काठमाडौं ।
पछिल्लो एक वर्षको अवधिमा राष्ट्रिय ग्रिडमा ५३२ मेगावाट विद्युत् जडान भएको छ । नेपाल विद्युत् प्राधिकरणका अनुसार गत २०८२ वैशाखदेखि चैत मसान्तसम्म जलविद्युत् र सौर्य आयोजना गरी कुल ५३२ मेगावाट विद्युत् उत्पादन भई प्रणालीमा जोडिएको हो । उक्त अवधिमा ४९९ मेगावाट जलविद्युत् र ३३ मेगावाट सौर्य ऊर्जा उत्पादन भएको प्राधिकरणले जनाएको छ । कुल २३ वटा आयोजनाहरू सम्पन्न भई विद्युत् उत्पादन सुरु भएको उल्लेख गरिएको छ ।
यससँगै देशको कुल जडित विद्युत् क्षमता करिब ४,१०० मेगावाट पुगेको छ । सम्पन्न भएका आयोजनामध्ये अधिकांश निजी क्षेत्रका रहेका छन् । उक्त अवधिमा सबैभन्दा ठूलो आयोजना १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत् आयोजना हो । त्यसैगरी म्याग्दीको माथिल्लो राहुघाट (४८ दशमलव ५ मेगावाट), ताप्लेजुङको मेवा खोला (५० मेगावाट), कास्कीको मादी खोला (२४ मेगावाट) र म्याग्दीको ठूलो खोला (२१ दशमलव ३ मेगावाट) प्रमुख आयोजना हुन् ।
प्राधिकरणले विगतमा वार्षिक एक हजार मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य राखे पनि हालसम्म कुनै वर्ष उक्त लक्ष्य पूरा हुन सकेको छैन । पछिल्लो एक वर्षमा पनि लक्ष्यको करिब आधा मात्र उपलब्धि हासिल भएको देखिन्छ । चालू आर्थिक वर्ष २०८२÷८३ मा एक हजार मेगावाट विद्युत् प्रणालीमा जोड्ने लक्ष्य राखिए पनि वर्तमान गतिमा लक्ष्य पूरा गर्न चुनौती रहने ऊर्जा क्षेत्रका जानकारहरूले बताएका छन् ।











प्रतिक्रिया