रौतहटमा सार्वजनिक जग्गा अतिक्रमण हटाइयो, दुई घर भत्काइयो

1.97k
Shares

रौतहट ।

रौतहटको बृन्दाबन नगरपालिकाले आफनो क्षेत्रभित्रको जग्गा अतिक्रमण गरेर वर्षौंदेखि बसोबास गर्दै आएका दुई जनाको घर शुक्रबार भत्काएर खाली गराएको छ । नगरपालिकाको निर्माणाधिन प्रशासनिक भवन निर्माणमा अवरोध पुगेपछि अतिक्रमति दुई घर भत्काएको जनाइएको छ ।

उक्त क्षेत्रमा नगरपालिकाले आधुनिक सुबिधा सम्पन्न प्रशासनिक भबन निर्माण गर्ने छ । यसको लागि सिपी यतिआलम जेभीले ६ करोड ४६ लाख ५५ हजार ५ सय ५५ रुपैयामा निमार्णको लागि सकार गरेको हो । स्थानीय शैनुल नट र राम बिनय ठाकुरले अतिक्रमण गरेको २ कटठा जमिन खाली गराएसंगै नगरपालिका संग ८ कटठा जमिन हुने जनाइएको छ । नगरपालिकाले पटक–पटक सूचना जारी गरे पनि अटेर गरेपछि चैत १ गते जनप्रतिनिधि, कर्मचारी र स्थानीयबीच भएको छलफलमा चैत १० गतेभित्र घर हटाउने सहमति भएको थियो ।

तर सहमति विपरीत उनीहरूले चैत १८ गते जिल्ला अदालत गौरमा मुद्दा दायर गरेका थिए। त्यसपछि अदालतले नगरपालिकाको नाममा निषेधाज्ञा जारी गरेको थियो। पछि चैत २५ गते अदालतले जाहेरवालाको मुद्दा खारेज गरेपछि शुक्रबार प्रहरी प्रशासनको उपस्थितिमा घर भत्काइएको हो। बृन्दाबन नगरपालिका वडा नं. २ का अध्यक्ष सिकेन्द्र पटेलका अनुसार उक्त स्थानमा अब नगरपालिकाको प्रशासनिक भवन निर्माण गरिनेछ। नगरपालिकासँग ८ कठ्ठा जग्गा भए पनि अतिक्रमणका कारण काम अगाडि बढ्न सकेको थिएन । नगरप्रमुख बिनोद पटेलले बारम्बारको आग्रह बेवास्ता भएपछि बाध्य भएर घर भत्काउनुपरेको बताएका छन् ।