इस्लामाबाद ।
पाकिस्तानको उत्तर–पश्चिमी खैबर पख्तुनख्वा प्रान्तस्थित बन्नु जिल्लामा रहेको प्रहरी चौकीमा भएको आत्मघाती कार बम आक्रमणमा कम्तीमा १२ जना प्रहरीको मृत्यु भएको छ भने पाँच जना घाइते भएका छन्।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार फतेह खेल क्षेत्रमा रहेको प्रहरी चेकपोस्टमा विस्फोटक पदार्थले भरिएको गाडी ठोक्काएर विस्फोट गराइएको थियो। त्यसपछि सशस्त्र समूहले चौकीमा गोलीबारीसमेत गरेका थिए।
आक्रमणपछि चौकीको भवन आंशिक रूपमा ध्वस्त भएको र केही प्रहरी भग्नावशेषमा पुरिएको बताइएको छ। घाइते सुरक्षाकर्मीलाई उपचारका लागि स्थानीय अस्पतालमा भर्ना गरिएको छ।
प्रहरी स्रोतका अनुसार आक्रमणकारीहरूले ड्रोनसमेत प्रयोग गरेका थिए। घटनापछि सुरक्षा बलले क्षेत्रमा व्यापक खोजी अभियान सुरु गरेको छ।
आक्रमणको जिम्मेवारी ‘इत्तेहाद–उल–मुजाहिदीन पाकिस्तान’ नामक उग्रवादी समूहले लिएको विभिन्न सञ्चारमाध्यमले जनाएका छन्। पाकिस्तानमा पछिल्ला महिनाहरूमा विशेषगरी अफगानिस्तान सीमावर्ती क्षेत्रमा सुरक्षाकर्मीमाथि आक्रमण बढ्दै गएको छ।











प्रतिक्रिया