वर्तमान स्थितिबोध, प्रकृतिको यात्रा र पूर्वाग्रह चिन्तन

940
Shares

बौद्धिकहरुका लागि पूर्वाग्रह घाँडो हो । जिज्ञासुहरुका लागि पूर्वाग्रह तगारो हो । इतिहासदृष्टि र पूर्वाग्रह एउटै होइन । इतिहासदृष्टिको औचित्य मेट्नु मनासिब नहुन सक्छ । यो सांस्कृतिक चेतको कुरा पनि हो । आजको नयाँ पुस्ताले पञ्चायती शासन देखेन । राणा शासन त सुन्दा पनि सुनेन । हामीले पञ्चायती शासन देख्यौँ, भोग्यौँ । अनेकौँ पीडा नै खेप्यौँ । हामीलाई राजतन्त्र शब्दमा कुनै रस छैन । हाम्रो लागि अहिलेको राजनीतिक व्यवस्था हेर्ने, बुझ्ने कोण फरक छ । हामी एक–एक कुरामा तुलना गरेर निष्कर्ष दिन सक्छौँ । आज मुलुकमा गणतन्त्र शाासन सत्तामा छ । धेरैले यसलाई दलतन्त्र नाम दिएका छन् । काम हेरेर नाम दिने चलन चलाइआएका नेपाली जनता भन्छन्, ‘दलका नाइकेहरु नयाँ राजा बनेका छन् ।’ जनताका थाप्लामा आज पनि राजतन्त्र नै छ । अहिलेको पुस्ताले देखेभोगेको नयाँ राजनीतिक व्यवस्था यही हो । यसले अहिलेका नयाँ पुस्तालाई गरिखाने ठाउँठहरसम्म पनि दिन सकेन । देश देशावर बुझेको अहिलेको पुस्तासँग तुलनात्मक अध्ययन छ । नयाँ राजाहरु र तिनका क्रियाकलापका एक–एक हिसाब छन् । यिनीहरु जे गर्छौँ भनेर सत्तामा आएका थिए त्यो गरेनन् ।

काठमाडौंमा सडक–सडकमा नारा–जुलुस । शिक्षक–शिक्षिकाहरु पनि नारा–जुलुसमा छन् । सहकारी पीडित र लघुवित्त पीडितहरुका अथाह पीडाका आवाज थाकिसकेका छन् र पनि कतै–कतै तिनका पनि जुलुस छन् । वर्तमान व्यवस्था र सरकारका विरोधमा पनि नारा–जुलुस छन् । तर सरकार बार्दलीमा उभिएर मुसुमुसु हाँसिरहेको अवस्थामा देखिन्छ ।

यिनीहरुले जनताका आशा, विश्वास र सपनाको हत्या गरे । यसैले नयाँ पुस्तामा व्यापक असन्तोष छ । तपाईं काम राम्रो गर्नुस् वा नराम्रो गर्नुस्, जनताले त्यसको हिसाब त राख्छन् नि ! यथातथ्य हिसाब राख्छन् । जनता त आमा हुन् । हाम्रा पुर्खाहरु भन्थे, ‘कुपुत्रो जायते क्वचिदपि कुमाता नभवति अर्थात् यदाकदा कुपुत्रहरु जन्मन सक्छन् तर आमा कहिल्यै कुमाता बन्न सक्दिनन् ।’ माया, ममता र अनिवार्य जिम्मेवारीबोध हुन्छ आमामा । लाग्छ, नेपाल आमा हिजोआज धेरै नै भावविह्वल बनेकी छन् ।

