महेश खड्का खेलाडीबाट रेफ्रीसम्मको यात्रा

0
Shares

इलाम ।

इलाम नगरपालिका–८ का महेश खड्का अहिले इलामको फुटबल क्षेत्रमा परिचित नाम बनेका छन् । मैदानमा खेलाडीका रूपमा दौडिने उनी आज त्यही मैदानमा निष्पक्ष निर्णय गर्ने व्यवसायिक असिस्टेन्ट रेफ्रीका रूपमा स्थापित छन् ।

फुटबलप्रतिको लगाव, निरन्तर मेहनत र अनुशासनका कारण खड्काले खेलाडी जीवनपछि पनि फुटबललाई नै आफ्नो पेशा बनाएका हुन् ।

इलामसहित पूर्वका विभिन्न जिल्लामा आयोजना हुने प्रतिष्ठित फुटबल प्रतियोगितामा खड्का नियमित रूपमा असिस्टेन्ट रेफ्री (लाइनम्यान) का रूपमा देखिन्छन् । विशेषगरी इलाम गोल्डकप, महिला गोल्डकप तथा अन्य क्षेत्रीय प्रतियोगिताहरूमा आयोजकहरूको पहिलो रोजाइमा पर्ने उनी अहिले व्यवसायिक रेफ्रीकै रूपमा स्थापित भइसके ।

खड्काको फुटबल यात्रा भने रेफ्रीबाट सुरु भएको होइन । विगतमा नेपालको चर्चित ए डिभिजन क्लब मच्छिन्द्र एफसी र एपीएफ एफसीसँग आबद्ध भएर उनले खेलाडीका रूपमा राष्ट्रिय स्तरसम्म खेलेका थिए । खेलाडी जीवनमा उनले विभिन्न प्रतियोगिताबाट अनुभव बटुले । मैदानभित्रको त्यही अनुभवले पछि उनलाई रेफ्री बन्न सहयोग गरेको उनले बताए ।

खेलाडी जीवनपछि खड्काले फुटबललाई नै निरन्तरता दिने उद्देश्यका साथ रेफ्री करिअर रोजे । सुरुमा सामान्य प्रशिक्षणबाट यात्रा थालेका उनले क्रमशः विभिन्न तहका रेफ्री तालिम तथा परीक्षा सफलतापूर्वक पूरा गरे । त्यसपछि उनले लाइसेन्स प्राप्त रेफ्रीको मान्यता पाएर औपचारिक रूपमा खेल सञ्चालनमा सक्रियता बढाए ।

फुटबलमा रेफ्रीको भूमिका अत्यन्त संवेदनशील मानिन्छ । खेलको परिणाम, अनुशासन र खेलाडीको मनोविज्ञानसम्म रेफ्रीको निर्णयले प्रभाव पार्ने भएकाले मैदानमा क्षणक्षणमा सतर्क रहनुपर्छ । खड्काले यही जिम्मेवारीलाई व्यावसायिकता र इमानदारीका साथ निर्वाह गर्दै आएका छन् । विशेषगरी अफसाइड, फाउल वा निर्णायक अवस्थाहरूमा उनले गर्ने सन्तुलित निर्णयका कारण खेलकर्मीहरूले उनको प्रशंसा गर्ने गरेका छन् ।

“मैदानमा रेफ्री हुनु भनेको केवल सिटी फुक्ने काम मात्रै होइन, खेललाई निष्पक्ष र अनुशासित बनाइराख्ने ठूलो जिम्मेवारी पनि हो । कहिलेकाहीँ दर्शक, खेलाडी र दबाब धेरै हुन्छ, तर निर्णय गर्दा निष्पक्षता सबैभन्दा महत्वपूर्ण हुन्छ ” खड्काको भनाई छ । उनका अनुसार खेलाडी जीवनले रेफ्री बन्न निकै सहयोग पुगेको छ ।

“पहिले आफैं खेलाडी भएर मैदानमा पसिना बगाएकाले खेलाडीको भावना बुझ्न सजिलो हुन्छ,” खड्काले बताए—“त्यसैले निर्णय गर्दा खेलको गति, परिस्थिति र खेलाडीको मनोविज्ञानलाई पनि ध्यान दिनुपर्छ ।” स्थानीय खेलकुदकर्मीहरूका अनुसार, उनको सबैभन्दा ठूलो विशेषता भनेको मैदानमा देखिने शान्त स्वभाव र आत्मविश्वास हो । खेलको दबाबपूर्ण अवस्थामा पनि संयमित भएर निर्णय गर्न सक्ने क्षमता भएका कारण उनी आयोजक र खेलाडी दुवैको विश्वास जित्न सफल भएका छन् ।

इलाममा पछिल्लो समय फुटबल गतिविधि विस्तार हुँदै गएको छ । जिल्लामा राष्ट्रिय स्तरका प्रतियोगिता बढिरहेका बेला दक्ष रेफ्रीहरूको आवश्यकता पनि बढ्दो छ । यस्तो अवस्थामा खड्काजस्ता व्यवसायिक रेफ्रीहरूले स्थानीय खेलकुद क्षेत्रलाई ठूलो टेवा पुरयाइरहेका छन् । खेल सञ्चालनलाई मात्र होइन, नयाँ पुस्तालाई रेफ्री पेशाप्रति आकर्षित गर्न पनि प्रेरणा उनले दिइरहेका छन् ।

हाल खड्का फुटबल खेल सञ्चालन गरेरै परिवारको घर खर्चमा सहयोगी बनिरहेका छन् । नेपालमा खेलाडी वा रेफ्री पेशाबाट जीवन धान्न सहज अवस्था नरहे पनि उनले फुटबललाई नै आफ्नो कर्म बनाए ।

“नेपालमा रेफ्री पेशालाई अझ व्यवस्थित र सम्मानित बनाउन आवश्यक छ,” उनले भने— “धेरै युवाहरू खेल क्षेत्रमा आउन चाहन्छन्, तर अवसर र प्रोत्साहन कम छ । राज्य र सम्बन्धित निकायले रेफ्रीहरूको क्षमता विकास र सुरक्षामा पनि ध्यान दिनुपर्छ ।”