गौरीघाटका अमिन यादवविरुद्ध भ्रष्टाचार मुद्दा, तीन करोड २९ लाख बढी बिगो दाबी


काठमाडौँ।

उपत्यका विकास प्राधिकरण, जिल्ला आयुक्तको कार्यालय काठमाडौँद्वारा सञ्चालित बागमती नगर जग्गा एकीकरण आयोजना गौरीघाटमा अमिन पदमा कार्यरत दिनेशप्रसाद यादवविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यादवविरुद्ध विशेष अदालत काठमाडौँमा
भ्रष्टाचार मुद्दामा आरोपपत्र दायर गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलका अनुसार यादवले २०६३ भदौ ८ गतेदेखि २०८१ असार ३० गतेसम्मको जाँच अवधिमा तलबी पारिश्रमिक, आय, भत्ता, नागरिक लगानी कोेषबाट फिर्ता आएको रकम, आवास कर्जा लगायतका कुल वैध आम्दानी दुई करोड ४२ लाख २० हजार १०३ रुपियाँ देखिएको छ ।

यसैगरी, सो अवधिमा निजले लगानी गरेको व्ययमा आवास कर्जा तिरेको रकम, गरगहना खरिद, घर निर्माण, जग्गा खरिद, बैँक मौज्दात, शैक्षिक खर्च, सवारी साधन खरिद लगायतको कुल व्यय पाँच करोड ७१ लाख ६६ हजार तीन रुपियाँ देखिएको आयोगको विज्ञप्तिमा उल्लेख छ ।

आयोगका अनुसार निजको कुल आय रकममा कुल व्यय रकम घटाउँदा तीन करोड २९ लाख ४५ हजार ७०२ रुपिँया ऋणात्मक रही गैरकानुनी रूपमा सम्पत्ति आर्जन गरेको पुष्टि हुन आएको देखिएको छ ।

यसैगरी, यादवले सार्वजनिक पदमा रहँदा गैरकानुनीरूपमा आर्जन गरेको सम्पत्ति र सोबाट बढे बढाएको सम्पत्ति आफ्नी श्रीमती अमृताकुमारी यावको नाममा राखिएको आयोगले जनाएको छ ।

भ्रष्टाचार निवारण ऐन, २०५९ का दफा ४७ तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा २९ ख बमोजिम जफत गर्ने प्रयोजनका लागि निजकी श्रीमती यादवलाई समेत प्रतिवादी कायम गरी सोमबार विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरिएको आयोगले जनाएको छ ।