भर्खरै केही दिनअघिको कुरा हो । काठमाडौंको सरकारी मुसुमुसुले उदेक लाग्दो बनाएको वातावरणदेखि उराठ लागेर र सौराहाका बनवासी भूसन्ततिहरुको रुप, रंग, त्रियाकलाप हेर्ने इच्छा जागेर केही साथीहरुसहित चितवनतिर लागियो । त्यस दिन साँझ भरतपुर घुमेर हेरियो । चितवनकै केही शिक्षक, बुद्धिजीवीहरु भेटिनुभयो । दुईजनाले झन्डै एकै स्वरमा भरतपुर नगरपालिकाका वर्तमान मेयर रेनु दहालको मुक्तकण्ठले प्रशंसा गर्नुभयो । भरतपुरमा बाटो, बत्ती र धारा नपुगेको घर छैन । यहाँका राजमार्गहरु भव्यताका नमूना छन् । यातायातमा मात्र हैन, विद्यालय, महाविद्यालय र अस्पतालहरुमा पनि बेजोड राम्रा काम भएका छन् । एकजना शिक्षकले अझ जोड दिँदै भन्नुभयो, ‘विकास निर्माण कस्तो हुन्छ हेर्नुस् भनेर काठमाडौंका विनिर्माणप्रिय मेयर बालेन्द्र शाहलाई बोलाई देखाइदिनुपर्ने ।’ अर्का एक बुद्धिजीवीले भन्नुभयो, ‘बालेनले नजिकैको भक्तपुर नगरपालिका हेर्न भ्याउनुभएको छैन । चितवन त कहिले हेर्न भ्याउनुहोला र खै ? टाढा छ ।’

दिनभरि मेयर दहालको प्रशंसा सुनेर भरिएका कान लिएर बासमा पुगेका हामीलाई बासघरका बुद्धिजीवी मित्रले भन्नुभयो, ‘चितवनका जनता कुरै बुझ्दैनन् । भरतपुरमा विकास भयो भन्छन् । यहाँ विकास भएकै छैन । यहाँ विकास हुन त भृकुटी कागज कारखाना पुनः खुल्नुपथ्र्यो । चितवनको पराल, छ्वाली सबै उपयोग हुनुपथ्र्याे । जनताले काम पाउँथे । आयस्रोत बढ्थ्यो । पहिले नारायणीपारि कारखाना हुँदा चितवनका पराल, छ्वाली सबै त्यहाँ जान्थ्यो । नेपालगन्जदेखिको पराल आउँथ्यो । कतिले काम पाएका थिए । दाम पाएका थिए । कच्चा सामान उपलब्धताका आधारमा हेर्दा चितवनमा अनेकौँ कारखाना खुल्नुपर्ने । खै कारखाना ? जनताले काम पाएको खै ? उद्योग, इलम नभएको नगरलाई विकसित भन्न मिल्छ ? मिल्दैन नि । गरिब जनतालाई सडकले के दिन्छ ? जाबो सडक त जहाँ पनि छ ।’

भोलिपल्ट सौराहा घुमियो । जंगल पसेपछि देखियो । धमिराका पनि आफ्नै दरबार छन् । धमिराका दरबारहरु प्रायः रुखसँग टाँस्सिएरै उभिएका छन् । खाँटी आहारा त रुखै हो । खानुपर्ने, ढाल्नुपर्ने त रुखै हो । र पनि धमिराका दरबारको आड बनेको देखिन्छ रुख । पर्केर समाजमा हेर्दा यहाँ पनि देखिन्छ त्यो विम्ब । राता, सेता, पहेँला धमिराका विम्ब । तै–तै प्रकृतिमा सन्तुलन छ । धमिरालाई भालुले खान्छ । जंगलमा भालुहरु पनि छन् ।

