पश्चिमी प्रदेशहरूमा आकस्मिक बाढीको सम्भावना, साना नदीहरूमा बहाव बढ्ने


काठमाडौं ।

सुदूरपश्चिम, कर्णाली, र लुम्बिनी प्रदेशका पश्चिमी भूभागमा पश्चिमी वायुको प्रभाव देखिएको छ भने अन्य स्थानहरूमा कमजोर मनसुनी प्रणाली सक्रिय छ। अहिले कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार जुम्ला, मुगु, डोल्पा, हुम्ला, बझाङ, दार्चुलालगायत क्षेत्रमा साना नदीहरूमा बहाव सामान्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको उच्च सम्भावना रहेको छ। यस्तै, काठमाडौँ उपत्यका, ललितपुर, भक्तपुर, मकवानपुर,रसुवा,चितवन, बाँके, बाजुरा, डोटी लगायतका केही जिल्लामा पनि मध्यम जोखिम रहने पूर्वानुमान गरिएको छ।

हाल कोशी, नारायणी, कर्णाली, महाकाली लगायत प्रमुख नदीहरूको बहाव सतर्कता तहभन्दा तल छ। यद्यपि, लगातार वर्षा भए आकस्मिक बाढीको सम्भावना बढ्न सक्ने भन्दै सतर्क रहन आग्रह गरिएको छ।