मोटरसाइकल चोरीमा संलग्न दुईजना ट्राफिक प्रहरीको नियन्त्रणमा


काठमाडौँ।

काठमाडौँको नेपालटारबाट आइतबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । नुवाकोटको तादी गाउँपालिका ३ खरानीटार घर भइ हाल काठमाडौंको प्यूटार बस्ने २२ वर्षीय रोशन भण्डारी र धादिङको गंगाजमुना गाउँपालिका ५ फुलखर्क घर भइ हाल काठमाडौंको नेपालटार बस्दै आएका ३० वर्षीय रविन अधिकारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो ।

वास्तविक नम्बर बागमती प्रदेश ०२-०५४ प १४ ३५ रहेको मोटरसाइकलको नम्बर परिवर्तन गरी बागमती प्रदेश ०२-०५३ प १७ ३५ राखि काठमाडौंको नेपालटारमा सडक किनारमा रोकि राखेको अवस्थामा भण्डारीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । अनुसन्धानको क्रममा उक्त मोटरसाइकल अधिकारीबाट रोशनले लिएको भन्ने खुल्न आएपछि उनलाई समेत ट्राफिक प्रहरीले काठमाडौंको नेपालटारबाट आजै नियन्त्रणमा लिएको थियो ।

उक्त मोटरसाइकल बागलुङको वरेङ गाउँपालिका २ घर भएका आदर्श पौडेलले काठमाडौंको म्हेपीबाट हराएको भनि काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयमा खोजतलासको लागि निवेदन दिएका थिए । नियन्त्रणमा आएका दुवै जनालाई आवश्यक अनुसन्धानका लागि प्रहरी वृत्त लैनचौर पठाइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी वरीष्‍ठ उपरीक्षक विनोद घिमिरेले जानकारी दिए ।