बुटवल।
बुढापाकाहरु भन्ने गर्छन ,आगनुको डिला बसी कराउने काग र अन्य चराचुरुङ्गीहरुले पनि घरको लक्ष्यण कुलक्षणको संकेत गर्छन् अथवा सन्देश दिन्छन् । न सायद बु्ढापाकाहरुको त्यो भनाई सही भएर हो कि गत मंगलबार जम्मु कश्मिरमा आतंकाकारी आक्रमणबाट मारिएका बुटवलका सुदिप न्यौपाने बस्ने घरको बार्दलीमा आएर एउटा चरा बस्यो । जुन चरा आएर बसे देखि कराउँदैन । उता सुदिप आतंकारीहरुको गोलीले ढले देखि उनको घरमा आएर बसेको त्यो चरा सोचमग्न, चिन्दाग्रस्त र भावविह्ल मुद्रामा देखिन्छ । उता सुदिपको त्यस्तो अनिष्ठ खबर आए देखि त्यो चरा आएर एकाग्र हुँदै त्यसरी बसिरहेको देखेर सुदिपका छिमेकीहरु अनौठो लागेको बताउँछन् ।
सायद मानिस भईदिएको भए सुदिपप्रति विलौना पोखीपोखी डाको छाड्दै रुन्थ्यो होला त्यो चरा भन्ने लाग्छ उसको भावविहल चेहरा देख्दा । हुन त जव वियोगको पिडाले असहय हुन्छ मानिस तब न बोल्न सक्छ न रुन नै भन्ने दृश्य त्यही जम्मु कश्मिरको रणमैदानमा देखियो ।
जम्मू कश्मिरको पहलगाममा मंगलबार भएको आतंकवादी हमलामा २६ जनाको मृत्यु भएको छ। तीमध्ये बुटवल उपमहानगरपालिका १४ का सुदीप न्यौपाने थिए । सुदिप घरका एक मात्र छोरा हुन । त्यस आक्रमणमा परी मृत्यु भएका न्यौपानेको घर रहेको स्थान मनकामना टोल मात्र होइन सिङ्गो बुटवल शोकमग्न छ । उनको बुवा बस्ने बुटवल १४ बेलबरिया र उनीहरू बस्ने कालिकानगरको घरमा बिहानैबाट आफन्त, शुभेच्छुकहरूको भीड लागेको थियो । आमा रिमा पाण्डे, बहिनी सुष्मा शवलाई घरमा पुराएदेखि नै मुर्छित छन् । उनी गत शनिवार मात्र आमा, बहिनी र ज्वाइँलाई लिएर घुम्न गएका थिए । ज्वाइँ उज्ज्वल काफ्लेले बन्दुकधारीहरूको उक्त समूहले बाटोमा सँगै हिँड्दै गरेका सुदीपलाई ‘नाम र धर्म के हो’ भन्दै सोधेपछि एकाएक गोली हानेको बताएका छन् ।
भारतको जम्मुकश्मिरको पहलगाममा भएको आतंकवादी आक्रमणमा मृत्यु भएका न्यौपानेको त्रिवेणी घाटमा अन्त्येष्टि गरिएको छ ।
सुदीपलाई काका कपिलदेव न्यौपाने (कृष्ण)ले दागबत्ती दिएका छन् । बुबा ध्रुव र आमाबीच सम्बन्ध बिच्छेद भएकाले बुबाको साटो काकाले सुदीपलाई दागबत्ती दिएको छिमेकीले बताएका छन् ।
बुटवल–११ कालिकानगरको मनकामना पथ घर भएका सुदीपको शव श्रीनगरबाट दिल्ली हुँदै लखनउसम्म हवाई मार्गबाट ल्याइएको थियो । त्यहाँबाट एम्बुलेन्समार्फत नेपाल–भारतको सीमा सुनौली हुँदै बुटवलसम्म ल्याइएको थियो ।
निवासमा केहीबेर राखेपछि अन्त्येष्टिका लागि त्रिवेणी घाट पु¥याइएको थियो ।
आमाबुबाको सम्बन्ध बिच्छेद भएपछि सुदीप आमा र बहिनीसँग बुटवल–११ कालीकानगरमा बस्दै आएका थिए । त्यसअघि उनीहरूको घर बुटवल–१४ बेलभरियामा थियो । सुदीपको पुख्र्यौली घर भने पाल्पाको बगनासकाली गाउँपालिका वडा नम्बर ४ हो ।
सुदीपले पहिले ‘हेल्थ एसिस्टेन्ट’ पढेका थिए, त्यसपछि पब्लिक हेल्थ पढ्दै आएका उनी सामाजिक कार्यमा पनि सक्रिय थिए । ‘विदेश जान्न, स्वदेशमै केही गर्छु’ भन्ने युवाको मृत्युले अहिले बुटवल शोकाकुल भएको छ ।
शिक्षण पेशामा आवद्ध बुबा ध्रुव न्यौपाने शिक्षक आन्दोलनका क्रममा काठमाडौंमा थिए । मंगलबार घर फर्किने क्रममा उनले छोराको अप्रिय खबर सुनेका थिए।
आमा, बहिनी र ज्वाइँसँग कश्मीर घुम्न गएका सुदीप मंगलबार दिउँसो आंकवादी हमलामा परेका थिए । आमा, बहिनी र ज्वाइँ भने जोगिन सफल भएका थिए ।
प्रतिक्रिया