तपाईंले खोज्नुभएको चीज तपाईंभित्रै छ

846
Shares

तपाईं सपना देख्नुहुन्छ । सपना देख्नका लागि तपाईं निदाएकै हुनुपर्छ भन्ने कुरा होइन । तपाईं जाग्राम अवस्थामा पनि सपना देख्न सक्नुहुन्छ । खाना बनाइरहेका बेला पनि सपना देख्न सक्नुहुन्छ । घोडा चढिरहेका बेला पनि सपना देख्न सकिन्छ । आफ्नो घरमा बसिरहेका बेलामा पनि सपना देख्न सकिन्छ । बाहिर गइरहेका बेलामा पनि सपना देखिन्छ ।

सपना कसले देख्दैन र ! सबै जना सपना देख्छन् अनि कस्तो सपना देख्छन्– तिमी यस्तो बन, तिमी त्यस्तो बन । तिमीलाई यस्तो प्राप्त होस्, तिमीलाई त्यस्तो प्राप्त होस् । तिमीलाई धेरै पैसा प्राप्त होस् । तिम्रो पदोन्नति होस् । तिमी परीक्षा उत्तीर्ण भएस् । यस्तो गर, त्यस्तो गर । सबै यस्तै सपना देख्छन् । तपाईं जन्मनुभएका समयमा कसैले तपाईंसँग कुनै बाचा गरेका थिएनन् ।

त्यसपछि तपाईं आफैँले बाचा गर्न थाल्नुभयो, किनभने तपाईं सपना देख्नुहुन्छ । सपना देख्नु तपाईंको प्रकृति हो ।

एउटा सबैभन्दा महत्त्वपूर्ण कुरा के हो भने, तपाईंले देखेको सपना दुनियाँले देख्ने सपनाभन्दा भिन्न होस् । त्यो केवल तपाईंको, केवल तपाईंको सपना होस् । यदि त्यो एउटा सपना पूरा भयो भने, साकार भयो भने तपाईंको जीवनमा केवल आनन्द नै आनन्द हुनेछ । स्वर्गको सपना होइन, नरकको सपना होइन ।

व्यापार गर्ने सपना होइन तर यस्तो सपना, जसलाई साकार तुल्याएपछि तपाईंको जीवनमा आनन्दको आगमन होस् । आफूभित्र गएर तपाईं यहाँ किन आउनुभएको भन्ने कुरालाई बुझ्न सक्नुहोस् । सपनाका बारेमा कुरा गर्ने हो भने त तपाईं उठिसक्दा सपना पनि समाप्त हुन्छ ।
यदि त्यस दृष्टिले हेरियो भने एकदिन तपाईंले जे सपना देखे पनि तपाईंले देख्ने सबै सपनाको अर्थ रहँदैन ।

चाहे जो भए पनि, यस संसारका सबैभन्दा ठूला सन्त, विद्वान्, उच्च अधिकारी, राजनीतिज्ञ, व्यापारी, किसान, जो भए पनि, जे काम गरे पनि यदि यो पृथ्वी नै रहेन भने ती सबै सपना समाप्त हुनेछन् । जति सपना किसानले देख्छन्, अन्य जो–कोहीले जति पनि सपना देख्छन्– चाहे राजाले देखून्, गरिबले देखून् । यी सबै सपना समाप्त हुनेछन् ।

तब के कुरा बाँकी रहनेछ ? केही पनि बाँकी रहनेछैन । तपाईं यो संसारबाट बिदा भएका दिन तपाईंका सबै सपना पनि तपाईंसँगै जानेछन् । अहिलेसम्म तपाईंले देख्नुभएका सपना त्यो अरू कसैले पहिल्यै देखेको सपना हो ।

तपाईंको आफ्नै सपना के हो ? तपाईंले तपाईंको आफ्नै सपना के हो भन्ने कुरा बुझ्न नसकेसम्म तपाईं सपनाको वास्तविक अर्थ बुझ्न सक्नुहुन्न । यो सपना धनको होइन, विद्वताको होइन, वस्तुको होइन तर यो आफ्नै जीवनको सपना हो । सपना आइरहनेछन्, गइरहनेछन् अनि तपाईं यिनकै पछि लागिरहनुहुनेछ तर तपाईंको आफ्नै वास्तविक निजी सपना पूरा नभएसम्म कुरा अघि बढ्दैन ।

