प्रभु साहको प्रश्नमा झोक्किए प्रधानमन्त्री, जबाफै दिएनन् 


काठमाडौँ। 

 प्रतिनिधिसभाको आइतबारको बैठकमा  प्रधानमन्त्री केपी शर्मा ओली झोक्किएका छन्।  आम जनता पार्टीका अध्यक्ष प्रभु साहले प्रश्न गरेपछि प्रधानमन्त्री ओली झोक्किएका हुन्।

साहले वैदेशिक रोजगारीमा जाने युवाहरू बढेको, उनीहरूले  विदेशमा खुन पसिना गरेर कमाएको पैसा हुण्डी मार्फत खुलेआम कालो धनसँग मिलान भइराख्दा सरकार मौन रहेको विषयमा प्रश्न गरेका थिए। ‘अहिलेको २१औ शताब्दीमा नेपाली मजदूरलाई दासताको नारकीय जीवनमा धकेल्दा तपाईंहरूले के कति लाभ पाउनुभएको हो ?,’ उनले प्रश्न गरेका थिए। 

जबाफको सुरूमै प्रधानमन्त्री ओलीले साहको प्रश्नमा विरोध, घृणा आक्रोश आदी रहेको बताए। 

‘अपमानजक पनि छन्। संसद जस्तो गरिमामय ठाउँमा यस्ता भाषा प्रयोग गरेर के लाभ भयो? विदेश युवा पठाएर जस्ता भाषा छन्। म म्यानपावर कम्पनीको मान्छे हो?,’ प्रधानमन्त्री ओलीले भने, ‘अहिले म सरकारमा आएपछि ८ महिनाबाट सुरू भएको हो?  तपाईंले भनेको ७० लाख ८ महिनामा गएका हुन्?’

उनले सांसद साहको प्रश्नमा जबाफ दिइरहन आवश्यक नरहेको बताए।  

त्यसपछि जुरुक्क उठेर सांसद  साहले पूरक प्रश्न  गर्न खोजे। तर, सभामुख देभराज घिमिरेले उनले रोके। सभामुखले पनि अगाडि नै आफूले प्रधानमन्त्रीसंग सवालजवाफ नहुने कुरा स्मरण गराए। त्यसपछि साहले आशनग्रहण गरे।