नेपालमा छोटो–छोटो समयमा धेरै परिवर्तनहरु भए । केही दशकअगाडिसम्म मनमा सोच्दा र कल्पना गर्दासमेत असम्भवजस्तो लाग्ने परिवर्तन भएर छाडे । देशमा गणतन्त्र आयो, एकात्मकबाट संघीय प्रणालीमा पुग्यो । तर ‘लङ्का गए पनि शङ्का सँगै’ भनेजस्तै नेपाली समाजमा जति समय र युगहरु बित्दै गए तापनि इतिहासको कुनै युगमा कुनै प्रयोजनका लागि कसैले सिर्जना गरिदिएको मान्छे–मान्छेबीचको भिन्नता अझै जरा गाडेर बसेको छ । मानव समुदायलाई चिरा–चिरा पारी विभाजन गरिएको तहगत एवं श्रेणीगत जात व्यवस्थाको संरचनारुपी चट्टानी रुप अझै तोडिन सकेको छैन ।
यो झन्–झन् व्यवस्थित भएर जब्बर बनी बसेको छ । यहाँ विभेद, दमन र अत्याचारका स्वरुप मात्र फेरिएका छन्, सारमा त्यो चट्टानी रुप जहाँको त्यहीँ र जस्ताको त्यस्तै छ ।समय, परिस्थिति र प्रविधिको विकासले गर्दा बीसको उन्नाइस भयो होला, घटोत्तरी भएकै छैन । अब त झन्–झन् समाजमा चिनिएका राष्ट्रिय पहिचान बनाएका व्यक्तिले समेत ‘हो, म श्रेणीगत जात व्यवस्था मान्छु, यो जात भनेको यही हो, त्यो जात भनेको त्यही हो’ भनी कुर्लिनसम्म थालेका छन् । उनीहरु तोकेबमोजिमको आ–आफ्नो श्रेणीको जातअनुसारको काम, कर्तव्य, अधिकारको प्रयोग गरी त्यही हैसियतमा बस्नुपर्छ भन्ने कुविचारले ग्रसित छन् ।
आजको यो एक्काइसौं शताब्दी ! मानव चेतना, ज्ञान–विज्ञानका उच्चतम विकासको यो युगमा हामी यस श्रेणीगत जातीय संरचनालाई स्वीकार गर्दैनौं भन्नु नै दलित बनाइएको समुदायको प्रमुख ‘अपराध’ हो । यही ‘अपराध’ गरेका कारण नेपाली समाजमा क्रुर र आङ नै जिरिङ्ग हुने हिंसाका घटना बढिरहेका छन्, यो समुदायमाथि ।यहाँ एक किसिमका गैरदलित समुदायले ‘तिमीहरु त्यहीँ बस्नुपर्छ’ भन्ने सोच राख्छन् । दलित बनाइएको समुदायको भनाइ छ, ‘हैन, हामी अन्यायमा परेर यहाँ बस्न चाहनौं । तिमीहरु गलत गरिराखेका छौं । अब त अति भयो, हामी यहाँ बस्न सक्दैनौं र चाहन्नौं । हामीलाई पनि तिमीहरुजस्तै स्वतन्त्र र सम्मानित मान्छे बनेर बाँच्न देऊ । हाम्रो पनि अस्तित्वलाई स्वीकार गर । यो मुलकका हामी पनि रैथाने हौँ । यो देश बनाउनुमा हाम्रो रगत–पसिना मात्र हैन, मौलिक प्रविधि र कलाको पनि योगदान छ ।’
दबाएर, दलेर दलित बनाइएको हो यो कथित दलित समुदायलाई । हो, यही सचेतना र अस्वीकारको टकराव नै यो समुदायमाथि हुने जघन्य हिंसाको प्रमुख कारण हो । यस्ता मानवताविरुद्धका हिंसाहरुको विरोध र पीडितको न्यायका पक्षमा सामाजिक सञ्जालमा, टोल–छिमेक र चियापसलमा बसेर गफ गर्नु अनि ऐक्यबद्धता जनाउनु सामान्य कुरा हो । तर सडकमा निस्केर आन्दोलनमा सहभागी हुनु, अझ यस्ता आन्दोलनको नेतृत्व गरी अगाडि बढ्नु, घटनास्थलमा पुगेर पीडितलाई सहारा दिनु, राज्यका निकायहरुमा पुगेर न्याय र क्षतिपूर्तिका लागि ढोका ढकढक्याउनु आफैँमा ठूलो कुरा नै हो । प्रशंसायोग्य काम हो । आफ्ना व्यक्तिगत कामलाई चटक्कै छाडी, यस्ता आन्दोलको नेतृत्व गर्दै कसैको धाकधम्कीको प्रवाह नगरी, कुनै लाभलालच र प्रलोभनमा नफसी निरन्तर डटेर अगाडि बढिरहनु पक्कै पनि महान् कार्य मान्नुपर्छ ।
