घरेलु तनाव र सम्बन्धको संवेदनशील पाटोलाई केन्द्रमा राख्दै निर्माण गरिएको फिल्म परालको आगोको राजधानीमा आयोजित एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ।
आगामी शुक्रवार रिलिज हुने फिल्मको सार्वजनिक ट्रेलरले एकातिर दाम्पत्य जीवनभित्रको द्वन्द्व र हिंसालाई चित्रण गरेको छ भने अर्कोतर्फ छिमेकीबीचको आत्मीय सम्बन्धलाई पनि समानान्तर रूपमा प्रस्तुत गरेको छ। मुख्य पात्रका रूपमा देखिएका प्रकाश सपुत र सुहाना थापाबीचको घरझगडा, टकराव र त्यसपछि उत्पन्न हुने भावनात्मक अवस्थाले कथालाई गहिराइ दिएको छ।
ट्रेलरमा श्रीमतीमाथि कुटपिट गरेपछि उनलाई खोज्दै हिँड्ने पात्रको यात्रा मार्मिक ढंगले देखाइएको छ, जसले दर्शकलाई भावुक बनाउ“छ। छिमेकीको भूमिकामा रहेका सौगात मल्ल र सिर्जना अधिकारीको सम्बन्ध भने सन्तुलित र आत्मीय देखिन्छ। ट्रेलरले एकै समाजभित्र रहेका फरक–फरक सम्बन्धको यथार्थलाई सशक्त रूपमा उजागर गर्ने प्रयास गरेको छ।
निर्देशक लक्ष्मण सुनारले फिल्ममार्फत ग्रामीण परिवेश, पारिवारिक सम्बन्ध तथा समाजभित्र लुकेका मनोवैज्ञानिक र भावनात्मक संघर्षलाई उठान गर्ने कोसिस गरेका छन्। ट्रेलरमा देखिएको आगोको झिल्को र अँध्यारो पृष्ठभूमिले कथालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्दै रहस्यमय स्वाद थपेको छ।
फिल्ममा सौगात मल्ल, प्रकाश सपूत, सुहाना थापा, सिर्जना अधिकारी, किशोर भण्डारी, ज्याक श्रेष्ठ, सरिता भण्डारी, रेणु न्यौपाने, बाल कलाकार मञ्जिला बानियाँलगायतका कलाकारले अभिनय गरेका छन्।
हरि ॐ सिने मेकर्स प्रालिको ब्यानरमा सुशील पोखरेलद्वारा निर्मित फिल्ममा कथा र पटकथा सुशील देवकोटा, नृत्य निर्देशन रामजी लामिछाने, शब्द रचना मनबहादुर मुखिया, सुरेन्द्र राना र प्रकाश सपूत, संगीत शान्ती ठटाल, सत्य–स्वरूप र प्रकाश सपूत, पाश्र्व संगीत किरण तुलाधर, छायाँकन संकल्प भुजेल, रङ संयोजन कनाल कुँवर, भिएफएक्स समिर मिया र सत्यम् राना तथा सम्पादन मिलन श्रेष्ठको रहेको छ।
साहित्यकार गुरुप्रसाद मैनालीको नासो नामक कथासंग्रहमा समावेश परालको आगो कथामा आधारित रहेर यसअघि करिब ४५ वर्षअघि निर्देशक प्रताप सुब्बाले परालको आगो नाममा नै फिल्म बनाएका थिए।











प्रतिक्रिया