कोठीडाँडाबाट जसवीरे (इलाम जिल्लाको उर्वर र सुन्दर बस्ती) नियाल्दै गर्दा चियाका हरियाली बगानहरुले खुशीका उद्वेगलाई सूर्योदयका प्रकाशमा रङ्गीन बनाइदिएको थियो । प्राकृतिक सुन्दरतासँग चियाको व्यावसायिकताले उज्यालिएको जसवीरेलाई स्नेहको आलिङ्गनमा कसेर चिच्याउँदा क्षितिजपारिबाट मधुर आवाज सुनेँ– भैरव सर । २०५३ सालमा पहिलोपटक इलाममा पाइला टेक्दा मेरो लागि जसवीरेजस्तै नयाँ थिए चियाका हरियाली बगानहरु । मैले त्यसअघि पुस्तक र चलचित्रहरुमा बाहेक चियाका बोटलाई प्रत्यक्ष देखेको थिइन । जसवीरेका मेहनती किसानहरुले चियाको पत्ती टिप्दै गरेको परिदृश्यले मेरो मन फुरुङ्ग भएको थियो ।
सूर्य बुबा (सूर्यबहादुर सुब्बा) ले मलाई सुनाउनुभयो, चियाको व्यावसायिकतासँगै जसवीरेको कृषि क्रान्तिमा भैरव सर (वरिष्ठ पत्रकार भैरव रिसाल) को मेहनत र भूमिका कति महत्वपूर्ण थियो भनेर । शायद त्यसैले होला मेरो उमङ्गको चिच्याहटमा क्षितिजपारिबाट भैरव सरको नाम उच्चारण भएको ।
सूर्य बुबाले भन्नुभयो– भैरव सर २०४२ सालतिर जसवीरे पुग्नुभएको थियो रे ! आलुको बिउ उत्पादनसम्बन्धी कार्यक्रममा । जसवीरेमा स्वीस सरकारले आलुको बिउ उत्पादनसम्बन्धी कार्यक्रम सञ्चालन गरेको रहेछ । स्वीस सरकारले सहयोग गरेको आलुको बिउ उत्पादन संस्थाको अध्यक्ष त्यति बेला सूर्य बुबा नै हुनुहँदो रहेछ । त्यसैले पनि उहाँको निकटता भैरव सरसँग थियो ।
आलुको बिउ उत्पादनसम्बन्धी कार्यक्रममा पुग्नुभएका भैरव सरले गफैगफमा भन्नुभएछ– यो भूमि आलुको लागि मात्र हैन चिया, दूध र अलैँचीको लागि पनि उर्वर छ । अनि के थियो र भैरव सरकै पहलमा जसवीरेले कृषि क्रान्ति शुरु ग¥यो ।
चिया विस्तार आयोजना सञ्चालन भयो । चिया खेती प्रवद्र्धनकै लागि तत्कालीन राजा वीरेन्द्रको भ्रमण भयो । पशुपालन (ओलन), अलैँची खेती र अकबरे खुर्सानीको खेती शुरु भयो । सूर्य बुबा भन्दै हुनुहुन्थ्यो– जसवीरेमा आफ्नो प्रयोगको लागि २०३४÷३५ सालबाट चिया रोप्न शुरु गरिएको भए पनि, व्यावसायिक खेती भने भैरव सरको आगमनपछि नै शुरु गरिएको हो ।
मैले जसवीरे नटेकेको २३ वर्ष नाघ्यो । तर म प्रत्येक दिन जसवीरे नियालिरहेको हुन्छु । कोठीडाँडा र चियाका बगानहरुमा रमाइरहेको हुन्छु, शब्द र तस्वीरहरुसँग । किनभने मलाई कोठीडाँडाको सौन्दर्य, जसवीरेको भावना र भैरव सरको मेहनतले त्यही वरिपरि घुमाइरहेको हुन्छ । सूर्य बुबाको मुखबाट भैरव सरको बखान सुन्नुअघिसम्म मैले उहाँलाई भक्तपुरको सक्रिय र इमानी पत्रकार भनेर मात्र चिनेको थिएँ । तर, हरेक भेट र टेलिफोन वार्ताहरुमा सूर्य बुबाले जसवीरेको कृषि क्रान्तिमा भैरव सरको भूमिकाको चर्चा गरिरहँदा मैले उहाँलाई नेपाली माटोको अग्र्यानिक अभियन्ताको रुपमा ठम्याउँदै गएँ ।
