दमौली।
तनहुँको आँबुखैरेनी गाउँपालिका–२ बरादीस्थित पृथ्वी राजमार्गमा हाइस दुर्घटना हुँदा ११ जना घाइते भएका छन्।
आइतबार साँझ करिब ७:१५ बजे मुग्लिङबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ८४१९ नम्बरको हाइस चालकले नियन्त्रण गुमाउँदा सडक डाइभर्सनका लागि राखिएको सिमेन्टेड डिभाइडरमा ठोक्किएर दुर्घटना भएको हो।
दुर्घटनामा हाइस चालकसहित ११ जना घाइते भएका छन्। घाइतेमध्ये ७ जनाको अवस्था मध्यम र ४ जनाको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ।
घाइते हुनेमा हाइस चालक स्याङ्जाको पुतलीबजार नगरपालिका–१ निवासी ३७ वर्षीय भद्रबहादुर शाह, कास्की पोखरा महानगरपालिका–७ की ६३ वर्षीया राधादेवी बराल, सोही स्थानका ७३ वर्षीय लिलाधर बराल, पर्साको सखुवा पर्सौनी गाउँपालिका–६ घर भई हाल बन्दीपुर गाउँपालिका–१ डुम्रे बस्ने ३५ वर्षीया सपना चौधरी रहेका छन्।
त्यस्तै, पोखरा महानगरपालिका–१३ माझपाटनकी ७३ वर्षीया चुनकुमारी गुरुङ, ४९ वर्षीया राधा गुरुङ, सोही महानगरपालिका–३२ का ३७ वर्षीय राजकुमार श्रेष्ठ, बागलुङको बडिगाड गाउँपालिका–७ की २५ वर्षीया बिपिना विक, महोत्तरीको बलवा नगरपालिका–७ का ३६ वर्षीय रुपेश मिश्र, तनहुँको व्यास नगरपालिका–१ का २३ वर्षीय विकास ठकुरी र बन्दीपुर गाउँपालिका–२ की २८ वर्षीया सिर्जना अछामी घाइते भएका छन्।
घाइते सबैलाई उपचारका लागि आँबुखैरेनी अस्पताल, तनहुँ पठाइएको छ। दुर्घटनामा परेको हाइस घटनास्थलमै रहेको र सडकमा कुनै अवरोध नभएको प्रहरीले जनाएको छ।











प्रतिक्रिया