सफारीबाट फर्कंदा राप्तीकिनारको चौपारीमा भेटिएका एक शिक्षक मित्रले नदी र सडक दुवैतिर देखाउँदै भन्नुभयोे, ‘हेर्नुस् त यो अन्तर्राष्ट्रिय पर्यटन केन्द्रजस्तो ठाउँमा यस्तै अवस्था हुनुपर्ने हो त ? जनताबाट पैसा त कुस्त असुलेका छन् । सडक सुधार छैन । वर्षौंदेखिका खाल्डा, खाल्डै छन् । नदीमा तटबन्ध भरपर्दो बनाएर सफारी पर्यटकहरुका लागि रमाइलो झोलुङ्गे पुल राख्न सकिन्थ्यो । त्यसबारे सोचाइ नै छैन । योजना छैन र बजेट माग पनि छैन । भरतपुरका तुलनामा यहाँका विद्यालयहरु वर्षौं पछाडि छन् । स्वास्थ्य क्षेत्र त्यत्तिकै लठाबज्र छ । निकुञ्ज पनि व्यवस्थित छैन । सफारीमा प्रयोग गरिने गाडीहरु सुरक्षित किसिमका छैनन् । सडक, बिजुली, पानी व्यवस्था हेर्न भरतपुर जानुपर्छ । विद्यालयमा सुधार हेर्न भरतपुर जानुपर्छ । हाम्रा मेयर माओवादीबाट कांग्रेस पसेका मान्छे हुन् । उनी आपैmँ त त्यति खराब हैनन् । उनलाई घेरिहिँड्नेहरु राम्रा छैनन् । भरतपुरका मेयरको त्यस्तो घेरो देखिएन । उनी सोभैm जनसामान्यका निरन्तर सम्पर्कमा देखिन्छिन् । त्यस्तो हुनुपर्छ ।’

प्रशंसा पनि कस्तो धाराप्रवाह ! हामीले आपसमा मुखामुख ग¥यौँ । सँगै उभिएका एक अर्का शिक्षकले प्वाक्क भन्नुभयो, ‘हाम्रो पुराणको भद्र भलादमी चिरजीवी व्यक्तित्व प्रह्लाद पनि खतरनाक दैत्य हिरण्यकशिपुका छोरो थिए नि हैन र ?’ कुरामा स्वाद लागेर हामीले ती शिक्षकको अनुहारतिर पिलिक्क हे¥यौँ । तिलचामले फुलेका गोरो अनुहारका र मध्यम कदका ती शिक्षक चिन्तनशील प्रकृतिका देखिनुहुन्थ्यो ।

फर्कंदा भोलिपल्ट गैँडाकोट पनि पुग्यौँ । नारायणी तरेपछि सडक विकासले यात्रा स्थगितै गरेजस्तो । पुराना कांग्रेसी घरानाको नेतृत्व रहेछ नगरपालिकामा । मेयरका बाबाका त्याग, तपस्या र व्यक्तित्वको प्रशंसा गर्नेहरु भेटिए । त्यहाँ पनि विकास निर्माणसम्बन्धी विभिन्न कुरा हुँदा सन्दर्भमा भरतपुर उभिन आयो । एकजना बुद्धिजीवी साथीले भन्नुभयो, ‘मेयरको बाउ सत्तामा । बजेट जति पनि आयो । भरतपुरको विकास त बजेटले गरेको हो, मेयरको त्यसमा कुनै योगदान नै छैन ।’

आलोचना पनि कति निरपेक्ष ! हामीले आपसमा फेरि मुखामुख ग¥यौँ । गैँडाकोटबाट पुल्चोक हुँदै काठमाडौं फर्कंंदा हामीबीच बाटो कटानी कुराकानीको पहिलो सन्दर्भ बुद्धिजीवीहरु नै भए । एकजना साथीले भन्नुभयो, ‘लाग्छ, हामी नेपालीहरु बढी नै पूर्वाग्रही छौँ । हामी पूर्वाग्रहबाट शुरु भएर पूर्वाग्रहमै सकिने स्वभावका भएका छौँ ।’

