नवयुग मिडियाविरुद्ध १२ गोल


हेटौंडा ।

मिडिया कप फुटसल प्रतियोगिताको उपाधि नेपाल पत्रकार महासंघ मकवानपुरले जितेको छ ।
५ औं संस्करणको रेडियो मकवानपुर कप मिडियास्तरीय फुटसल प्रतियोगिताको उपाधि पत्रकार महासंघ मकवानपुरले जितेको हो । रेडियो मकवानपुरको १५ औं वार्षिकोत्सवको अवसरमा आयोजित सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार मकवानपुरगढी गाउँपालिका वडा नम्बर–३ स्थित मक्राञ्चुली फुटसल मैदानमा भएको फाइनलमा पत्रकार महासंघ मकवानपुरले थाहा–नवयुग मिडियालाई १२–० गोलअन्तरले पराजित गरेको छ ।

खेलको पहिलो हाफमा महासंघको टिमले थाहा–नवयुगविरुद्ध ५ गोल गरेको थियो भने दोस्रो हाफमा थप ७ गोल गरेको थियो । पत्रकार महासंघ मकवानपुरका कार्यसमिति सदस्य गणेश दुलालको नेतृत्वमा रहेको महासंघ टिमलाई सचिव केशब समर्पणले व्यवस्थापन गरेका थिए । त्यसअघि महासंघ टिमले आयोजक रेडियो मकवानपुरलाई ३–२ ले हराएको थियो भने उपविजेतामा सीमित भएको थाहा–नवयुग मिडियाले बागमती एक्सप्रेसलाई २÷१ गोल अन्तरले पराजित गरेको थियो ।

प्रतियोगितामा ४ टिमको सहभागिता थियो । प्रतियोगिताका लागि नाम दर्ता भएका थप ४ टिम सहभागी भएनन् । प्रतियोगिता आयोजनाका लागि बागमती प्रदेश खेलकुद विकास परिषद् बागमती र हेटौंडा उपमहानगरपालिकाको पनि सहयोग थियो ।  

गत वर्षकोे संस्करणको उपाधि टिम एन्ट्रान्सले जितेको थियो । प्रतियोगिता उपाधि विजेता पत्रकार महासंघ र उपविजेता नवयुगको टिमलाई रेडियो मकवानपुरको वार्षिकोत्सवको समापन कार्यक्रम नगदसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने छ ।