आईएमएफ तथ्यांक: भारत विश्व अर्थतन्त्रको सूचीमा छैटौं स्थानमा झर्‍यो


काठमाडौं ।

अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांक अनुसार भारत विश्वका ठूला अर्थतन्त्रहरूको सूचीमा छैटौं स्थानमा झरेको छ । अघिल्लो वर्ष चौथो स्थानमा रहेको भारत यसपटक अमेरिकी डलरमा गणना गरिएको कुल गार्हस्थ उत्पादन (जीडीपी)का आधारमा दुई स्थान तल झरेको हो ।
विश्लेषकहरूका अनुसार अमेरिकी डलरको मजबुती, भारतीय रुपैयाँको अवमूल्यन तथा जीडीपी गणनाको आधार वर्ष संशोधनजस्ता कारणले भारतको स्थानमा गिरावट आएको हो ।

आईएमएफको तथ्यांक अनुसार हाल अमेरिका, चीन, जर्मनी, जापान र बेलायत भारतभन्दा अगाडि रहेका छन् । अमेरिका करिब ३१० खर्ब अमेरिकी डलरको जीडीपीसहित पहिलो स्थानमा छ भने चीन करिब २०० खर्ब डलरसहित दोस्रो स्थानमा रहेको छ । त्यसैगरी जर्मनी (करिब ५० खर्ब डलर), जापान (करिब ४४ खर्ब डलर) र बेलायत (करिब ४३ खर्ब डलर) क्रमशः तेस्रो, चौथो र पाँचौँ स्थानमा छन् ।

सन् २०२२ को सेप्टेम्बरमा भारतले बेलायतलाई उछिन्दै विश्वको पाँचौं ठूलो अर्थतन्त्र बनेको थियो। पछि जर्मनी र जापानलाई पनि उछिनेको अनुमान गरिए पनि पछिल्लो तथ्यांकले पुनः स्थिति परिवर्तन भएको देखाएको छ । शीर्ष १० अर्थतन्त्रमा फ्रान्स, इटाली, क्यानडा र ब्राजिल पनि समावेश छन् । प्रतिव्यक्ति आयका आधारमा भने लक्जेम्बर्ग, आयरल्यान्ड, स्वीजरल्यान्ड, आइसल्यान्ड र सिंगापुरजस्ता देश अग्रस्थानमा छन् ।

आईएमएफले विश्व अर्थतन्त्रको वृद्धिदर असमान रहेको उल्लेख गर्दै भू–राजनीतिक तनाव, मुद्रास्फीति र कडा वित्तीय अवस्थाका कारण जोखिम बढेको चेतावनी दिएको छ । सन् २०२६ मा विश्व आर्थिक वृद्धिदर करिब ३.१ प्रतिशत रहने अनुमान गरिएको छ । नेपालका सन्दर्भमा आईएमएफले अर्थतन्त्र करिब ४६ अर्ब अमेरिकी डलर हाराहारी रहने तथा आर्थिक वृद्धि करिब ३ प्रतिशत रहने प्रक्षेपण गरेको छ । प्रतिव्यक्ति आय करिब १,५५० अमेरिकी डलर रहने अनुमान गरिएको छ ।