मच्छिन्द्र फुटबल क्लब स्थापना भएको पनि झण्डै ५० वर्ष नाघिसकेको छ । तर, बी डिभिजन २०६१ सालमा खेलेको थियो । दुई सिजन बी डिभिजन खेलेपछि २०६१ सालमा ए डिभिजनमा बढुवा भएको थियो । २०६२ सालदेखि भने यो क्लबले ए डिभिजन प्रतियोगिता लगातार खेलिरहेको छ ।
मच्छिन्द्र दुई पटक ए डिभिजन च्याम्पियन समेत बनिसकेको छ । मच्छिन्द्रले २०७६ सालमा ए डिभिजन लिग उपाधि जितेर मनाङ, थ्रीस्टार र पुलिसको वर्चस्व तोडेको थियो । यसअघि यी तीनमध्ये एकले उपाधि जितिरहेको अवस्था थियो ।
२०५२ सालमा एनआरटीले उपाधि जितेयता मच्छिन्द्र लिग च्याम्पियन नहुन्जेल पुलिसले ३, थ्रीस्टारले ४ र मनाङले ५ पटक उपाधि जितेका थिए । मच्छिन्द्रले जितेपछि भने यी तीनै टोली लिग च्याम्पियन बन्न सकेका छैनन् । गत २०८० को सिजनमा चर्च ब्वाइज युनाइटेड च्याम्पियन हुँदा मच्छिन्द्र दोस्रो स्थानमा रहेको थियो ।
मच्छिन्द्रले यस वर्ष २ महत्वपूर्ण उपाधि जित्न सफल भयो । सो क्लबले इटहरी गोल्डकप र केपी ओली कप जितेको हो । केपी ओली कपमा त यस क्लबले इतिहास नै रचेको छ ।
केपी ओली कपको तीन संस्करण आयोजना भएकोमा मच्छिन्द्रले तीनै पटक उपाधि जितेर ह्याट्रिक समेत गर्न सफल भयो । यस वर्ष मच्छिन्द्रले विजेता र उपविजेता गरी झण्डै ३५ लाख नगद पुरस्कार कमाई गरेको छ ।
मच्छिन्द्र क्लब संक्षिप्तमाः
–काठमाडौंको जनबहालस्थित रहेको मच्छिन्द्र एफसी २०३० सालमा स्थापित भएको थियो ।
–प्रायोजनको कारण २०६१ सालमा मच्छिन्द्र बहाल क्लब एफसी र २०६३ सालमा मच्छिन्द्र इनर्जाइजर एफसी नाम दिइएको थियो ।
–२०६० को बी डिभिजनमा तेस्रो स्थानमा रह्यो भने अर्को वर्ष दोस्रो भयो ।
– यसका साथै यो क्लब २०६१ सालमा नेपालको शीर्ष फुटबल लिग डिभिजन ‘ए’ मा पदोन्नति भयो ।
–ए डिभिजनको २०७६ र २०७८ सिजनमा उपाधि जितेको मच्छिन्द्र पछिल्लो पटक २०८० मा भने दोस्रो स्थानमा रह्यो ।
–यस क्लब २०७० सालमा विदेशी कोच ल्याउन सफल भयो । क्लबले स्वीडेनका योहान कालिनलाई नियुक्त गरेको थियो ।
प्रतिक्रिया