खेलकुदमा ध्यानको महत्व


खेलकुदको मैदानमा सफलता केवल शारीरिक शक्ति र गतिले मात्र सम्भव हुने होइन, तीव्र मानसिक एकाग्रता र आत्मनियन्त्रणको पनि उपज हो । निर्णायक क्षणमा खेलाडीको ध्यान विचलित भयो भने प्रशिक्षित शरीरले पनि विजय दिलाउन सक्दैन । यस्ता संवेदनशील क्षणमा आत्मसंयम र मानसिक स्पष्टता कायम राख्न अहिलेको समयमा ध्यान अभ्यास अपरिहार्य बन्न थालेको छ । ध्यान विधि, कुनै धार्मिक अभ्यास नभई वैज्ञानिक आधारमा प्रमाणित मानसिक प्रविधि हो । यसले आत्माको गहिराइमा पुगेर व्यक्ति भित्रको एकाग्रता, शान्ति र मानसिक स्पष्टता बढाउने गर्छ ।

वैज्ञानिक आधारमा प्रमाणित फाइदा

नियमित ध्यान गर्ने व्यक्तिमा रक्तचाप घट्ने, हृदयलाई गहिरो विश्राम मिल्ने, तनाव कम हुने, स्मरणशक्ति तीव्र हुने र मानसिक स्वास्थ्यमा स्थायी सुधार आउने अनुसन्धान र अध्ययनहरूले देखाएको छ । त्यसबाहेक ध्यानको अवस्थामा मस्तिष्कले उच्च समन्वयमा कार्य गर्न थाल्छ, जुन क्षमताले खेलाडीलाई निर्णायक क्षणमा सजग र सक्षम बनाउँछ ।

खेलाडीको मानसिक शक्ति

ध्यान केवल विश्रामको अभ्यास होइन, मानसिक स्वास्थ्यको अर्को नाम पनि हो । जसरी कसरतले शरीरका मांसपेशी बलियो बनाउँछ, ध्यानले मनका मांसपेशी, आत्मनियन्त्रण, धैर्यता, प्रतिक्रिया क्षमता र एकाग्रता बलियो बनाउँछ । बिहान र बेलुका आधा घन्टा ध्यान गर्नाले मानसिक अनुशासनमा चमत्कारी परिवर्तन ल्याउन सक्छ ।

ध्यान धर्म होइन, मानव चेतनाको प्रशिक्षण

धेरैमा भ्रम छ कि ध्यान धार्मिक अभ्यास हो भनेर । तर, ध्यान न त कुनै सम्प्रदायसँग सम्बन्धित छ, न त कुनै आस्था प्रणालीसँग । यो मानव चेतनाको वैज्ञानिक रूपान्तरणको अभ्यास हो, जसलाई मात्र पाँच दिनमा सिक्न सकिन्छ र त्यसपछि घरमै निरन्तर अभ्यास गर्न सकिन्छ ।

ध्यानले जित्न सिकाउँछ

खेलकुदमा खेलाडीको मन स्थिर भएन भने शरीरको शक्ति पनि निष्प्रभ हुन्छ । ध्यानले खेलाडीलाई ‘मैदानमै भगवान’ जस्तो उपस्थिति दिन्छ । शान्त, सन्तुलित र अडिग । अतः खेलकुद प्रशिक्षणमा ध्यान कुनै वैकल्पिक उपाय होइन, यो सफलताको मानसिक मन्जन हो ।

खेलकुदमा उपयोगी हुनसक्ने ध्यान

ऐच्छिक ध्यान – लक्ष्यमा केन्द्रित हुने ध्यान ।

अनैच्छिक ध्यान – आकस्मिक तवरले उत्पन्न हुने ध्यान ।

अभ्यासात्मक ध्यान – निरन्तर अभ्यासले विकास हुने ध्यान, जुन दीर्घकालीन लाभदायी हुन्छ । खेलकुदमा अभ्यासात्मक ध्यान नै सबैभन्दा प्रभावकारी मानिन्छ, किनभने यो ध्यानले समयसँगै खेलाडीको मनोवृत्तिमा नै रूपान्तरण ल्याउँछ ।