काठमाडौं ।
सेवानिवृत्त तथा सेवारत राष्ट्रसेवक, पर्यटन व्यवसायी, समाजसेवी, सञ्चारकर्मी तथा कलाकारहरूको सहभागितामा सम्पन्न “सगरमाथा दर्शन पदयात्रा–२०८३” यसपटक केवल उकालो चढ्ने यात्रा रहेन, यो नेपाली माटो, प्रकृति, श्रम, संस्कार र आत्माको यात्रासमेत बन्यो।


विश्वकै सर्वोच्च शिखर सगरमाथाको काखमा आयोजित “सगरमाथा साहित्य उत्सव–२०८३” ले हिमालको मौनताभित्र नेपाली कविताको उज्यालो स्वर भरिदिएको छ। काठमाडौंबाट सुरु भएको १४ दिने यात्रामा सहभागीहरूले लुक्ला, नाम्चे बजार, तेङ्बोचे, दिङ्बोचे, लोबुचे हुँदै कालापत्थर र सगरमाथा आधार शिविरसम्मको कठिन पदयात्रा पूरा गरे।
यात्राको सबैभन्दा भावपूर्ण पक्ष भने हिमालको काखमा गुञ्जिएको कविता बन्यो। नेपाली सेनाका अवकाशप्राप्त उपरथी, कवि तथा गीतकार कृष्ण प्रसाद भण्डारीले कालापत्थर, सगरमाथा आधार शिविर तथा पत्ताले धापमा कविता वाचन गर्दै हिमाललाई शब्दमार्फत श्रद्धा अर्पण गर्नुभयो। चिसो हावा, वरिपरि उभिएका हिमशृङ्खला र मौन प्रकृतिबीच उहाँका कविताले सहभागीहरूको मन गहिरोसँग छोएको थियो।

