झापामा कलेज बस दुर्घटना, चार जना घाइते


झापा।

झापाको शिवसताक्षी नगरपालिका–९ स्थित चिल्लागढ धाम नजिक भित्री सडकमा आज कलेज बस दुर्घटना हुँदा चार जना घाइते भएका छन् ।

ब्याङडाँडाबाट बिर्तामोडतर्फ जाँदै गरेको बिर्तामोड नगरपालिका–१ मा रहेको इको होम कलेजको प्रदेश १–०१–००१ क १३१४ नम्बरको बस अनियन्त्रित भई सडक छेउमा पल्टिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

घाइते हुनेमा बुद्धशान्ति गाउँपालिका–४ का २४ वर्षीय सहचालक प्रकाश सिल्वाल, शिवसताक्षी नगरपालिका–८ का १८ वर्षीय इसान पक्वाल, सोही स्थानका १८ वर्षीय स्वभाग्य राई र १७ वर्षीय निसब भेट्वाल रहेका छन् ।

प्रहरीका अनुसार बसमा चालकसहित पाँच जना सवार थिए ।

उनीहरूको विर्तासिटी अस्पताल, विर्तामोडमा उपचार भइरहेको प्रहरीले जनाएको छ । बस चालक प्रहरीको नियन्त्रणमा रहेको र दुर्घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।