एजेन्सी ।
यूईएफए च्याम्पियन्स लिग फुटबलमा जारी सिजन २०२४–२५ का लागि अन्तिम १६ र नकआउट प्लेअफ चरणको ड्र सार्वजनिक भएको छ।
यूईएफएले शुक्रवार राति स्विट्जरल्यान्डको नियोनस्थित केन्द्रीय कार्यालयमा नकआउट चरणको ड्र घोषणा गरेको हो। ३६ क्लब खेल्ने नयाँ ढाँचामा लिग चरणका शीर्ष ८ टोली सोझै अन्तिम १६ मा प्रवेश गरे भने नवौंदेखि २४औं स्थानका टोलीले प्लेअफ खेल्नुपर्ने भएको हो । प्लेअफका खेल नकआउट ढाँचामा हुनेछ।
ड्र अनुसार सोझै अन्तिम १६ मा प्रवेश गर्न नसकेका म्यानचेस्टर सिटी र रियल मेड्रिडको भिडन्त प्लेअफ चरणमै हुने भएको छ। दुई शीर्ष टोलीमध्ये एक टोली अन्तिम १६ पुग्ने छैन। यो खेललाई अन्तिम १६ र प्लेअफ चरणकै सबैभन्दा प्रतिस्पर्धात्मक खेल मान्न सकिन्छ।
यस्तै, ड्र अनुसार प्लेअफ चरणको लागि ब्रेस्टसँग पेरिस सेन्ट जर्मेन (पीएसजी) ले खेल्नेछ। त्यसै गरी क्लब ब्रुग्गेविरुद्ध एटलान्टा, युभेन्टसविरुद्ध पीएसभी आइन्डओभेन, मोनाकोविरुद्ध बेनेफिका, स्पोर्टिङ सिपीविरूद्ध बोरुसिया डर्टमन्ड, सेल्टिकविरुद्ध बायर्न म्युनिख र फेयेनुर्डविरुद्ध इन्टर मिलानले खेल्नेछन्।
यूईएफएको कार्यक्रम र खेल तालिकाअनुसार नकआउट ढाँचाको प्लेअफ् खेलहरू फेब्रुअरीको ११, १२, १८ र १९ तारिखमा हुनेछन्। अन्तिम १६ का खेलहरू मार्च महिनाको ४, ५, ११, १२ तारिखमा हुनेछन्।
क्वार्टरफाइनलका खेल अप्रिल महिनाको ८, ९, १५ र १६ तारिखमा हुने तालिका छ। सेमिफाइनलका खेल अप्रिल महिनाको २९ र ३० तथा दोस्रो लेगका खेल मे महिनाको ६ र ७ तारिखमा हुनेछन्। फाइनल खेल मे ३१ मा हुनेछ।











प्रतिक्रिया