कसैको चश्मा नलगाई आँखा हेर्नै सक्दैनौँ हामी । अमेरिकी कथा विजार्ड अफ अजका ताल्चावाल चश्मा भिराइएका पात्रजस्तै । बुद्धिजीवी कतिसँग त हेर्ने आँखा मात्रै छ, देख्ने आँखा छँदै छैन । कति त साँच्चिकै पश्चगामी पनि छन् । फलतः हामी झन्–झन् भताभुंग बाटोतिर पुगिसकेका छौँ ।
एकजना साथीले विशेष गम्भीर बन्दै भन्नुभयो, ‘विद्वान्, बौद्धिक र बुद्धिजीवी एउटै काँटका मनुवा नहुँदा रहेछन् । हामी हचुवामा सबैलाई बुद्धिजीवी भन्छौँ । सङ्कलित ज्ञानराशिबाट मानिस विद्वान् गनिन सक्छ । यस्ता विद्वान्लाई पहिले–पहिले बहुश्रुत भनिन्थ्यो । विद्वान्हरु बोद्धिक हुन सक्छन् तर सबै विद्वान्हरु बोद्धिक हुँदैनन् । सबै विद्वान्हरु बौद्धिक भइदिँदा हुन् त नेपालका विश्वविद्यालयहरुको यो हबिगत हुने थिएन । समग्रमा नेपालको शिक्षा क्षेत्रकै यो हबिगत हुने थिएन । नेपालकै यो हबिगत हुने थिएन ।

तथ्यका आधारमा सत्य पहिल्याएर विनामुलाहिजा यथास्थिति बदल्न निरन्तर उद्यत रहने बौद्धिकता विलक्षण प्रतिभा र परिश्रमको प्राप्ति हो । प्रगतिपरक अग्रगमनको उद्बोधन हो । संसार बौद्धिकहरुको ऋणी छ । हामीकहाँ त्यस्ता बौद्धिकहरु अलि दुर्लभ नै छन् ।

यसरी हेर्दा बुद्धिजीवीहरु तेस्रो काँटमा परेका देखिन्छन् । यसै त बुद्धि+जीवी शब्दविधानमै प्राप्त्याशा छ । बिकाउपनको गन्ध ह्वास्सै हाउँछ । वर्तमान नेपालका बुद्धिजीवीको प्रसंग उठ्दा फरक–फरक घाटमा फरक–फरक नौका लिएर आफ्ना ग्राहक कुरी बसेका माझीहरु सम्झनामा छाइदिन्छन् । फरक–फरक बिसौनीमा ट्याक्सी लिएर ग्राहक कुरी बसेका चालकहरु स्मृतिगोचर बन्न आइदिन्छन् । अझ स्पस्ट भन्नुपर्दा फरक–फरक हाटबजारमा विक्रेय सामग्रीका तहमा सजिएर प्रस्तुत सुदूर अतीतका दासदासीका टिठ लाग्दा दृश्य मनश्चक्षुमा विम्बित हुन आइपुग्छन् । कति अत्यास लाग्दा छन् यी विम्ब !

यसै त राष्ट्रसेवकहरु सबै बुद्धिजीवी हुन् । विनाबुद्धि कुनै पनि क्षेत्रमा उपयोगी सेवक बन्न सकिँदैन । जुनसुकै काम व्यवसायका लागि पनि बुद्धि त चाहिन्छ नै । कानुन व्यवसायीहरु, लेखापढी व्यवसायीहरु, शिक्षक, प्राध्यापकहरु, विभिन्न तहका चिकित्सकहरु, सञ्चारकर्मीहरु, घरजग्गा व्यवसायीहरु सबै बुद्धिजीवी नै हुन् । कानुन व्यवसायीहरु त अझ कानुनले किटान गरेका विद्वान् पनि हुन् । राजनीतिले पनि व्यवसायको मान्यता पाएको आजको नेपालमा राजनीतिजीवी नेता–कार्यकर्ताहरु पनि बुद्धिजीवीताका नमुना पात्रहरु नै हुन् । तिनीहरुसँग बाँकी अरु कुनै व्यावसायिक विशेषण नभिरेका आम बुद्धिजीवीहरुहरुमाथि शासन चलाउने बुद्धि पनि देखिएको छ । बुद्धिजीवीहरु विभिन्न ब्रान्डमा तिनकै मातहत रहेर क्रियाशील भएका पनि देख्न पाइएका छन् । अनलाइन नै पनि डेलिभरी हुन सक्छन् बुद्धिजीवीहरु । यसरी आज नेपालमा बुद्धिजीविताकाको अपरम्पार बाढी छ भन्दा पनि अत्युक्ति नहोलाजस्तो लाग्छ ।

