पुष्पसदन बुद्धिचालमा भारतीय विद्यार्थीको अग्रता 


कीर्तिपुर।

 पुष्पसदन सेकेण्डरी बोर्डिङ्ग स्कुलको आयोजनामा सञ्चालन भइरहेको अन्तर विद्यालय बुद्धिचाल प्रतियोगिताको दोस्रो दिन पाँच चरणका खेल सम्पन्न भएका छन्। नेपाल तथा भारत सिक्किमका विद्यार्थी सम्मिलित प्रतियोगितामा यु–११, यु–१३ र यु–१५ उमेर समूहका विद्यार्थीबीच चलिरहेको प्रतिस्पर्धामा भारतीय विद्यार्थीको अग्रता रहेको छ ।  

काठमाडौँको कीर्तिपुर स्थित पुष्पसदन विद्यालय प्राङ्गणमा छात्रा तर्फ यु १५ समूह अन्तर्गत सिक्किम चेस एसोसिएसन, भारतबाट प्रतिस्पर्धा गरिरहेका आभानिष प्रधानले उत्कृष्ट खेल प्रदर्शन गरी शतप्रतिशत जित दर्ता गर्न सफल भएका छन्। 

आभानिषले ५ अंक जोड्ने क्रममा क्रमशः आयन्स पौडेल, रेन्बो एकेडेमीका आर्यन पुन, गुरुकुलका स्पर्श सारावोगी, बज्र एकेडेमीका विभष जोशी र त्रियोग हाई स्कूलका सइस घिमिरेलाई पराजित गरेका छन्। 

छात्रा तर्फको यु१५ प्रतिस्पर्धामा भारतका डेसियल ओङ्गमु भुटियाले ४.५ अंक जोडेर एकल अग्रता कायम गरेकि छिन्। उनले चौथो चरणको एकमात्र खेल हिमालयन चेस एकेडेमीका प्रज्ञा पन्त संग बराबरी गरेकी थिइन भने बाकी ४ जना प्रतिस्पर्धिलाई हराउन सफल भएकी छिन्। 

यसै समूहमा आयोजक पुष्पसदन वोर्डिङ सेकेण्डरि स्कूलका सिवानि रिजाल र सबनम रिजाल द्वयले समान ४ अंक बनाउदै संयुक्त दोस्रो स्थानमा उभिन सफल भएकि छिन्। 

प्रतियोगितामा १३ वर्ष उमेर समूहको छात्र तर्फ पाठशाला सेकेण्डरी स्कूलका ओस्कार पन्थिले ५ अंक जोडेर एकल अग्रता कायम गरेका छन्। 

पेभेलियन चेस एकेडेमीका उत्पादक ओस्कार पन्थिले क्रमशः हिल टाउन स्कूलका ओरने महर्जन, हिमालयनका आयन जोशी, जेनिश गुरुङ्ग र ज्ञानोदय बालवाटिकाका प्रविर केसीमाथि जित दर्ता गरेका छन्। दोस्रो स्थान ओगटेका भारतीय निरभ ढकालले ४.५ अंक बनाएर छैटौं चरणको खेल पन्थिसंग भेट पक्का गरेका छन्। 

यसै समूहको छात्रा तर्फ बि एन एकेडेमीका विविशा तामाङ्गले पूर्ण ५ अंक बनाएर अग्रता कायम गर्न सफल भएकी छिन्। उनलाई भारतका मानस्वी आचार्य र मार्भेलस इङ्गिलस स्कूलका कृति रिजालले समान ४ अंक बनाउदै पछ्याइ रहेकी छिन्। 

यसैगरी यु ११ छात्र तर्फ सूर्योदय सेकेण्डरी स्कूलका अग्रिम शैंजुले सबै खेल आफ्नो पक्षमा पार्दै समूहमा अग्रता बनाउन सफल भएका छन्। 

पेभेलियन चेस एकेडेमीका उत्पादक अग्रिम शैंजुलाई पछ्याउने क्रममा ग्रीनल्याण्ड स्कूलका सुलभ पन्थि र गोल्डेन पिक स्कूलका आयुष शर्माले समान ४.५ अंक जोडेर दोस्रो स्थानमा उभिएका छन्। 

यता यु ११ छात्रा समूहमा मार्भलस इङलिस स्कूलका निहाना श्रेष्ठले सबै खेल जितेर ५ अंकका साथ एकल अग्रता हासिल गर्न सफल भएकी छिन्।

हिमालयन चेस एकेडेमीको उत्पादक निहानाले क्रमशः रुबेर्सि चौलागाईं, नयुमा मगर, प्रशंसा चौधरी, ओजस्वी श्रेष्ठ र भारतका पालक अग्रवाल माथि जित प्राप्त गरेकी छिन्। 

यसै समूहमा अन्नपूर्ण सेकेण्डरी स्कूलका ओजस्वी श्रेष्ठ, मार्भलसका सुहानी सिंह र सिक्किमका पालक अग्रवाल समान ४ अंकमा रहदै संयुक्त दोस्रो स्थानमा छन्। 

यस संगै प्रतियोगिताका संयोजक एवं पूर्व नेपाल च्याम्पियन केशब श्रेष्ठले २४७ नेपाली विद्यार्थी र ११ जना सिक्किम चेस एसोसिएसन, भारतको तर्फवाट सहभागी भएको प्रतिस्पर्धामा प्रत्येक समूहका विजेता खेलाडीलाई आकर्षक ट्रफि, गोल्ड , सिल्भर, ब्रञ्ज मेडल सहित प्रमाणपत्र प्रदान गरिने जानकारी गराएका छन्। 

उनका अनुसार ७ चरणको खेलका बाँकी २ चरण भोलि सोमबार हुनेछ।

Skip This