इन्डोनेसियामा बस र तेल ट्यांकर ठोक्किँदा भीषण आगलागी, १६ जनाको मृत्यु


बाली ।

इन्डोनेसियाको सुमात्रा टापास्थित ट्रान्स–सुमात्रा राजमार्गमा बुधबार यात्रुवाहक बस र इन्धन बोकेको तेल ट्यांकर एकआपसमा ठोक्किँदा भएको भीषण आगलागीमा कम्तीमा १६ जनाको मृत्यु भएको छ भने चार जना घाइते भएका छन्।

दक्षिण सुमात्रा प्रान्तको उत्तरी मुसी रावास क्षेत्रमा दिउँसो भएको दुर्घटनामा करिब २० यात्रु बोकेको अन्तरसहर बस पूर्ण रूपमा जलेर नष्ट भएको अधिकारीहरूले जनाएका छन्। दुर्घटनामा अधिकांश यात्रु सवारीभित्रै च्यापिएर जलेका कारण उद्धार कार्य जटिल बनेको थियो। स्थानीय विपद् व्यवस्थापन एजेन्सीका अधिकारी मुगोनोका अनुसार बस लुबुक्लिङ्गाउ सहरबाट जाम्बीतर्फ गइरहेको थियो।

प्रारम्भिक अनुसन्धानले बसमा प्राविधिक समस्या देखिएको संकेत गरेको छ। बसबाट अचानक स्पार्क निस्किएपछि चालकले सम्भावित दुर्घटना टार्न बसलाई सडकको दायाँपट्टि मोड्ने प्रयास गरेका थिए। तर सोही समयमा विपरीत दिशाबाट तीव्र गतिमा आइरहेको तेल ट्यांकरसँग बस ठोक्किएको थियो।

ठक्करपछि केही क्षणमै दुवै सवारीमा आगो फैलिएको थियो। आगलागीले बस र ट्यांकरलाई पूर्ण रूपमा ढाक्दा धेरै यात्रु बाहिर निस्किन नपाउँदै सवारीभित्रै फसेका थिए। अधिकारीहरूका अनुसार दुर्घटनामा बस चालकसहित १३ यात्रु तथा ट्यांकरका चालक र सहचालकको मृत्यु भएको हो। अधिकांश शव जलेको अवस्थामा भेटिएकाले पहिचान गर्न कठिनाइ भइरहेको जनाइएको छ।

घाइते चार जनालाई तत्काल नजिकैको स्वास्थ्य केन्द्रमा उपचारका लागि लगिएको थियो। तीमध्ये तीन जनाको अवस्था गम्भीर रहेको बताइएको छ। घटनापछि राष्ट्रिय खोज तथा उद्धार एजेन्सी, ट्राफिक प्रहरी र विपद् व्यवस्थापन टोली घटनास्थलमा परिचालन गरिएको थियो। आगो नियन्त्रणमा लिन दमकलकर्मीहरूले लामो समय संघर्ष गर्नुपरेको थियो।

दुर्घटनाका कारण ट्रान्स–सुमात्रा राजमार्ग लामो समय अवरुद्ध बनेको थियो। इन्डोनेसियामा कमजोर सडक पूर्वाधार, अपर्याप्त सुरक्षा मापदण्ड र तीव्र गतिका कारण सडक दुर्घटना बारम्बार हुने गरेका छन्। गत साता पनि जकार्ताबाहिर रेल दुर्घटनामा कम्तीमा १५ जनाको मृत्यु भएको थियो।