ‘हामीलाई मान्छेभन्दा कम ठानिएको जस्तो लाग्छ ।’
सहरी विकास मन्त्रालयअन्तर्गतको अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिले रेडक्रसमार्फत १ सय ५४ जनाको व्यवस्थापन गर्न आग्रह गरेको थियो । तर, तालिम केन्द्रमा आवश्यक जनशक्ति, भान्सा र आधारभूत पूर्वाधार पर्याप्त छैन ।
सुरुका दुई दिन उग्रचण्डी होटलमा खाना खुवाइए पनि त्यसपछि शिविरबाट करिब १५ मिनेट टाढा रहेको सूर्यदर्शन पार्टी प्यालेसमा खाना खाने व्यवस्था गरिएको रेडक्रस तालिम केन्द्रका प्रमुख कपिल कार्कीले बताउनुभयो ।
उहाँका अनुसार अहिले दिनको दुईपटक मात्रै खाना उपलब्ध भइरहेको छ । ‘ठूला मान्छे भोकै बस्न सक्लान्, तर साना बालबालिकाको पेट कसरी भर्ने ?’– एक आमाले प्रश्न गरिन् । खाना खान लाइनमा बस्नुपर्दा अपमानित महसुस हुने गरेको उनीहरूको गुनासो छ ।
‘पाखुरा हुनेले काम गरेर खान चाहन्छ’– भविश्य महतोले भन्नुभयो – ‘तर, अहिले लाइनमा बसेर खाना खानुपरेको छ । त्योभन्दा ठूलो पीडा केही छैन ।’ काम गरेर परिवार चलाइरहेका धेरैको रोजगारी विस्थापनसँगै गुमेको छ । ‘हामी भीख मागेर होइन, श्रम गरेर बाँचिरहेका मानिस हौँ’– निशा सुनुवारले भनिन्–‘सरकारले हटाएपछि काम छुट्यो, बच्चाको पढाइ रोकियो । अब कहाँ जाने भन्ने अवस्था भयो ।’
विस्थापनको असर बालबालिकामा समेत गहिरो देखिएको छ । शिविर नजिकै विद्यालय भए पनि बालबालिका पढ्न जान पाएका छैनन् । दिनभर मोबाइलमा अल्झिन थालेका बालबालिका गलत बाटोतर्फ लाग्ने चिन्ताले अभिभावकहरू त्रसित छन् । ‘हामी फेरि स्कुल जान पाए हुन्थ्यो’– शिविरमा रहेकी सन्ध्या दाहालले भन्नुभयो ।
रेडक्रस तालिम केन्द्रका प्रमुख तथा वरिष्ठ सहायक कपिल कार्कीका अनुसार सिनामंगल, गैरीगाउँ, बंशीघाट, बालाजुलगायतका क्षेत्रबाट विस्थापित परिवारलाई वैशाख २४ गते राति बनेपा ल्याइएको हो । उहाँले बालबालिकाको शिक्षा र बिरामीको उपचार व्यवस्थापन गर्न सरकारसँग आग्रह गर्नुभयो ।











प्रतिक्रिया