सबैभन्दा ठूलो कुरा के हो भने, तपाईं आफ्नो जीवनमा त्यो परम आनन्दलाई अनुभूत गर्नुहोस् । किनभने, हामी जे कुराका लागि बनेका हौँ त्यही कुरालाई अपनाएनौँ भने हामी सधैँ त्यही गर्छौं, जसका लागि हामी बनेकै होइनौँ ।

यदि यस्तो अवस्थामा हामीले आनन्दलाई अनुभूत गर्ने चाहना राख्यौँ भने हामी कसरी आनन्दको अनुभूत गर्न सक्छौँ ? यदि पीठो पिस्ने जाँतोमा कपडा धुन थालियो भने त्यसको सबै चीज बिग्रनेछन् । हामी मानिसहरू के गर्दै छौँ ? समयको जाँतोमा के हालिरहेका छौँ ? आफैँलाई हाल्दै छौँ । त्यसले पीडा दिन्छ, दुःख दिन्छ अनि हामी मलाई किन यस्तो भइरहेको छ भनेर रुन थाल्छौँ ।

दुःख हुन थालेपछि, पीडा हुन थालेपछि हामी सबैलाई दोष दिन थाल्छौँ । ममाथि किन यस्तो भइरहेको छ ? मलाई नै त्यस्तो किन भइरहेको छ ? किनभने, हामीसँग भएको स्विचलाई त बाल्नु आवश्यक छ तर हामीले यसलाई उज्यालो बनाउनका लागि भन्दा पनि बन्द गर्नका लागि मात्रै प्रयोग गरिरहेका छौँ ।

तपाईंले खोज्नुभएको चीज तपाईंभित्रै छ तर तपाईं के कुराको खोजीमा हुनुहुन्छ ? तपाईं कुन चीजको खोजीमा हुनुहुन्छ ? यसबारे सोच्नुहोस्, बुझ्नुहोस् र यस जीवनको वास्तविक आनन्दलाई अनुभूत गर्नुहोस् । त्यसलाई स्वीकार गर्नुहोस् अनि त्यसको अंश बन्नुहोस् ।

मानिस चिन्तित अवस्थामा आफूसँग के–के छ भन्ने कुरालाई बिर्सन्छ । जुन आनन्द प्राप्तिका लागि मानिसले आफ्नो जीवनमा कोसिस गरिरहन्छ, त्यो साँचो आनन्द सधैँ उसैभित्र विद्यमान छ । चाहे परिस्थिति बदलियोस्, चाहे जस्तोसुकै अवस्था आओस् । यो प्राप्त भएको अवसर डराउनका लागि होइन । यो हिम्मतले काम गर्ने अनि आँखा खोलेर अघि बढ्ने अवसर हो ।

पछि के हुनेछ, त्यसका बारेमा कसैलाई पनि थाहा छैन । कसले यो सबैथोक रचना गरे अनि यसभित्र जे–जस्तो सुन्दरता छ त्यो सबै उपलब्ध गराए, त्यो कुरालाई विश्वास गर्नु, बुझ्नुपर्ने आवश्यकता छ । मानिसलाई जुन चीजहरूको आवश्यकता छ ती सबै चीज उपलब्ध छन् । उसमाथि कति दयाको वर्षा भएको छ भन्ने कुरालाई उसले भुलेको छ । उसको जीवनमा जेसुकै भए पनि, यो एउटा मौका हो भन्ने कुरालाई मानिसले बिर्सेको छ ।

यो आनन्द लिने अवसर हो । भोलिका लागि होइन, पर्सिका लागि पनि होइन तर जबसम्म यो श्वास आइरहन्छ अनि गइरहन्छ, तबसम्म यो मौका हो । त्यसको सम्पूर्ण तवरले फाइदा उठाउनु हाम्रो दायित्व बन्छ ।

