दक्षिणदेखि पूर्वसम्म ‘निर्वाचन सुनामी’: तमिलनाडुमा विजयको उदय, बंगालमा कडा टक्कर”


काठमाडौं ।

भारतका चार राज्य र एक केन्द्र शासित प्रदेशमा सम्पन्न विधानसभा निर्वाचनको मतगणना सोमबार बिहानदेखि जारी रहँदा प्रारम्भिक नतिजाहरूले भारतीय राजनीतिमा नयाँ तरंग पैदा गरेको छ।

तमिलनाडुमा अभिनेता विजय नेतृत्वको नयाँ पार्टी तमिलगा भेत्री कझगम (TVK) ले अप्रत्याशित प्रदर्शन गर्दै सत्ताको ढोकामा पुगेको छ। कुल २३४ सिटमध्ये बहुमतका लागि आवश्यक ११८ सिटको नजिक पुग्दै TVK १०५ सिटमा अग्रता लिएको छ। कांग्रेस सम्मिलित एआईएडीएमके गठबन्धन ७६ सिटमा रहेको छ भने द्रविड मुनेत्र कडगम नेतृत्वको भाजपा समर्थित गठबन्धन ५१ सिटमा सीमित देखिएको छ। दशकौँदेखि द्रविड दलहरूको वर्चस्व रहेको राज्यमा विजयको उदयलाई विश्लेषकहरूले “राजनीतिक सुनामी” का रूपमा व्याख्या गरेका छन्।

उता पश्चिम बंगालमा ममता ब्यानर्जी नेतृत्वको अखिल भारतीय तृणमूल कांग्रेस र भारतीय जनता पार्टी बीच कडा प्रतिस्पर्धा देखिएको छ। प्रारम्भिक रुझानमा भाजपा १४७ सिटमा अग्रता लिँदै बहुमतको नजिक पुगेको छ भने तृणमूल कांग्रेस १२७ सिटमा पछाडि परेको छ। २९४ सिटीय विधानसभामा बहुमतका लागि १४८ सिट आवश्यक हुने भएकाले अन्तिम नतिजासम्म सत्ता समीकरण अनिश्चित नै रहने देखिन्छ। मतगणना केन्द्रहरूमा सुरक्षा कडा पारिएको छ र धाँधलीको आरोप–प्रत्यारोप पनि सुरु भइसकेको छ।

असममा हिमन्त बिस्व शर्मा नेतृत्वको भाजपा गठबन्धनले स्पष्ट बहुमतको संकेत दिँदै ९५ सिटमा अग्रता बनाएको छ। विपक्षी कांग्रेस गठबन्धन भने २७ सिटमा सीमित देखिएको छ।

केरलामा भने परम्परागत सत्ता परिवर्तनको चक्र दोहोरिने संकेत देखिएको छ। कांग्रेस नेतृत्वको युनाइटेड डेमोक्रेटिक फ्रन्ट (UDF) ५९ सिटमा अगाडि रहँदा सत्तारुढ वामपन्थी एलडीएफ ४१ सिटमा पछि परेको छ।

त्यसैगरी केन्द्र शासित प्रदेश पुडुचेरीमा पनि भाजपा नेतृत्वको गठबन्धनले अग्रता कायम राखेको छ।

समग्रमा, यस पटकको निर्वाचनले दक्षिण भारतदेखि पूर्वी भारतसम्म राजनीतिक शक्ति सन्तुलनमा ठूलो फेरबदल ल्याउने संकेत दिएको छ। नयाँ दलको उदय, परम्परागत शक्तिहरूको कमजोर उपस्थिति र कडा प्रतिस्पर्धाले आगामी भारतीय राजनीतिक दिशा निर्धारण गर्ने विश्लेषण गरिएको छ।