२०८१ साल चैत्र १३ गते जसवीरेको लागि एउटा दुःखद पल बनिदियो । सूर्य बुबाको अभिभावकत्वमा जसवीरेका मेहनती युवाहरु ग्रीष्म, सरद, निर्विकल्प र विकल्प सुब्बाले स्थापना गरेको जसवीरे टी फ्याक्ट्रीमा आगलागी भएर ठूलो क्षति पुग्यो । त्यति बेला मैले सम्झेँ, भक्तपुरमा उमेरको पीडादायी तोडसँग पौंठेजोरी खेलिरहेका भैरव सरलाई पनि यो खबर कालो आकाशबाट बज्रिएको भयङ्कर कर्कश आवाजजस्तै बनेको हुनुपर्छ । किनभने जसवीरे टी फ्याक्ट्री स्थापनामा भैरव सरको चेतनशील तरङ्गको पनि भूमिका थियो ।
एउटा पीडादायी गुञ्जनले जसवीरेलाई केही समय शून्य बनाइदियो । मेहनती युवाहरुको सपनामा कुठाराघात भयो । तर, जसवीरेको एकता, सद्भाव, सहकार्य र मेहनती युवाहरुको हिम्मतले कलिला चियाका पत्ताहरुलाई मुर्झाउन दिएन । झन्डै डेढ महिनाकै अवधिमा फ्याक्ट्रीले किसानको अपेक्षा, मजदुरको श्रम र सिंगो इलामवासीको सहकार्यमा चिया उत्पादनलाई निरन्तरता दिन सकेको छ । यो खुशीको पलमा जसवीरेका स्थानीयले कृषि क्रान्तिका अभिभावक भैरव सरलाई भने गुमाइसकेका छन् । भैरव सरले चैत्र २४ गते बेलुका यो भूमिबाट विश्राम लिएका छन् । आफ्नो चेतनशील तरङ्गले सिंचिएको जसवीरे टी फ्याक्ट्रीमा आगलागी भएको कर्कश खबर सुनेका भैरव सरले सहकार्यको अनुपम नमुनासहित फ्याक्ट्रीले नयाँ उत्साहका साथ पुनः चिया उत्पादन शुरु गरेको सुखद र मधुर खबर भने सुन्न पाउनुभएन ।
भैरव सरलाई मैले सूर्य बुबाको मुखबाट धेरैपटक सुनेँ । नेपालको पहिलो सामुदायिक रेडियो, ‘रेडियो सगरमाथा’मा उहाँको आवाजसँग मितेरी लगाएँ । छापा पत्रकारिताको इतिहासमा उहाँका योगदानहरु पढेँ । इमान र सक्रियताको पत्रकारितामा उहाँको आदर्शलाई आत्मसात् गरेँ । तर उहाँसँग जम्मा एकपटक मात्र भेट्ने अवसर पाएँ । र, त्यो भेट मेरो लागि इथिक्स र इमानको पाठशाला गएजस्तै भयो । भैरव सरसँग भेट भएको २०७१ सालमा हुनुपर्छ । त्यति बेला म नेपाल पत्रकार महासंघको केन्द्रीय सदस्य थिएँ । सिन्धुपाल्चोकको चौताराबाट प्रसारणमा रहेको ‘रेडियो सिन्धु’को साताँै वार्षिक उत्सवमा मलाई अतिथिको रुपमा निम्त्याइएको थियो । कार्यक्रमको प्रमुख अतिथि हुनुहुन्थ्यो भैरव सर ।
चरिकोटबाट म पत्रकार रामचन्द्र गिरीसँग चौतारा पुगँे । कार्यक्रमको औपचारिक शुरुवता हुनुअघि मैले भैरव सरसँग चिनजान गरेँ । जसवीरेको प्रसंग निकालेर उहाँको प्रशंसा गरेँ । उहाँले सूर्य बुबासहित जसवीरेका धेरै मेहनती र इमानी स्थानीयको चर्चा गर्नुभयो ।
