नारायणगढ ।
नारायणी नदी किनारमा दोस्रो नारायणी महोत्सव आयोजना गर्ने तयारी गरिरहेको रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टले महोत्सव आयोजनालाई लिएर सामाजिक सञ्जालमा भइरहेका टीकाटिप्पणीप्रति आफ्नो धारणा सार्वजनिक गरेको छ। बाढीका कारण अस्तव्यस्त र कुरूप बनेको नारायणी नदी किनारलाई पुनः व्यवस्थित तथा आकर्षक बनाउने उद्देश्यले काम अघि बढाइएको आयोजकले स्पष्ट पारेको छ।
महोत्सव आयोजनाका लागि करिब तीन महिनाअघि नै आवश्यक स्वीकृति लिइसकेको र त्यसपछि आएको बाढीले नदी किनारको स्वरूप नै परिवर्तन गरिदिएपछि अहिले त्यस क्षेत्रको सरसफाइ, व्यवस्थापन र सौन्दर्यीकरणमा जुटेको आयोजकको भनाइ छ। निजी क्षेत्रको लगानी र श्रम प्रयोग गरेर सार्वजनिक प्रयोजनमा रहेको नदी किनारलाई व्यवस्थित गर्न खोजिएको विषयलाई गलत ढङ्गले व्याख्या नगर्न पनि संस्थाले आग्रह गरेको छ।
रेड रक इभेन्ट्स एण्ड म्यानेजमेन्टका अध्यक्ष विकल क्षेत्रीले नदी किनारको व्यवस्थापनमा मात्रै ५० देखि ६० लाख रुपैयाँसम्म खर्च हुने अवस्था रहेको बताए। सार्वजनिक रूपमा सबैले प्रयोग गर्ने नदी किनारलाई व्यवस्थित बनाउन निजी संस्थाले लगानी र श्रम परिचालन गर्दा सहयोग र सहकार्यको वातावरण बन्नुपर्नेमा उल्टै आरोप–प्रत्यारोप र विरोध हुनु दुःखद भएको उनको भनाइ छ।
उनले महोत्सव आयोजना गर्नु मात्रै संस्थाको उद्देश्य नभएको स्पष्ट पार्दै नारायणी किनारलाई व्यवस्थित, सुरक्षित र सुन्दर बनाउने प्रयाससमेत यससँग जोडिएको बताए। बाढीले क्षति पुर्याएको क्षेत्रलाई पुरानै अवस्थामा फर्काउने मात्र नभई दीर्घकालीन रूपमा व्यवस्थित बनाउने सोचका साथ काम अघि बढाइएको उनले जानकारी दिए।
क्षेत्रीले नारायणी नदीलाई केवल बगरका रूपमा हेर्ने प्रवृत्तिभन्दा माथि उठेर यसलाई सुरक्षित, व्यवस्थित र पर्यटकीय आकर्षणको केन्द्रका रूपमा विकास गर्नुपर्नेमा जोड दिए। यसका लागि स्थानीय तह, सरोकारवाला निकाय, व्यवसायी र नागरिक समाजबीच सहकार्य आवश्यक रहेको उनको भनाइ छ।
उनका अनुसार नारायणी नदी किनारको व्यवस्थापनलाई एउटा महोत्सव वा निश्चित समयको कार्यक्रमसँग मात्रै जोडेर हेर्नु उचित हुँदैन। नदीको दीर्घकालीन व्यवस्थापन, मजुवाको समस्या, नारायणगढ बजारमा बाढीबाट उत्पन्न हुने जोखिम, नगरवनको संरक्षण तथा चितवनको समग्र पर्यटन प्रवर्द्धनजस्ता विषयलाई एकीकृत रूपमा अघि बढाउन आवश्यक छ।
नारायणी नदी चितवनको प्राकृतिक सम्पदा मात्र नभई जिल्लाको पर्यटन, व्यापार र पहिचानसँग जोडिएको महत्वपूर्ण क्षेत्र भएकाले यसको संरक्षण र सदुपयोगमा सबै पक्षको ध्यान जानुपर्ने उनले बताए। नदी किनारलाई व्यवस्थित बनाउने अभियानमा संस्थाले आफ्नो तर्फबाट सहयोग र लगानी गर्न खोजेको भन्दै यसलाई सकारात्मक रूपमा लिन उनले आग्रह गरे।
आयोजकले नदी किनारको व्यवस्थापनका क्रममा हुने खर्च र श्रमलाई महोत्सवको व्यावसायिक उद्देश्यसँग मात्र जोडेर नहेर्न आग्रह गरेको छ। सार्वजनिक क्षेत्रको सुधार र सौन्दर्यीकरणमा निजी क्षेत्रको सहभागितालाई प्रोत्साहन गर्नुपर्ने उसको धारणा छ।
नारायणी किनारलाई व्यवस्थित र पर्यटकीय गन्तव्यका रूपमा विकास गर्ने विषयमा स्थानीयस्तरमा लामो समयदेखि चर्चा हुँदै आए पनि बाढी, संरक्षण र व्यवस्थापनका चुनौती कायमै छन्। यस्तो अवस्थामा महोत्सवको तयारीसँगै अघि सारिएको व्यवस्थापनको योजनाले नदी किनारको दीर्घकालीन विकासमा कस्तो योगदान पुर्याउँछ भन्ने विषय भने कार्यान्वयनपछि स्पष्ट हुनेछ।











प्रतिक्रिया