उदयपुर ।
नेपाल नेत्र ज्योति संघ उदयपुर शाखाले बुधवार एक कार्यक्रमको आयोजना गरी नेपाल नेत्र ज्योति संघ, मदन भण्डारी आँखा अस्पताल उदयपुरले सहिद दिवसको अवसरमा सेतो छडी वितरण गरेको छ ।
नेत्रहीनहरुलाई दैनिक जीवनयापनमा सहज होस भनेर नेत्र ज्योति संघ उदयपुरले सेतो छडी वितरण गरेको हो । उदयपुर जिल्लाका ३० जना दृष्टिविहीनहरुलाई सेतो छडी वितरण गरेको छ ।
जिल्लाभरका विभिन्न उमेर समुहका ३० जना दृष्टिबिहीनहरुलाई नेत्र ज्योति संघले बुधवार एक कार्यक्रमको आयोजना गरी छडी वितरण गरेको छ । छडी पाएसंगै दृष्टिबिहीनहरु खुसी भएका छन् ।
नेत्रहीन संघका निर्वतमान अध्यक्ष अबिरल पाठकले छडी प्रदान गर्ने नेत्र ज्योतिसंघ प्रति आभार व्यक्त गरे । कार्यक्रममा नेकपा एमालेका उपसचिव गंगा राई, नेपाल पत्रकार महासंघ उदयपुरका अध्यक्ष भक्तिविलास पोखरेल, पत्रकार ईश्वर तामाङ, अधिकारकर्मी शोभा दाहाल लगाएतले सहिद दिवसको अवसर पारेर सेतो छडी वितरण गरिनु उत्कृष्ट कार्य रहेको बताए ।
सामाजिक क्षेत्रमा लामो समयदेखि क्रियाशील नेकपा एमाले उदयपुरका अध्यक्ष तथा मदन भण्डारी आँखा अस्पताल उदयपुर र नेपाल नेत्रज्योति संघ उदयपुरका अध्यष समेत रहेका भागवत राउतको पहलमा तीसजना दृष्टि बिहीनहरुलाई सेतो छडी वितरण गरिएको हो ।

नेकपा एमाले पोलिटब्युरो सदस्य तथा पूर्व शहरी विकास राज्यमन्त्री मंजु कुमारी चौधरीको प्रमुख आतिथ्यमा भएको सो कार्यक्रममा चैधरीले समाजमा हरेक वर्गका मानिस रहेको र ती मध्ये दृष्टि विहीनहरु पनि एक भएकोले उनीहरुको समस्या प्रति हामी नागरिक समाजका सबैले विशेष ध्यान दिएर सहयोग गनु पर्ने अवस्था रहेको बताए ।
नेपाल नेत्रज्योति संघ उदयपुर शाखाका अध्यक्ष भागवत राउतले दृष्टि विहीनहरुको कार्यालय भवन कालागि जग्गा उपलब्ध गराउनेदेखि लिएर भवन बनाउन र आवश्यक अन्य काममा समेत सहयोग उपलब्ध गराउन तयार रहेको बताएका छन् ।
दृष्टिविहीन संस्थाका सचिव सुशील परियारले त्रियुगा नगरपालिकाले जग्गा उपलब्ध गराइदिने आश्वासन केही समय पहिले दिएको तर पुनः जग्गाको विषयमा कुरा गर्दा मेयरले चासो नदिएको भन्दै गुनासो गरेपछि निर्वाचनमा मेयरका प्रत्याशी समेत भएका राउतले जग्गाको व्यवस्थापनका लागि दृष्टिविहीन संस्थालाई कुन ठाउँमा जग्गा चाहिन्छ हेरेर बुझेर आफूले त्रियुगा नपाका मेयर वसन्त बस्नेतलाई भेटेर जग्गा उपलब्ध गराउन सहयोग गर्ने बताएका छन् ।











प्रतिक्रिया