सर्प प्रकृतिको महत्वपूर्ण हिस्सा हो जसले पर्यावरणको सन्तुलन कायम गर्न मद्दत गर्छ । तर, विशेषगरी गर्मी र वर्षायाममा (वैशाखदेखि भदौसम्म), सर्पदंशका घटना तीव्र रूपमा बढ्ने गर्छन्, जुन मानव स्वास्थ्यका लागि गम्भीर चुनौती बन्ने गरेको छ । नेपाल र भारतको तराई क्षेत्रमा यस्ता घटनाहरू धेरै देखिन्छन् । नेपालमा करिब ९० प्रजातिका सर्प पाइन्छन्, जसमध्ये २० प्रजाति विषालु हुन्छन् । गोमन, करेत, रसेल्स भाइपर र स–स्केल्ड भाइपर जस्ता सर्पहरू मानिसलाई बढी डस्ने प्रजातिहरू हुन् ।
नेपालमा वार्षिक करिब ४० हजार मानिस सर्पदंशबाट प्रभावित हुने गरेको तथ्यांकले देखाउँछ, जसमा लगभग १० प्रतिशतको मृत्यु विषालु सर्पको टोकाइबाट हुने गरेको छ । भारतमा त यो संख्या झनै बढी छ । विश्व स्वास्थ्य संगठनका अनुसार, हरेक वर्ष ५४ लाख मानिस सर्पदंशबाट प्रभावित हुन्छन् र ८१ हजारदेखि १ लाख ३८ हजारसम्मको मृत्यु हुने गरेको छ । गर्मी र वर्षायाममा सर्पहरू आफ्नो आहार (मुसा, भ्यागुता, कीरा आदि) खोज्दै मानव बस्ती नजिक आउँछन् । विशेषतः करेत सर्प रातको समयमा घरभित्र छिर्छ र सुतेका मानिसलाई टोक्ने गर्छ, जुन नेपाल र भारतको तराई क्षेत्रमा ठूलो समस्या बनिरहेको छ ।
सर्पले टोकेको बेला के गर्ने ?
सर्पदंशको सही र समयमै उपचार नै जीवन बचाउने मुख्य उपाय हो । निम्न प्राथमिक उपचारको उपायहरू अपनाउनुपर्छ
-बिरामीलाई शान्त राख्ने । डर र तनावले विरामीको अवस्था झन् खराब हुन सक्छ । मनोबल बढाउने प्रयास गर्नुपर्छ ।
-टोकेको अंगलाई स्थिर राख्ने । हिँडडुल नगर्ने, हातखुट्टा कम चलाउने । सकेसम्म स्लिङ वा स्प्लिन्टले स्थिर राख्ने ।
-हल्का प्रेशर ब्यान्डेज बाँध्ने । विशेषगरी करेत वा गोमनको टोकाइमा विष फैलिन नदिन हल्का दवाबसहितको ब्यान्डेज बाँध्न सकिन्छ । तर, धेरै कसिलो बाँध्नु हुँदैन ।
-शीघ्र अस्पताल लैजाने । सर्पदंशपछि पहिलो घण्टा ‘सुनौलो घन्टा’ हो । यस समयमा उपचार सुरु भए बिरामीको ज्यान बच्ने सम्भावना धेरै हुन्छ । नेपालका स्वास्थ्य केन्द्रहरूमा निःशुल्क एन्टि–स्नेक भेनम (एसएसभी) उपलब्ध हुन्छ ।
-सर्पको पहिचान गर्ने प्रयास गर्ने । सर्पको पहिचानले उपचारमा मद्दत गर्छ । तर, यसका लागि अनावश्यक जोखिम लिनु भने हुँदैन ।

सर्पले टोकेको बेला के नगर्ने ?
गलत उपाय अपनाउँदा सर्पदंश झनै घातक बन्न सक्छ । त्यसैले निम्न कार्यहरू गर्न हुँदैन:
-टोकेको ठाउँ काट्ने वा चुस्ने गर्नु हँुदैन । यस्तो गर्दा विष अझ छिटो फैलिन सक्छ ।
-धामी–झाँक्रीमा भर नपर्ने । झारफुक, जडीबुटी वा ढुंगाजस्ता परम्परागत विधिहरू प्रभावकारी हँुदैन र बिरामीको ज्यान जोखिममा पर्न सक्छ ।
-तातो÷चिसो वा रसायन प्रयोग नगर्ने । टोकेको स्थानमा कुनै पनि किसिमको रसायन, मलम, तातो÷चिसो पानी प्रयोग गर्नु हानिकारक हुन्छ ।
-धेरै कसिलो ब्यान्डेज नबाँध्ने । अत्यधिक दवाबले रक्तसञ्चार रोकिन सक्छ र अंग मर्ने खतरा हुन्छ ।
-बिरामीलाई खाना वा पेय पदार्थ नदिने । उपचार सुरु नभएसम्म केही नखुवाउनु उचित हुन्छ ।
नेपालमा सर्पदंश रोकथामका उपायहरू
विशेषगरी गर्मी र वर्षायाममा सर्पको सक्रियता बढ्ने भएकाले निम्न सावधानी अपनाउनु अत्यन्त आवश्यक हुन्छ:
-घर वरिपरि सफाइ राख्ने, झाडी, पातको थुप्रो, ढुंगा आदि हटाउने ।
-झूलको प्रयोग गर्ने, राति सुत्दा झूल अनिवार्य प्रयोग गर्ने ।
-उज्यालो प्रयोग गर्ने, रातमा बाहिर निस्कँदा टर्च वा बत्ती अनिवार्य प्रयोग गर्ने ।
-सुरक्षित लुगा लगाउने, खेतबारी वा झाडी क्षेत्रमा काम गर्दा बुट र शरीर ढाक्ने लुगा लगाउने ।
-बालबालिकालाई सचेत गराउने, सर्प हुन सक्ने स्थानमा हात नहाल्न सिकाउने र सर्प देखेमा वा टोकेको खण्डमा तुरुन्त जानकारी दिन सिकाउने ।
सर्प प्राकृतिक रूपमा खतरनाक नभए पनि यदि असुरक्षित महसुस गरेमा आत्मरक्षाको लागि टोक्न सक्छन् । गर्मी र वर्षायाममा विशेष सतर्कता, जनचेतना, र समयमै उपचारले सर्पदंशबाट हुने मृत्यु र पीडालाई उल्लेखनीय रूपमा घटाउन सकिन्छ । सतर्कता अपनाए र भय हटाएर सर्पसँग सहजीवनको अभ्यास गर्नु आवश्यक छ ।
(विशेषज्ञको सहयोगमा)
प्रतिक्रिया