काठमाडौँ
नेपाल लाइफ इन्स्योरेन्सले आफ्नो स्थापनाको २५औं गरिमामय वार्षिकोत्सवको अवसरमा निःशुल्क स्वास्थ्य शिविर तथा देशव्यापी बृहत् रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ ।
कम्पनीले मिति २०८३ वैशाख २१ र २२ गते आफ्नो प्रधान कार्यालय परिसरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको थियो । स्वास्थ्य परीक्षण सेवा आरबी डाइग्नोस्टिकमार्फत प्रदान गरिएको थियो । शिविरमा इसिजी, थाइराइड, सुगर, प्रेसर, एसजिपिटी, कोलेस्ट्रोल, युरिक एसिडलगायतका निःशुल्क जाँचका साथै विशेषज्ञ डाक्टरहरूबाट निःशुल्क परामर्श सेवा उपलब्ध गराइएको थियो। दुई दिनसम्म सञ्चालन भएको उक्त शिविरबाट कुल ६०१ जनाले प्रत्यक्ष लाभ लिएका छन् ।
यसै क्रममा कम्पनीले देशभरका सातै प्रदेशका १३ स्थानमा बृहत् रक्तदान कार्यक्रम पनि सम्पन्न गरेको छ । कार्यक्रममार्फत कोशी प्रदेशको इटहरीमा ३०, मधेश प्रदेशको वीरगञ्जमा २५, जनकपुरमा २५, बागमती प्रदेशको काठमाडौँमा ७८, नारायणगढमा ८१, नुवाकोटमा ३९, हेटौंडामा २६, बनेपामा ३२, गण्डकी प्रदेशको पोखरामा ५५, लुम्बिनी प्रदेशको बुटवलमा ३३, भैरहवामा ३४, कर्णाली प्रदेशको सुर्खेतमा २५ र सुदूरपश्चिम प्रदेशको धनगढीमा ३३ गरी कुल ५०५ पिन्ट रगत संकलन गरिएको छ ।
“किनकि जीवन अमूल्य छ!” भन्ने नारालाई आत्मसात् गर्दै सम्पूर्ण नेपालीको भविष्य सुरक्षित, सुनिश्चित र उज्ज्वल बनाउने लक्ष्यसहित अगाडि बढिरहेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड देशकै अग्रणी जीवन बीमा कम्पनी हो। कम्पनीले करिब ३० प्रतिशत बजार हिस्सा ओगट्दै आएको छ । विगत २५ वर्षदेखि करिब ५४ लाख नेपाली परिवारको विश्वास जित्दै आएको यस कम्पनीले देशभरका ७७ वटै जिल्लामा फैलिएको शाखा सञ्जाल तथा ६९ हजारभन्दा बढी अभिकर्ताहरूको सशक्त नेटवर्कमार्फत सेवा प्रदान गर्दै आएको छ ।
सेवाप्रतिको उच्च प्रतिबद्धताका कारण कम्पनीले बीमा क्षेत्रमा विश्वसनीयता, पहुँच र उत्कृष्टताको उदाहरण प्रस्तुत गर्दै आएको छ ।
वार्षिकोत्सवको यस विशेष अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले मार्गदर्शन प्रदान गर्नुहुने सञ्चालक समितिका अध्यक्ष तथा सञ्चालकहरू, शेयरधनीहरू, ग्राहकवर्ग, अभिकर्ताहरू, कर्मचारीहरू, नियामक निकायहरू तथा सम्पूर्ण सरोकारवालाहरूप्रति धन्यवाद तथा शुभकामना व्यक्त गर्नुभएको छ। साथै, आगामी दिनहरूमा पनि सबैको माया, विश्वास र सहकार्य निरन्तर प्राप्त हुने अपेक्षा व्यक्त गर्नुभएको छ ।











प्रतिक्रिया