जनकपुरको विजयी यात्रा जारी, पोखरा फेरि निराश


काठमाडौँ।

नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत जनकपुर बोल्ट्सले पोखरा एभेन्जर्सलाई ९ रनले पराजित गर्दै प्रतियोगितामा दोस्रो जित हात पारेको छ। आइतबार त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको प्रतिस्पर्धात्मक खेलमा पोखरा भने लगातार दोस्रो हार बेहोर्न बाध्य भयो।

जनकपुरले प्रस्तुत गरेको १४८ रनको लक्ष्य पछ्याएको पोखराले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १३८ रन मात्रै बनाउन सक्यो। अन्तिमसम्म जितका लागि प्रयास गरे पनि पोखराले लक्ष्य भेट्टाउन सकेन।

पोखराका लागि कप्तान कुशल भुर्तेलले २४ बलमा ५ चौकासहित ३५ रन बनाए। त्यस्तै बिपिन आचार्यले २०, अविजित रहेका बिपिन खत्रीले १७ तथा किरण ठगुन्नाले १५ रनको योगदान दिए।

जनकपुरको जितमा बलर मोइन अली निर्णायक बने। उनले उत्कृष्ट प्रदर्शन गर्दै ४ ओभरमा १३ रन खर्चिएर ३ विकेट लिए। कप्तान हरमित सिंह र सैफ हसनले समान २ विकेट हात पार्दा जिमी निसम र ललित राजवंशीले एक–एक विकेट लिए।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको जनकपुरले २० ओभरमा ७ विकेट गुमाउँदै १४७ रन बनाएको थियो। टोलीका लागि त्रितराज दासले सर्वाधिक ६१ रनको योगदान दिए। उनले ५५ बलमा ७ चौका र २ छक्का प्रहार गरे।

त्यसैगरी मोइन अलीले १६ बलमा २१ रन बनाउँदा अभिषेक तिवारीले केवल १० बलमा अविजित २४ रन जोड्दै टोलीको स्कोर बढाएका थिए।

पोखराका बलरमध्ये शाकिब अल हसनले सर्वाधिक ३ विकेट लिए। उनले ४ ओभरमा १५ रन मात्रै खर्चिए। चमिका करुणारत्नेले २ तथा महेदी हसन र मोहम्मद सैफुद्दिनले समान एक विकेट लिए।

यस जितसँगै जनकपुरले जारी प्रतियोगितामा आफ्नो जितको संख्या दुई पुर्‍याएको छ। यसअघि उसले काठमाडौं गोर्खाजलाई ८ विकेटले हराएको थियो। उता पोखराले भने पहिलो खेलमा सुदूरपश्चिम रोयल्ससँग ६ विकेटको हार बेहोरेको थियो।