८ वर्षपछि मितज्यूसँग दयाहाङको भेट


करिब साढे ८ वर्षअघि हात परेको स्क्रिप्ट अन्ततः पर्दामा आउँदैछ। अभिनेता दयाहाङ राई अभिनित फिल्म मितज्यू जेठ ८ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ। जसले हराउँदै गएको मित संस्कृतिको कथा बुनेको छ। फिल्मले पारिवारिक सम्बन्ध, मित्रता र जीवन संघर्षको कथा प्रस्तुत गर्नेछ।

फिल्मका प्रमुख अभिनेता दयाहाङ राईका अनुसार मितज्यूको कथा केवल मितेरी सम्बन्धमा सीमित छैन, यसले गाउँदेखि सहरसम्म फैलिएको जीवनको यथार्थ बोकेको छ। ‘यो सम्बन्धको कथा हो—परिवार, मित्रता र पेशागत जिम्मेवारीबीचको संघर्ष,’ दयाहाङ भन्छन् ‘तीन चालकको जीवनमार्फत कथा अगाडि बढ्छ।’

दयाहाङसँगै फिल्ममा सौगात मल्ल र शिशिर वाङ्देल पनि प्रमुख भूमिकामा छन्। उनीहरू गाडी चालकको भूमिकामा देखिँदैछन्, जहाँ प्रत्येक पात्रको आफ्नै कथा र पृष्ठभूमि रहेको अभिनेता राई बताउँछन्।

दयाहाङले खुलासा गरेअनुसार, मितज्यूको स्क्रिप्ट उनको हातमा करिब साढे ८ वर्षअघि नै परेको थियो। निर्माता जनक घर्ती मगर र निर्देशक अनिल मगरले त्यतिबेला नै उनलाई यो प्रोजेक्टका लागि प्रस्ताव गरेका थिए। ‘कथा मन परेको थियो, तर त्यो समय आफूले न्याय गर्न सक्छु कि सक्दिनँ भन्ने अन्योल थियो’ उनले सम्झिए।

बीचमा विभिन्न कारण, विशेषगरी कोभिड महामारीका कारण प्रोजेक्ट रोकिए पनि समय मिलेपछि पुनः स्क्रिप्ट खोलिएको र अन्ततः आफू जोडिएको उनले बताए। दयाहाङका अनुसार, मितज्यूमा उनको भूमिका अघिल्ला फिल्मभन्दा फरक छ।

‘म बाहिरी अभिनयभन्दा पात्रको भित्री मनोविज्ञानसँग काम गर्न रुचाउँछु’ उनले भने, ‘यसपटकको पात्र गहिरो छ, मेरो आप्mनै अनुभवभन्दा फरक भए पनि समाजसँग जोडिएको छ।’

सह–अभिनेता सौगात मल्लसँगको सहकार्यबारे बोल्दै दयाहाङले यस फिल्ममा उनीहरूको सम्बन्ध अघिल्ला फिल्मभन्दा भिन्न रहेको बताए। फिल्ममा नव अभिनेत्री टेरिया फौजा मगर पनि देखिँदैछिन्। दयाहाङले उनलाई नयाँ भए पनि समर्पित कलाकारका रूपमा पाएको खुलाए।

‘कलाकार भएपछि नयाँ–पुरानो भन्ने हुँदैन, सबै कुरा पात्र र कथामा निर्भर हुन्छ’ दयाहाङ भन्छन्।
फिल्मको शीर्षकसँग जोडिएको मित संस्कृतिबारे दयाहाङको आप्mनै अनुभव भने सीमित छ। ‘मैले व्यक्तिगत रूपमा मित लगाएको छैन। तर यसको सामाजिक महत्वबारे सुन्दै आएको छु—पहिले झगडा मिलाउन पनि मित लगाउने चलन थियो’ उनले भने।