सर्लाहीमा  जंगली हात्तीले मकैबाली नष्ट 


सर्लाही। 

सर्लाहीको हरिपुर नगरपालिका -१, मा जंगली हात्तीले स्थानीय किसानको मकै बाली नष्ट पारेको छ । तीनवटाको संख्यामा आएको जंगली हात्तीले धनबहादुर पाँडे, अशोक विमली, मदन मैनाली, बिन्देश्वर रामलगायत किसानको मकै बाली नष्ट पारेको हरिपुर वडा नम्बर १ का वाडाध्यक्ष नानीबाबु थापाले जानकारी दिए  । 

दिनभरि जानकीनगर जंगलमा बस्ने जंगली  हात्ती  रात परेपछि  बस्तीमा छिरेर मकै खाने र  बाली कुल्चिएर नष्ट पार्ने गरेको स्थानीय किसान धनबहादुर पाडेले गुनासो गरे । हात्तीले  दुःख दिन थालेपछि किसानले तत्कालै  नियन्त्रणका लागि सवडिभिजन  वन कार्यालय जानकीनगरसँग आग्रह गरेका छन्। 

जंगली हात्ती नियन्त्रण गर्न सजिलो नहुने भएकाले  समाधान अपनाउन डिभिजन वन कार्यालयले अनुरोध  गरेको छ। 

जंगली हात्तीले  नोक्सान पुर्‍याएको बालीको सरकारले क्षतिपूर्ति  उपलब्ध गराउनु पर्ने  किसानको माग छ। बासस्थानमा जाने क्रममा जंगली हात्तीले बाटो परेका केही बाली अन्न बाली  नोक्सान गरेपनि त्यसलाई जिस्काउन नहुने डिभिजन वन कार्यालय सर्लाहीका प्रमुख सन्तोष  झाले बताए ।