सिर्जना हत्या प्रकरणमा आफन्त पक्राउ

2.26k
Shares

पोखरा ।

पोखरामा सम्पत्तिका लागि भएको सिर्जना केसी हत्या प्रकरणमा थप दुईजना आफन्त पक्राउ परेका छन् । पक्राउ पर्नेमा उनका आफन्त वसन्त केसी र नवराज पौडेल रहेका छन् । प्रहरीले यसअघि दुईजनालाई पक्राउ गरेको थियो । खुँडा प्रहार गर्ने उनका भान्जा शिशिर केसी र कुशल परियारलाई पक्राउ गरेको थियो ।

पोखरा–५ मालेपाटन घर भई पोखरा–१८ सेदी बस्दै आएकी ४२ वर्षीया सिर्जना केसीमाथि गत चैत २५ गते राति सवा ७ बजे व्यस्त बजार सभागृहचोकको नजिक खुँडा प्रहार भएको थियो । अचेत भई लडेकी उनलाई नजिकैको गण्डकी मेडिकल कलेजमा उपचारका लागि लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
घटनाको २४ घण्टापश्चात् प्रहरीले दुईजनालाई पक्राउ गरेको थियो । सम्पत्तिको विषयलाई लिएर पारिवारिक द्वन्द्वको कारण उनीमाथि प्रहार भएको थियो । जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरिबहादुर बस्नेतले प्रहरीले सूक्ष्म अनुसन्धान गर्दै जाँदा थप दुईजना पक्राउ गरेको जानकारी दिनुभयो । उहाँका अनुसार वसन्त सिर्जनाकै भान्जा हुन् भने नवराज ज्वाइँ ।

दुवै आफन्त सिर्जनाको सौतेनीतर्फका हुन् । सिर्जना कृष्ण क्षत्रीको दोस्री श्रीमती हुन् । पहिलो श्रीमतीको मृत्युपछि कृष्णले दोस्रो विवाह गरेका थिए । उनले सिर्जनालाई सेदीमा घर बनाइदिएका थिए । तर कृष्णको मृत्युपश्चात् परिवारले पहिलो श्रीमतीको छोराको नाममा सम्पत्ति दिनुपर्ने भन्दै सिर्जनालाई दबाब दिँदै आइरहेका र त्यही कारण उनीहरुमा विवाद बढेको थियो ।