भनिन्छ, मान्छे परिस्थितिको दास बनिरहन्छ । परिस्थितिले नै उसलाई कहाँबाट कहाँ पुर्याउँछ, तर सफल त्यो व्यक्ति हुन्छ । त्यो माझी हुन्छ, जसले आफ्नो गन्तव्यमा पुग्नका लागि निरन्तर लागिपरिरहन्छ, डुङ्गा खियाइरहन्छ । नदी–तालमा चाहे जस्तोसुकै छाल, हावा, हुरी नै किन नआओस्, सामना गर्दै अगाडि बढ्छ । तब मात्र गन्तव्यमा पुग्छ अर्थात् परिस्थितिको उतारचढावमा आफू चल्ने हैन, परिस्थितिलाई आफ्नो काबुमा राखेर चल्न सक्नु, अगाडि बढ्नु नै सफल व्यक्तिको गुण हो । यहाँ दलित समुदायमाथि हुने घटनाविरुद्ध केन्द्रित आन्दोलका अभियन्ता अथवा त्यस्ता आन्दोलनहरुका नेतृत्व गर्ने नेताहरुलाई हेर्दा उनीहरुको आन्दोलनप्रतिको समर्पण, त्याग र तपस्यामा कुनै कमी देखिँदैन । कमजोरी के भइरहको छ भने, आत्मविश्वासमा कमी । आफ्नो व्यक्तिगत तथा पारिवारिक जिम्मेवारीलाई चटक्कै छाडी एउटा अभियानको अभियन्ता बनेर निस्केको मान्छेले आफू र आफूले उठाएको अभियानको सफलताप्रतिको आत्मविश्वास हुन जरुरी हुन्छ ।
वास्तवमा सही नेतृत्व र अभियन्ताले आफूलाई दियोको ज्योतिजस्तो बनाउन सक्नुपर्दछ, जसरी पालामा बलेको ज्योति आफू जलेर सकिँदै जान्छ र उज्यालो छर्दै जान्छ । नेतृत्व र अभियन्ता भनेको यस्तै ज्योतिजस्तो हुनुपर्दछ ।नेपालमा जनता, जनता भन्दै जनताको नाम जपेर राजनीति गर्नेहरु धेरै छन् । उनीहरुको मुख्य चाहना पैसा, पद, प्रतिष्ठा र शक्ति आर्जन हुने गरेको छ । यसका लागि मात्र राजनीति हुने गरेको देखिन्छ । त्यसैले दलित अभियन्ताहरूले आफू मात्र होइन, आफ्ना सहयोगी सहयात्रीहरूलाई पनि आत्मविश्वासले भर्नुपर्दछ । कथंकदाचित आफूलाई आफ्नो व्यक्तिगत र पारिवारिक जिम्मेवारीले खिच्यो भने पनि त्यसको अलग व्यवस्थापन गरी आफ्नो अभियानलाई निरन्तरता दिनु सफल अभियन्ताको खुबी हो । होइन भने आन्दोलनको नेतृत्व सहज तरिकाले हस्तान्तरण गर्न उचित बन्दोबस्त मिलाउन सक्नुपर्दछ ।
वास्तवमा आजसम्म भइरहेको के छ त ? दलित अभियन्ताहरूको नियति अलिक समय अभियन्ता बनेर डटिरहने अनि राजनीतिक पार्टीहरूका झुट्टा आश्वासन, सपना र प्रयोगवादी नीतिबाट आजित हुने गरेका छन् । ‘जुन जोगी आए पनि कानै चिरेका’ जस्तो व्यवहार भोगेका दलित समुदायलाई यस्ता घटना केन्द्रित आन्दोलनका अगुवाहरू जो प्रत्यक्ष राजनीतिक पार्टीसँग जोडिएका देखिँदैनन्, उनीहरूले आशाको किरण देख्छन् । मन खिचिएको हुन्छ र यसले त केही गर्न लाग्यो भन्ने भरोसा जाग्नु स्वाभाविक पनि हो । यथार्थमा के देखियो भने, दलित बनाइएका समुदायमाथि उसको जातकै कारणले हुने घटना नै अभियन्ताहरूका लागि भाग्योदय चिठ्ठा बन्न गयो ।
