सौगात र बेनिसाको सिटामोल


राज बहादुर सानेको निर्देशनमा निर्माणाधिन फिल्म सिटामोल आगामी साउन २३ गते रिलीजमा आउने भएको छ।
फिल्मको सार्वजनिक पोस्टरमा यसका मुख्य कलाकार सौगात मल्ल र बेनिशा हमाललाई प्रस्तुत गरिएको छ।

सार्वजनिक पोस्टरमा सौगात बैशाखीको सहाराले हातमा रातो भाले समातेर उभिएका छन् भने उनको छेउमा बेनिशा बच्चा बोकेर प्रशन्न मुद्रामा देखिन्छन्। फिल्ममा सौगता र बेनिसा श्रीमान्–श्रीमतीको भूमिकामा छन्। माओवादी जनयुद्धको कथा उठाइएको फिल्ममा सौगातले जनयुद्धको घाइतेको भुमिका निवार्ह गरेका छन्।

सौगात र बेनिशाका अलवा लोकेन्द्र लेखक, भुगोल कार्की, हिउँवाला गौतम, दिनेश रेग्मी, समिप निरौला, जानुका विश्वकर्मा, आरआर खड्का, ज्ञानु मल्ल, पवन भट्टराई, काजल भुजेल, बालकलाकार करण नेपाली र आराध्या राज्यलक्ष्मी डिसीलगायतले अभिनय गरेको फिल्म तुल्सीदेवी फिल्म प्राली र जुनतारा फिल्म्स्को व्यानरमा भुगोल कुमार कार्की र विकाश राज जोशीले निर्माण गरिरहेका छन्।

अप्सरा नेपाली, अजय मल्ल र कुमार केसी कार्यकारी निर्माता तथा गंगाराम श्रेष्ठ सहनिर्माता रहेको फिल्ममा प्रदीप भारद्धाज र निर्देशक सानेको कथा, बाबुल गिरीको संगीत, कविराज गहतराजको कोरियोग्राफी, देव महर्जन र शंकर महर्जनको द्धन्द्व निर्देशन, दिव्य सुवेदीको छायाँकन र बन्दे प्रसादको सम्पादन रहेको छ।