यूईएफए च्याम्पियन्स लिग : फाइनलमा पीएसजी र आर्सनलबीच भिडन्त तय


लन्डन, (एजेन्सी) ।

युरोपेली फुटबलको सबैभन्दा प्रतिष्ठित मञ्च यूईएफए च्याम्पियन्स लिगको यस सिजनको फाइनल समीकरण पूरा भएको छ । जहाँ फ्रान्सेली महारथी पेरिस सेन्ट जर्मेन (पिएसजी) र इङ्लिस क्लब आर्सेनलले उपाधिका लागि बुडापेस्टमा एकअर्काको सामना गर्ने भएका छन् ।

रोमाञ्चक र नाटकीय सेमिफाइनल खेलहरू पार गर्दै यी दुई टोलीले आगामी मे ३० मा हंगेरीको पुस्कास एरेनामा हुने फाइनलमा आफ्नो स्थान सुरक्षित गरेका हुन् । पीएसजी लगातार दोस्रो पटक उपाधि रक्षा गर्ने दाउमा मैदान उत्रिँदै छ भने २० वर्षको लामो पर्खाइपछि फाइनलमा पुगेको आर्सेनलले इतिहास रच्ने तयारी गरेको छ ।

पीएसजीले फाइनलको यात्रा तय गर्ने क्रममा जर्मन जायन्ट बायर्न म्युनिखसँगको निकै प्रतिस्पर्धात्मक र गोलको वर्षा भएको सेमिफाइनलमा बाजी मा¥यो । पहिलो लेगमा ५–४ गोलअन्तरको सनसनीपूर्ण जित निकालेको पीएसजीले दोस्रो लेगमा १–१ गोलको बराबरी खेल्दै समग्रमा ६–५ को नतिजासहित फाइनलको टिकट पक्का ग¥यो ।

दोस्रो लेगको खेल सुरु भएको तेस्रो मिनेटमै उस्मान डेम्बेलेले गोल गर्दै पिएसजीलाई अग्रता दिलाएका थिए । जुन च्याम्पियन्स लिग सेमिफाइनल इतिहासकै तेस्रो छिटो गोल बन्न पुग्यो । यद्यपि, इन्जुरी समयमा ह्यारी केनले गोल गर्दै खेललाई बराबरीमा ल्याए पनि बायर्नको पुनरागमन प्रयास पर्याप्त हुन सकेन ।

पीएसजीका लागि ख्भिचा क्वारात्स्खेलियाले अर्को कीर्तिमान रचेका छन् । उनी लगातार सातवटा नकआउट खेलमा गोल वा असिस्ट गर्ने पहिलो खेलाडी बनेका छन् । अघिल्लो सिजन इन्टर मिलानलाई हराएर पहिलो पटक युरोपेली ताज पहिरेको पीएसजी यसपटक पनि सोही लयलाई कायम राख्न दृढ देखिन्छ ।

अर्कोतर्फ, मिकेल अर्टेटाको नेतृत्वमा रहेको आर्सेनलले एटलेटिको मेड्रिडको बलियो रक्षापंक्तिलाई चिर्दै फाइनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । पहिलो लेग १–१ गोलको बराबरीमा सकिएको अवस्थामा लन्डनस्थित एमिरेट्स स्टेडियममा भएको दोस्रो लेगमा आर्सेनलले १–० को कठिन जित निकाल्यो ।

आर्सेनलका लागि पोस्टर ब्वाइ बुकायो साकाले ४४औँ मिनेटमा गरेको गोल नै निर्णायक सावित भयो । साकाले यस सिजन च्याम्पियन्स लिगमा घरेलु मैदानमा मात्रै ९ गोल र ५ असिस्ट गर्दै आफ्नो उत्कृष्ट लय प्रदर्शन गरिरहेका छन् । सन् २००६ मा बार्सिलोनासँग फाइनलमा पराजित भएयता आर्सेनल पहिलो पटक यस स्थानमा पुगेको हो ।

बुडापेस्टमा हुने यो भिडन्त केवल दुई क्लबबीचको प्रतिस्पर्धा मात्र नभई दुई फरक फुटबल दर्शनको भिडन्त पनि हुनेछ । लुइस एनरिकेको प्रशिक्षणमा रहेको पीएसजीसँग उपाधि रक्षा गर्ने अनुभव र आत्मविश्वास छ भने आर्सेनलसँग लामो समयको खडेरी तोड्ने भोक र ऊर्जा छ ।

विगतका भेटहरूको तथ्यांक हेर्दा पिएसजी केही हावी देखिए पनि फाइनलको एकै रातले इतिहासको दिशा मोड्न सक्छ । फुटबल प्रेमीहरू अहिलेदेखि नै मे ३० को प्रतीक्षामा छन्, जहाँ युरोपेली क्लब फुटबलको नयाँ राजा को बन्ला भन्ने कौतुहलताले विश्व फुटबल जगतलाई तताएको छ ।