त्यस्ता घटना विशेषका विरुद्धको आन्दोलन र विरोधका कार्यक्रमहरूको नेतृत्व गर्दै हिँडेर एउटा पहिचान बनाउने, प्रसिद्धि कमाउने, मिडियामा देखिने, राष्ट्र र परराष्ट्र घुम्ने, पुरस्कारहरू थाप्ने गरेको पनि पाइन्छ । त्यसपछि कि त त्यस्ताआन्दोलनहरुमाथि राजनीतिक पार्टीलाई घोडा चढाइरहने र त्यस पार्टीको नेता होइन दलित भोट बैंकका लागि मार्केटिङ एजेन्ट बनेर बस्ने या त विदेश भासिएर अमेरिका, क्यानडा र युरोपेली देशको नागरिक बनी बस्नसमेत पछि नपर्ने देखिन्छ । स्वतन्त्र अभियान र आन्दोलनलाई आफ्नो दुनो सोझ्याउनका लागि भर्याङ मात्र बनाउने, यस्तै चलेको छ ‘रीत’ ।त्यसैले अब भन्नुपर्दछ, ‘खबरदार खगेन्द्र सुनार !’ हालसम्म तिमीले जे गरेका छौ ठीक गरेका छौ ।
तिम्रो अभियानमा दलित, गैरदलित, न्यायप्रेमी सर्वसाधारण सबैको समर्थन छ । तिमी पनि दीपकजङ्ग विश्वकर्मा नबन, सरु सुनार नबन, तिनै कान चिरेका राजनीतिक पार्टीमा आन्दोलनलाई लगेर बिट नमार, तिमी ‘अभियन्ता खगेन्द्र सुनार’ नै बन । जसरी आत्मविश्वासका साथ निडर भएर बोलेका छौ त्यसै गरी दायाँ–बायाँ नभई अटल भएर अभियानमै लाग । ४५ दिन आफ्नै जीउमा फलामको जन्जिर लगाएर बस्दा तिमी एक्लै थियौ तर यस अभियानको समापनको दिन तिमीसँग दशौं हजारको साथ थियो । अब नथाक, तिमीले लाखौंको साथ पाउनेछौ । अब तिमीले कथंकदाचित् आफ्नो अनुपस्थिति भएमा पनि अभियानलाई अगाडि बढाउन सक्ने उत्तराधिकारी पनि तयार गर, ताकि आन्दोलनले विश्राम नमारीकन निरन्तर अगाडि बढ्न सकोस् । खगेन्द्र ! तिमी खगेन्द्र नै बन, अरु नबन ।
यहाँ जातीय विभेदविरोधी र समावेशिताको झुटो भाषण गरेर नथाक्ने कतिपय राजनीतिक पार्टीहरूभित्र चरम जातिवाद, नश्लवाद, जातीय विभेद र छुवाछूत व्याप्त छ । तिनका नेताहरूका घर–घरमा छुवाछूत र जातीय विभेदको चरित्र यथावत् छँदै छ ।
अब खगेन्द्र सुनार, तिमीले उठाएको दलित आन्दोलनले समाउन लागेको बाटो बीचमै बेवारिसे बनाएर चटक्कै छाड्ने या पुराना कान चिरेका पार्टीमा लागेर आफ्नो अभियान विसर्जन गर्ने गल्ती नगर । तिमीले त दलित मुक्तिको मार्गचित्र कोर्ने माहोलको सिर्जना गर्नुपर्दछ ।शुभकामना छ तिमीलाई !
संसद् भवनभित्र एक्लै भए पनि नेपाल मजदुर किसान पार्टीका प्रेम सुवालले झैँ विदेशी प्रभुहरूका पाउ मोल्ने नेताहरूलाई गालामा झापड हानेजस्तो, स्वतन्त्र सांसद अमरेशकुमार सिंहले भ्रष्ट नेताहरूका मुखमा कालो छ्यापेझैँ तिमीले नश्लवादी र प्रयोगवादी नेताहरूको चरित्र र बालीघरे राजनीतिको परिपाटीलाई संसद् भवनभित्रै पुगेर पर्दाफास गर्नुपर्दछ । दलित समुदायका मुद्दाप्रति असंवेदनशील कर्मचारीतन्त्रलाई संवेदनशील हुने बाध्य पार्नुपर्दछ ।
अब कहिले दलित समुदाय यो देशको मूलधारमा आउने, कहिले सत्ताधारी जातिकै सरहमा पुग्ने ? कहिले छुवाछूत र जातीय विभेदलाई इतिहासका पानामा मात्रै सीमित बनाएर राख्ने, कहिले यो समुदायले सम्मानित जीवन जिउने ? भन्ने यावत् प्रश्नको उत्तर खोज्न तिमीले बाध्य पार्नुपर्दछ खगेन्द्र । तिम्रो कार्यसफलताका लागि शुभकामना खगेन्द्र सुनार !
(विश्वकर्मा ‘राजनीतिक क्रान्तिको ओझेलमा दलित मुक्ति’ पुस्तकका लेखक पनि हुनुहुन्छ ।)
प्रतिक्रिया