मानिसहरू के चाहन्छन् भने, प्रकाश भएपछि हामीले हेर्न चाहेको चीजलाई यसले देखाओस् । यो सबैभन्दा महत्त्वपूर्ण कुरा हो । तर, प्रकाशले यसो गर्दैन । प्रकाशले भएको चीजलाई नै देखाउँछ । प्रकाशले कुनै चीजको सृजना गर्ने होइन । अँध्यारो पनि कस्तो चीज हो भने, अँध्यारो भएका बेलामा आँखाले त केही हेर्न चाहन्छ ।

कुनै बेला धेरै समय अँध्यारो भएर एक्कासी प्रकाश हेर्नुपर्ने भयो भने त्यो मानिसका लागि राम्रो हुँदैन । उसले आँखा बन्द गर्नुपर्ने हुन्छ । के हाम्रो जीवनमा पनि त्यस्तै भइरहेको त छैन ? हामीले देख्न सकिरहेका छैनौँ ! अर्थात्, अँध्यारोसँग यति धेरै अभ्यस्त भयौँ, किनभने प्रकाशलाई देख्नासाथ आत्तिन पुग्छौँ तर यस्तो हुनुहुँदैन ।

जबसम्म तपाईं जीवित हुनुहुन्छ, तबसम्म तपाईंको जीवनमा एउटा आशा हुनुपर्छ । तपाईं जीवित रहुन्जेलसम्म असत्यलाई होइन, सत्यलाई हेर्नुहोस् । यदि सत्यलाई हेर्नुभयो भने तपाईंले असत्यसँग डराउनुपर्ने अवस्था हुँदैन । तथापि, तपाईंको ध्यान सत्यमा हुनुपर्छ, असत्यमा होइन ।
मानिसहरू हिम्मत हार्न थाल्छन् । अब के होला भनेर आत्तिन थाल्छन् । हिम्मतले काम गर्नुहोस्, नडराउनुहोस् ।

जबसम्म तपाईं जीवित हुनुहुन्छ तबसम्म कुनै चीज तपाईंभित्र छ । त्यस चीजको अनुभव गर्दै तपाईं आफ्नो जीवनमा ‘म कति भाग्यशाली छु’ भनेर बुझ्न सक्नुहुन्छ । कुनै बेला मानिसहरू आफूले आफूलाई कस्तो ठान्छन् भने– ‘म अभागी छु, मलाई यस्तो समस्या भयो, मलाई त्यस्तो समस्या भयो !’ तर, जबसम्म यो श्वास आइरहन्छ, तबसम्म तपाईं भाग्यशाली हुनुहुन्छ । तपाईं जीवित रहनुन्जेलसम्म तपाईं भाग्यशाली हुनुहुन्छ ।

यदि तपाईं नै डराउन लाग्नुभयो भने तपाईंको छेउछाउमा जो–जो छन्, जसले तपाईंलाई प्रेम गर्छन्, ती पनि डराउन थाल्छन् । यदि उनीहरू पनि डराउन थाले अनि तपाईं पनि डराउन थाल्नुभयो र सबै डराउन थाले भने त डरको मात्रा बढ्ने नै छ । त्यसपछि कसले हिम्मत बढाउला ? जब खराब समय हुन्छ, त्यतिखेर हिम्मतको आवश्यकता पर्दछ ।

प्रकाशको आवश्यकता पर्छ अनि त्यो प्रकाश तपाईंभित्र छ । त्यसलाई बुझ्नुहोस्, त्यसलाई चिन्नुहोस्, त्यसलाई नियाल्नुहोस् । तपाईं जहिलेसम्म जीवित रहनुहुन्छ यो त अवसर हो । यो कुरा म कसरी भनिरहेको छु, किनभने जबसम्म यो श्वास आइरहेको हुन्छ र गइरहेको हुन्छ– यो ती सृष्टिकर्ताको कृपा हो र यसलाई स्वीकार गर्नुहोस् ।

