भ्याली पब्लिक र फेरिल्यान्ड च्याम्पियन


काठमाडौं ।

भ्याली पब्लिक र फेरिल्यान्डले प्रथम ज्ञान संस्कार अन्तरविद्यालय बास्केटबल प्रतियोगिताको उपाधि शुक्रवार जितेका छन्। भ्याली पब्लिक जुनियर ब्वाइज तथा फेरिल्यान्ड जुनियर गर्ल्समा च्याम्पियन बने।

सामाखुशीस्थित आयोजक ज्ञान संस्कार इन्टरनेसनल स्कुलको कोर्टमा भएको जुनियर ब्वाइज फाइनलमा भ्याली पब्लिकले पारामाउन्ट एकेडेमीलाई ४५–२६ ले पराजित गर्‍यो। भ्याली पब्लिकको जितमा दिपेश यादवले १५ अंक योगदान गरे।

जुनियर गर्ल्सको उपाधि भिडन्तमा सन्दिपा राईको १० अंक सहयोगमा फेरिल्यान्डले भ्याली पब्लिकलाई १९–१२ ले हरायो । २ वर्षदेखि बास्केटबल खेल्न शुरू गरेको फेरिल्यान्डको यो समग्रमा दोश्रो उपाधि हो। फुल कोर्टमा भने पहिलो उपाधि हो।

यसअघि फेरिल्यान्डले साइपाल थ्री बाइ थ्री बास्केटबलको उपाधि जितेको फेरिल्यान्डका प्रशिक्षक नारायण खवासले जनाएका छन्।