थोरै विश्राम र विहानको खानापछि कार्यक्रम शुरु भयो । आयोजकले तिब्बती अक्षर कोरिएका खादा ल्याए । भैरव सरले त्यसलाई अस्वीकार गर्नुभयो । कार्यक्रम सञ्चालकले अतिथि वक्ताको बखान गर्दै मन्तव्यको लागि आमन्त्रण गर्ने र पछि अतिथि वक्ताको भनाइलाई समराइज गर्ने क्रमलाई निरन्तरता दिँदै थिए । किनभने कार्यक्रम सञ्चालनको यो तरिका नेपालीहरुको लागि अनिवार्य आवश्यकताजस्तै बनिसकेको छ ।
अब बोल्ने पालो आयो भैरव सरको । हामी सबै चनाखो भयौँ, पत्रकारिताका केही अनुकरणीय टिप्स सुन्ने अभिलासासहित । मञ्चमा उक्लिनुभएका भैरव सरले खादा अस्वीकार गरेको प्रसंगबाट मन्तव्यको आरम्भ गर्नुभयो । भन्नुभयो– तिब्बती अक्षर कोरिएका खादा हाम्रो लागि उपयुक्त छैन, किनभने तिब्बती अक्षरमा कोरिएका मन्त्र हाम्रा लागि आवश्यक र फाइदाजनक नहुन सक्छ । त्यसैले खादा दिनै छ वा खादा लगाउनै छ भने सादा सेतो खादा मात्र प्रयोग गरौँ ।
खादाको प्रसंग सकेर उहाँले कार्यक्रमको सञ्चालन विधि शुरु गर्नुभयो । भन्नुभयो– सञ्चालकले अतिथि बक्तालाई आमन्त्रण गर्दा अनावश्यक फुँदा–टुक्का जोडेर प्रशंसा गर्नुको औचित्य के ? यसरी समयको बर्बादी गर्नु उपयुक्त हो ? अनि वक्ताको अभिव्यक्तिलाई थप व्याख्या र समराइज गर्ने अधिकार सञ्चालकलाई कसले दिन्छ ?
त्यति बेला भैरव सरको कुराले आयोजकलाई थोरै असहज भएकै हो । तर उहाँको कुरा सत्य थियो । कार्यक्रमहरुमा सञ्चालकले अनावश्यक फुँदा–टुक्का जोडेर समय बर्बाद गरिरहँदा दर्शकदीर्घाका सहभागीहरु उग्ने अवस्थामा पुगिसकेका हुन्छन् । अनि वक्ताको भनाइलाई व्याख्या र समराइज गरेर उपबुज्रुक बन्ने सञ्चालकलाई सहभागीहरुले धारेहात लगाएर सरापिरहेका हुन्छन् । जे होस, दीर्घ जीवन बाँच्नुभएका भैरव सरको दैनिकी अग्र्यानिक थियो । उहाँले बाँच्नुभएको पत्रकार र अभियन्ताको जीवनमा कहीँ–कतै खोट थिएन । कहीँ–कतै बनावटी थिएन । जसवीरेजस्ता नेपालका धेरै गाउँघरमा कृषि क्रान्ति भित्र्याउनुभएका भैरव सरले पत्रकारितामा रिपोर्टिङको महत्वलाई मृत्युपर्यन्त आत्मसात् गर्नुभयो ।
भैरव सरले रेडियो सगरमाथामा शुरु गर्नुभएको ‘कुरोकन्थो’ कार्यक्रम ९७ वर्षको उमेरसम्म चलाउनुभयो । उहाँको यो जागरुक सक्रियताले पनि पत्रकारिताप्रति उहाँको समर्पणको मापन गर्न सकिन्छ । जीवनको अन्तिम पलसम्म ठिटो–ठट्टेउलो उमेर बाँच्नुभएका भैरव सर भन्नुहुन्थ्यो– अबचाहिँ मनको उत्साहलाई तनको बुढ्यौलीले जित्दै गएजस्तो लागेको छ ।
साँच्चै त्यस्तै भयो । मनको उत्साह बाँचिरहे पनि तनको बुढ्यौलीले विश्राम लिएपछि भैरव सर ब्रह्मलीन हुनुभएको छ । जे होस्, बाँचुन्जेल पत्रकारिता र अभियन्ताको अग्र्यानिक पाठशाला बन्नुभएका भैरव सरले मृत्युपछि आफ्नो शरीर अस्पताललाई अर्पण गरेर जिन्दगीको पाठशालालाई थप अध्ययनको लागि छोडिदिनुभएको छ ।
प्रतिक्रिया