सात डलर, सपनाको भारी बोझ र सिरानीको सट्टा कारको सिट । यो कुनै चलचित्रको कथा होइन । यो हो ड्वेन “द रक” जोन्सनको वास्तविक जीवन । जुन संघर्ष, आँसु र अदम्य साहसको संगालो हो । एक समय थियो । जब ड्वेनसँग घर थिएन, पैसा थिएन, र भविष्य धुम्म देखिन्थ्यो । उनले गाडीभित्र रात बिताए, भोकै सुत्नुपरे र पुराना लुगामा आफैंलाई ढाकेर सपना बुन्दै बसे । तर, आज उनी विश्वकै सबैभन्दा चर्चित अभिनेता, कुशल व्यवसायी र करोडौंलाई प्रेरणा दिने नाम बनेका छन् । सम्पत्तिको रुपमा ८ सय २० मिलियन डलरभन्दा बढी आर्जेका छन ।
ड्वेनको जन्म २ मे १९७२ मा क्यालिफोर्नियाको हेवर्डमा भएको थियो । उनका बुबा रकी जोन्सन हुन । जसले सन १९६० को दशकतिर रेसलिङमा नाम कमाएका थिए । तर, जब उनले सन् १९९१ मा रेसलिङ छाडे, परिवारको जीवनयापन सहज भएन । बुबाको जुवा खेल्ने बानीले घरको आर्थिक अवस्था बिग्रिंदै गयो । घरभित्र पैसाको साटो तनाव थियो, भाँडाको कोठा थियो, त्यसको पनि कुनै टुंगो थिएन । यी कठिनाइहरूकाबीच पनि ड्वेनको मनमा एउटा ठूलो सपना थियो, पेशागत अमेरिकी फुटबल (एनएफएल) खेल्ने । उनी छात्रवृत्ति पाएर कलेजसम्म पुगे । मैदानमा रगत पसिना बगाए । तर, एनएफएलमा छनोट हुन सकेन । घाइते भएपछि उनको खेलजीवन पनि रोकियो । उनी गहिरो डिप्रेसनमा डुबे ।
‘द रक’ को जन्म
डिप्रेसनको अन्धकारमय सुरुङमा फसेका उनले आफ्नै बलबुटामा उज्यालो खोजे । बुवाको पदचिह्न पछ्याउँदै उनले रेसलिङलाई रोजे । रिङमा छिरेपछि ‘द रक’ नामले परिचित बने । डब्लूडब्लूएफ (अहिले डब्लूडब्लूई) मा उनको दमदार उपस्थितिले दर्शकको मन जित्यो । उनको आत्मविश्वास, उर्जा र प्रस्तुत हुने शैलीले उनलाई रेसलिङको रियल हिरो बनायो ।
हलिउड प्रवेश नयाँ अध्याय
रेसलिङबाट हलिउड प्रवेश सहज थिएन । ‘द मम्मी रिटर्न’ र ‘द स्कोर्पियोन किंग’ बाट अभिनय करियरको जग बसाले । धेरैले उनलाई खेलाडी मात्र ठानेका थिए । तर, उनले त्यो धारणालाई परिमार्जित गरे । ‘फास्ट एन्ड फ्यूरियस’ शृंखलाबाट उनले अभिनयमा आफ्नो सशक्त पहिचान बनाए । उनको सफलता भाग्यमा निर्भर मान्ने सोचले सम्भव भएको थिएन । यसको श्रेय त कठोर मेहनत, अनुशासन र कहिल्यै हार नमान्ने मानसिकताको उपज हो । आज ड्वेन जोन्सन कुनै एक क्षेत्रको नाम होइनन् । उनी संघर्षपछि सफलता सम्भव छ भन्ने उदाहरणका पात्र हुन् ।
प्रतिक्रिया