बाढीको मलजलले उर्बर बनेको भूमिमा निर्धक्क बाली चरेर अलल्ले बनेका सत्तासीन साँढेहरु आज नेपालका घर–घरमा चर्चाका विषय बनेका छन् । सडक–सडकमा तिनकै यशोगान चलेको छ । खाँडो जगाउनेहरुको कमी छैन । झर्ला र खाउँला भनी पछि लाग्ने पञ्चतत्वका जम्बूकहरु जम्बूद्वीपे नेपालमा जति पनि छन् । यति हुँदा पनि अहिले नेपालका शहरभित्र ठाउँ–ठाउँका सडकहरु विरोध बनेर जुरुक्क उठेका छन् । जता फक्र्यो साँढेका आँखामा रातो । साँढेका आँखै पनि राता । साँढेका ढलिमलीका अगाडि आजको यो समय अर्घेलो बनेर उभिएको त होइन ? यत्रा बडे–बडे बुद्धिजीवीका अगाडि यो हलुँडे पाराको निपट मूर्ख समय ! कतिलाई हाँसो उठेको हुन सक्छ । मौकामा हाँस्न पनि सक्नुपर्छ । सुखमा मात्र हैन, दुःखमा पनि हाँस्न सक्नुपर्छ । हाँस्नु स्वास्थ्यका लागि लाभदायक छ । हाँसौँ । आ–आफ्ना ठाउँमा उभिएर हाँसौँ । कुरुक्षेत्र शुरु हुँदाका क्षण दुर्योधन हाँसेको थियो । कृष्ण पनि हाँसेका थिए । मर्ने बेला हिरण्यकशिपु पनि हाँसेको थियो । हिरण्यकशिपु हाँसेको देखेर नरसिंह पनि मनैमन हाँसेका हुँदा हुन् । कुनै पनि तानाशाह शक्तिको उन्मादमा नाचेको देख्दा ऊ नाचेको जमिन पनि हाँस्छ भन्छन्। उबडखाबड र सधैँको निर्माणाधीन सडक । कति ठाउँमा ‘वान वे’ । काठमाडौं आइपुग्दा रातको पहिलो प्रहर छिप्पिँदै थियो । अलि बढी नै थाकिएछ । भोलिपल्ट बिहान प्रातभ्र्रमणमा निस्कँदा सडककिनारमा एकजना प्रौढ व्यापारी अर्का व्यापारीसँग सोध्दै थिए, ‘१५ गते तीनकुनेमा के भएको रहेछ हँ ? १५ दिन बित्दा पनि कुरा सेलाएको छैन !’

एकाबिहानै सडकको भेटमा एकजना बुद्धिजीवी युवा कन्सल्टेन्ट डक्टर मित्रले भन्नुभयो, ‘देवेन्द्र नेपालीलाई मैले आपूm बालक छँदादेखि चिनेको । कांग्रेसभित्रका असल मान्छे । समाजवादी सोचका नेता । जातीय समानताका पक्षधर । उनको थर श्रेष्ठ । उनले आपूmलाई श्रेष्ठ कहिल्यै भनेनन्, नेपाली भनिआए । नेविसंघका संस्थापक व्यक्तित्व हुन् उनी । उनी अहिले त्यो तीनकुने घटनाको छानबिनका लागि बनेको नागरिक आयोगका मुख्य आयुक्त बनेछन् । यो चानचुने घटनाकथा होइन । गणतन्त्रका श्री ३ हरुले यस मुलुकलाई कतिसम्म आकुलव्याकुल बनाएछन् हगि !