आफूलाई ख्याल गर्नुहोस्, सुरक्षित रहनुहोस्, जसले गर्दा तपाईं बिरामी नपर्नुहोस् । यदि बिरामी परिहाल्नुभए पनि हिम्मतलाई अघि सार्नुहोस्, डरलाई होइन । वास्तवमा तपाईं जति डराउनुहुन्छ नि, तपाईंको शरीर झनै कमजोर हुन्छ ।

यसर्थ नडराउनुहोस्, कठिन परिस्थितिलाई हिम्मत बढाएर सामना गर्नुहोस् अनि हरेक दिनलाई सफल पार्नुहोस् । तपाईंलाई म सबैभन्दा ठूलो खुशीको खबर सुनाउँछु । भर्खरै तपाईंभित्र श्वास आयो, योभन्दा ठूलो खुशीको खबर छैन । यो श्वास आयो, जसै आयो, तपाईं जीवित हुनुहुन्छ । यो जानेछ र फेरि आउनेछ । के तपाईंले यसलाई बुझ्नुभयो ? यो के हो ? के बसेको छ यसमा ?
यो श्वासभित्र कुनै प्रश्न छैन, केही द्विविधा छैन ।

यसमा वास्तविक शान्ति रहेको छ । यो जुन श्वास आइरहेको छ, यसमा सृष्टिकर्ताले श्वासरूपी कोक्रोलाई हल्लाइरहेका छन् । यो हो मस्ती ! यो हो साँचो मस्ती ! यसमा मस्त हुनुहोस् । यस्तो आनन्द तपाईंले अन्त कतै पाउनुहुन्न । कस्तो आनन्द ! दुःखमा, सुखमा, तपाईं जहाँ जानुहुन्छ, यसबाट तपाईं अलग्गिन सक्नुहुन्न ।

जुन दिन तपाईं यसबाट वञ्चित हुनुहुनेछ, त्यस दिन सबै गयो । विचार गर्नुहोस् त– यो हो भगवान्को कृपा । र, यो कृपा तपाईंमाथि भयो, भर्खरै भयो । के तपाईंलाई थाहा छ, यो कहिलेदेखि चलिरहेको छ ? हरेकचोटि यो श्वास चल्दा सृष्टिकर्ताले तपाईंलाई आशीर्वाद दिन्छन् । आफ्नो कृपा तपाईंमाथि गर्छन् ! यसलाई बुझ्नुहोस् । यदि तपाईं बुझ्नुहुन्न भने म बुझाउन सक्छु ।

म के भन्न चाहँदिन भने, यदि तपाईंले शान्तिको अनुभूति गर्नु छ भने तपाईंले संन्यास लिनुपर्छ, यदि तपाईंलाई यो चीज चाहिन्छ भने तपाईंले आफ्नो परिवार छोड्नुपर्छ । अहँ, होइन । जस्तो तपाईं हुनुहुन्छ, त्यस्तै रहनुहोस् ।

फुल्नुहोस्, फल्नुहोस् र अझै प्रगति गर्नुहोस् । म त के भन्न चाहन्छु भने, जे तपाईं गर्न सक्नुहुन्छ, त्यो गर्नुहोस् तर भित्र पनि फुल्नुहोस्, फल्नुहोस् । तपाईं आफ्नो जिन्दगीमा के चाहनुहुन्छ त्यो तपाईंमाथि निर्भर छ । तपाईंलाई उनले शक्ति दिएका छन् ।

तपाईं जे चाहनुहुन्छ, गर्न सक्नुहुन्छ । तपाईं एउटा काम गर्न सक्नुहुन्छ– तपाईं आफ्नो जीवनमा शान्तिको स्थापना पनि गर्न सक्नुहुन्छ ।

(मानवता र शान्ति विषयका अन्तर्राष्ट्रिय वक्ता डा. प्रेम रावतको सम्बोधन । संकलन एवं प्रस्तुतीकरण ः डा. प्रेमराज ढुङ्गेल । थप जानकारीका लागि www.premrawat.com)