काठमाडौं ।
सत्तारुढ दल नेकपा एमाले निकट अनेरास्ववियुको २४औं महाधिवेशनमा नेतृत्व चयनका लागि सहमति जुट्न नसकेपछि अन्ततः निर्वाचनको बाटो अख्तियार गरिएको छ । अध्यक्ष पदमा पूर्वनिर्धारित नाम प्रस्तुत गरिएपछि महाधिवेशन हलमा विवाद र नाराबाजी चुलिएपछि निर्वाचन समितिले औपचारिक रूपमा निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।
महाधिवेशनको मुख्य केन्द्रबिन्दु अध्यक्ष पदमा पाँच जना उम्मेदवार मैदानमा उत्रिएका छन् । नेतृत्वमा सुजन कडरियाको नाम सिफारिस भएको घोषणा भएपछि महाधिवेशन हलमा तीव्र असन्तुष्टि व्यक्त गरिएको थियो । विशेषतः एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको समर्थन रहेको भनिएको कडरियाको नाम प्रस्ताव गरिँदा अन्य आकांक्षी पक्षले आपत्ति जनाएका थिए ।
विवाद चुलिएपछि निर्वाचन समितिले महाधिवेशनमा प्रत्यक्ष निर्वाचन प्रक्रिया अपनाउने निर्णयसहित कार्यतालिका सार्वजनिक गरेको हो । सो कार्यतालिका अनुसार, आज अपराह्न ३ देखि ५ बजेसम्म उम्मेदवारी फारम वितरण हुनेछ भने ४ देखि ६ बजेसम्म फारम दर्ता प्रक्रिया सञ्चालन हुनेछ ।
निर्वाचन समितिका अनुसार उम्मेदवारको प्रारम्भिक नामावली आज राति ८ बजेसम्म सार्वजनिक गरिनेछ । मतदान भने भोलि बिहान १० बजेदेखि साँझ ५ बजेसम्मका लागि तय गरिएको छ ।
अध्यक्ष पदमा सुजन कडरिया, दीपक धामी, प्रकाश पौडेल, आरती भट्टराई र अञ्जना सिवाकोटीले दाबी गरेका छन् । महाधिवेशनमा सहमति प्रक्रियाले नेतृत्व चयन गर्न नसकेपछि निर्वाचनमार्फत प्रतिस्पर्धाको वातावरण बनेको हो ।
एमाले अध्यक्ष ओली स्वयंले सर्वसम्मत नेतृत्व चयनका लागि दबाब दिए पनि महाधिवेशन प्रतिनिधिहरूबीच नेतृत्वको विषयमा स्पष्ट मतान्तर देखिएपछि मतदानतर्फ उन्मुख हुनुपरेको हो । यद्यपि निर्वाचन प्रक्रियामा सहभागी हुने अवसर पाएको भन्दै धेरै प्रतिनिधि उत्साहित देखिएका छन् ।
महाधिवेशन कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय परिसरमा जारी छ । यसअघि अनेरास्ववियुको केन्द्रीय नेतृत्वमा लामो समयदेखि एकै गुटको प्रभुत्व रहेको भन्दै आलोचना हुँदै आएको थियो । यो निर्वाचनले संगठनभित्रको लोकतान्त्रिक अभ्यासलाई मजबुत बनाउने अवसरका रूपमा समेत हेरिएको छ।
निर्वाचनले नेतृत्व चयन मात्र नभई अनेरास्ववियुमा गुटगत प्रभाव र सांगठनिक नीति निर्धारणमा व्यापक प्रभाव पार्ने विश्लेषण गरिँदैछ।
प्रतिक्रिया