सगरमाथा साहित्य उत्सव–२०८३ को प्रथम दिन, बैशाख २२ गते कालापत्थरमा प्रस्तुत कवितामा कवि भण्डारीले नेपाली जीवन, प्रकृति र संस्कृतिप्रतिको प्रेमलाई यसरी व्यक्त गर्नुभयो— “धर्ती राम्रो प्रकृतिले पिरती गाँसेको, जुन राम्रो पूर्णिमाको–फूल वसन्तको। हिउँ राम्रो हिमालको–माया नेपालको…” यी हरफहरू गुञ्जिँदा सगरमाथाको चिसो सिरेटोभित्र पनि नेपालीपनको न्यानोपन अनुभूत भएको सहभागीहरूले बताएका छन्।
त्यसैगरी श्रम, परिवार र गाउँघरको आत्मीय चित्रण गर्दै उहाँले सुनाउनुभएको— “बास राम्रो झुपडीको–बा ले ठड्याएको, गास राम्रो आमाकै हातले पकाएको…” भन्ने पंक्तिले सहभागीहरूको मनमा आफ्नै गाउँघर, बा–आमाको माया र बाल्यकालको सम्झना ताजा गराइदिएको थियो। उत्सवको दोस्रो दिन बैशाख २३ गते सगरमाथा आधार शिविरमा प्रस्तुत कवितामा उहाँले नेपाल जोड्ने र जोगाउने सम्पूर्ण नेपाली तथा नेपाली सेनाको योगदानप्रति सम्मान व्यक्त गर्नुभयो।
महाशिवरात्रि तथा सेना दिवसको अवसरमा रचना गरिएको उक्त कवितामा उहाँले लेख्नुभएको— “म राई हुँ, कुमाईं हुँ, माझी हुँ, म थारू हुँ म डोम हुँ, चमार हुँ, क्षेत्री हुँ, नेवार हुँ। दुष्कर्मको विनाशक म–सज्जनको भाइ हुँ माटो निम्ति बलि चढ्ने म नेपाली सिपाही हुँ।” भन्दै आरम्भ भएको कविताले नेपाली समाजको विविधता, राष्ट्रिय एकता र देशप्रेमलाई उजागर गरेको थियो।
त्यसैगरी— “म गुराँस–पारिजात हुँ–मखमली–चमेली हुँ मुन्धुम हुँ–म वेद हुँ, त्रिपिटक–ग्रन्थ साहिब हुँ।” भन्ने पंक्तिले नेपालको सांस्कृतिक सहिष्णुता र बहुजातीय पहिचानलाई गहिरोसँग अभिव्यक्त गरेको सहभागीहरूको भनाइ थियो। “सगरमाथा साहित्य उत्सव” को तेस्रो तथा अन्तिम कार्यक्रम बैशाख २५ गते सोलु–ओखलढुंगा सिमाना क्षेत्र पत्ताले धापमा सम्पन्न भएको थियो।
पर्यटन व्यवसायी ईश्वरी पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा कलाकार मनोज गजुरेल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो भने कार्यक्रमको सञ्चालन साहित्य उत्सवका परिकल्पनाकार समाजसेवी रमेश बरालले गर्नुभएको थियो। उक्त कार्यक्रममा प्रस्तुत “सगरमाथा” शीर्षकको कविताले हिमाललाई केवल हिउँको थुप्रो नभई सभ्यता, संस्कृति र प्रेरणाको प्रतीकका रूपमा चित्रण गरेको थियो।
कविले लेख्नुभएको— “सभ्यता र संस्कृतिको देखिजान्ने ज्यूँदो साक्षी नेपाललाई चिनाउने नेपालीको प्यारो साथी।” भन्ने हरफले पत्तालेको वातावरणलाई भावुक बनाएको थियो। त्यसैगरी— “गरि खाने श्रमिकको पेट भर्ने मानो रैछ साँच्चै हजुर सगरमाथा संसारको छानो रैछ…” भन्ने पंक्ति सुन्नासाथ सहभागीहरूले लामो समयसम्म ताली बजाएर कविलाई सम्मान प्रकट गरेका थिए। हिमालको काखमा कविता सुन्दै गर्दा सहभागीहरूले सगरमाथाले आफ्नै मौनताभित्र शब्दहरूलाई अँगालिरहेको अनुभूति गरेका थिए।
प्रकृतिको विशालता र कविताको गहिराइ एकसाथ मिसिँदा यात्रा केवल पदयात्रा नभई आत्माको गुन्जन बोकेको साहित्यिक यात्रामा रूपान्तरण भएको उनीहरूको अनुभव थियो। साहस, साहित्य, प्रकृति र नेपाली आत्माको अनुपम संगम बनेको “सगरमाथा दर्शन पदयात्रा–२०८३” ले हिमालसँगै नेपाली कविताको उचाइ पनि संसारसामु चिनाएको सहभागीहरूको विश्वास छ।
हिमालयन गाइड्स नेपाल ट्रेक्स एण्ड एक्सपीडिशन प्रा.लि. को मुख्य प्रायोजनमा सम्पन्न उक्त कार्यक्रममा नेपाली सहभागीहरूलाई स्वदेशकै पर्यटकीय गन्तव्यतर्फ आकर्षित गर्ने उद्देश्य रहेको कम्पनीका प्रवन्ध निर्देशक ईश्वरी पौडेलले बताउनुभयो।
त्यसैगरी साहित्यमार्फत पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यका साथ आगामी दिनमा अन्य पर्यटकीय क्षेत्रमा समेत यस्ता कार्यक्रमलाई निरन्तरता दिइने साहित्य उत्सवका परिकल्पनाकार रमेश बरालले जानकारी दिनुभयो।
कार्यक्रम कैलाश हेलिकोप्टर सर्भिसेज, सेलेन हस्पिटालिटी, रेडियो ताप्लेजुङ, रेडियो तमोर लगायत पर्यटन तथा सञ्चार क्षेत्रमा सक्रिय विभिन्न संघसंस्था र स्थानीय निकायहरूको सहयोगमा सम्पन्न भएको थियो।











प्रतिक्रिया