नेपाल महिला टोली टी-२० विश्वकपको ग्लोबल छनोटमा


काठमाडौं ।

थाइल्याण्डमा जारी आइसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर थ्री चरणमा नेपालले संयुक्त अरब इमिरेट्स (यूएई) लाई ५ विकेटले पराजित गर्दै ग्लोबल छनोट चरणमा स्थान बनाएको छ । यो जितले नेपाली महिला क्रिकेट टोलीले ऐतिहासिक सफलता हासिल गरेको छ, किनकि नेपाल पहिलो पटक ग्लोबल छनोटमा पुगेको हो ।

टेरथाई क्रिकेट ग्राउण्डमा भएको खेलमा यूएईले टस जितेर ब्याटिङ गर्दै ११४ रन बनाएको थियो । जवाफमा नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पूरा गरेको हो । कप्तान इन्दु बर्माको नेतृत्वमा नेपाली टोलीले उत्कृष्ट प्रदर्शन गर्‍यो । बलिङ र ब्याटिङ दुवैमा नेपालले संयमित र रणनीतिक खेल देखायो । यो जितले नेपालको विश्वकप यात्रालाई थप बलियो बनाएको छ ।

एसिया क्षेत्र छनोटबाट नेपालसँगै थाइल्यान्डले ग्लोबल छनोटमा स्थान बनाएका हुन् । लगातार दुई खेलमा हार भोगेको यूएई सुपर थ्रीबाट नै बाहिरिएको छ । यूएई पहिलो खेलमा थाइल्यान्डसँग ५४ रनले पराजित भएको थियो ।

नेपालका लागि कप्तान इन्दु वर्मा २९ रनमा अविजित रहिन् । उनले २७ बलमा २ चौका प्रहार गरिन् । रुवि पोद्दार ६ रनमा नटआउट रहिन् । ओपनर सम्झना खड्काले २१ रन बनाउँदै सुरक्षा कोटेको बलमा कट एन्ड बोल्ड भइन् । रुविना क्षेत्री २३ रन बनाउँदा ईशा ओझाको बलमा क्याच आउट हुन पुगिन् ।

पूजा महतो १३ रन बनाउँदै पेभेलियन फर्किइन्। राजमती ऐरीले ८ तथा कविता कुँवरले ५ रन थपे ।

यूएईका लागि ओपनर तथा कप्तान ईशा ओजाले सर्वाधिक ३९ रन बनाउँदै क्याच आउट भइन्। विकेटकिपर तिथा सतिसले २१ रन बनाउँदै आउट भइन्। लावन्या केनीले १२ रन बनाउँदै आउट भइन्। हिना होट्चान्दानीले २० रन थपिन् ।

नेपालका लागि मनिषा उपाध्यायले ४ विकेट लिइन् । मनिषाले आफ्नो स्पेलमा मात्र २० रन दिइन् । कविता कुँवरले दुई विकेट लिइन्। कविताले अन्तिम ओभरमा २ विकेट लिँदै यूएईलाई रोकेकी हुन् । राजमती ऐरीले एक विकेट आफ्नो नाममा गरिन् । दोस्रो खेलमा नेपालले थाइल्यान्डविरुद्ध भोलि मंगलबार खेल्नेछ ।