लोकप्रिय सांगीतिक समुह कुटुम्ब ब्याण्ड र विभिन्न परम्परागत गुठीको सांगीतिक प्रस्तुतिका साथ आज शुक्रबार राजधानीमा धर्मपथ महोत्सव हुने भएको छ।काठमाडौं महानगरपालिका वडा नं. २३ कार्यालयको आयोजनामा शुक्रबारदेखि न्युरोडस्थित धर्मपथमा महोत्सव हुने भएको हो। स्थानीयहरूले उत्पादन गरेका हस्तकला सामग्रीको प्रवद्र्धन र नेवारी खाजाको ब्रान्डिङ गर्ने उद्देश्यले महोत्सव आयोजना गर्न लागिएको २३ वडा नं. कार्यालयले जानकारी गराएको छ। स्थानीय क्बल र संघसंस्थाको सहभागितामा हुने महोत्सवमा वडाबाट विभिन्न विषयका तालिम प्राप्त महिलाहरूले उत्पादन गरेका विभिन्न सामग्री र नेवारी खानाका स्टल राखिनेछ।
त्यसैगरी किड्स जोन, बाथ रोगसम्बन्धी स्वास्थ्य शिविर समेत सञ्चालन गरिने वडा कार्यालयले जनाएको छ। महोत्सव अवधिभर विभिन्न गुठीको परम्परागत बाजा र कुटुम्ब ब्याण्डले प्रस्तुति दिनेछन्। त्यस अघि काठमाडौं महानगरपालिकाकोे कार्यालयको सांस्कृतिक भवनमा महोत्सवको उद्घाटन गरिने वडाअध्यक्ष मचाराजा महर्जनले जानकारी गराए।
वडाका विभिन्न महिला समुहद्वारा उत्पादित सामग्रीको बिक्री तथा प्रदर्शनी कक्षका रूपमा ओमबहालमा कोशेली घरको सञ्चालनसमेत गरिने छ। महोत्सवबाट पर्यटकीय गन्तव्यको रूपमा परिचित झोछेंलाई धेरै समयसम्म पुनः पर्यटकीय गन्तव्यको रूपमा विकास गर्ने तथा आन्तरिक र बाह्य पर्यटक प्रवद्र्धन गर्न टेवा पुर्याउने विश्वास लिइएको छ।
महोत्सवको आयोजनाको लागि वडाअध्यक्ष मचाराजा महर्जनको संयोजकत्वमा मुल समिति गठन गरिएको छ। महोत्सव शान्ति, सुव्यवस्थाका साथ सम्पन्न गर्न विभिन्न समिति गठन गरिएको छ। शान्तिसुरक्षा तथा ट्राफिक व्यवस्थापन समितिको संयोजकमा गणपतिलाल श्रेष्ठ, स्वयंसेवक परिचालनमा सुसन वैद्य, स्टल व्यवस्थापनमा सजनी महर्जन, सांस्कृतिक तथा सांगीतिक व्यवस्थापनमा बाबुराजा महर्जन, सरसफाईमा कान्छा देउलालाई संयोजक तोकिएको छ।
महोत्सवलाई शार्दँलजंग गुल्म, प्रहरी वृत जनसेवा, ट्राफिक प्रहरी वृत्त जनसेवा, महानगरको प्रहरी बल, सिद्धिगणेश ओपन स्काउट क्यु, रेडक्रस, दमकल र प्रहरी प्रशासनसँग समन्वय गरिएको जनाइएको छ।
प्रतिक्रिया